सहमति भयो भने छिट्टै पूर्ण बजेट आउँछ

  
  प्रकाशित मितिः सोमवार, भदौ १८, २०६९       | 124 Views   ||

एकीकृत माओवादीको महाधिवेशन हुँदैछ, कसरी अगाडि बढिरहेको छ महाधिवेशनको तयारी ?
महाधिवेशन आयोजक समिति गठन भएको छ । राज्य, जिल्ला र स्थानीय समितिहरु सबै नै आयोजक समितिमा बदलिसकेका छन् । माघ १५ देखि मसान्तसम्म सकिसक्ने गरी महाधिवेशन तालिका तय भइसकेको छ । राज्य, जिल्ला, इलाका र गाउँ कमिटिहरुका पनि तालिका बनिसकेको छ । त्यहीअनुसार एकसरो बैठक प्रशिक्षणहरु सकिसकेको छ । त्यहीअनुसार गाउँ कमिटिबाट हामी सम्मेलनहरु गर्दै चुनिदै आउँछौं ।

तपाईहरुको महाधिवेशनको मुख्य एजेण्डा के हो ? नीति बनाउने कि नेता चुन्ने ?
यसमा तयारीअन्तर्गत पाँचवटा दस्तावेज तयार पार्ने जिम्मेवारी बाँडफाँड भइसकेको छ । अध्यक्षबाट राजनीतिक प्रतिवेदन तयार हुन्छ, समसामयिक नीति कार्यक्रमबारे, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे, पार्टीको विधानबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी बाँडफाँड भइसकेको छ । त्यहीं अनुसार तयारी पनि भइरहेको छ । यसरी हेर्दा महाधिवेशन वैचारिक मुद्दामै केन्द्रित हुन्छ ।

२१ औं शताब्दीमा क्रान्ति कसरी गर्ने, मालेमावादको विकास, रक्षा र प्रयोग कसरी गर्ने ? हामी रक्षाको कुरा जडसुत्रवादी गर्ने, प्रयोग, सृजनात्मक र विकासको कुरा मात्रै गर्दा त्यो दक्षिणपन्थी बन्ने । त्यसकारण यसलाई एउटै अवयवको रुपमा माक्र्सवादको रक्षा, प्रयोग र विकासको समग्र क्रान्तिकारी विचारको गहन छलफल महाधिवेशनमा गर्नेछौं । हामी आम पार्टीपंक्तिलाई अहिलेको दुनियाँमा एक्काइसौं शताब्दीमा क्रान्तिको कार्यदिशा, विचार निर्माणको बहसमा नै केन्द्रित गर्छौं । साथै महाविधेशन भनेको जनवादको अभ्यास पनि हो । विगत बीसौं शताब्दीका क्रान्तिमा राज्यसत्तामा या पार्टीसत्तामा एकपटक क्रान्तिमा योगदान गरिसकेपछि आजीवन क्रान्तिकारी भइराख्ने, कमिटिभित्र चुनिनु नपर्ने जवाफदेही हुनु नपर्ने देखियो । त्यसले पार्टी कमजोर हुने, त्यसैगरी राज्यसत्ताभित्र पनि दलीय प्रतिस्पर्धा नहुने, जनतामा गएर चुनिनु नपर्ने कारणले राज्यसत्ता पनि त्यति गतिशील भएन । त्यसैले हामी दुइवटा बहस पार्टीभित्र पनि चुन्ने चुनिने जनवादको विकास र नयाँ ढंगले प्रयोग गर्न खोजेका छौं । कम्युनिष्टहरु विचारले श्रेष्ठ हुन्छन्, कार्यदिशाका रुपमा, संगठनात्मक रुपमा र व्यवाहारिकरुपमा पनि श्रेष्ठ हुन्छन् भन्ने पुष्टि गर्न चाहन्छौं ।

महाधिवेशन भनेको विचार निर्माण मुख्य कुरा हो । साथै पार्टीभित्रको अन्तर जनवादको विकास पनि हो र अन्तरजनवादमार्फत् हामी पार्टीलाई नयाँ बनाउन चाहन्छौं । अहिलेका नेपालका सामाजिक, आर्थिक, साँस्कृतिक अन्तरविरोधका समस्याहरु समाधान गर्ने र यो देशको भाग्य–भविष्य निर्माण गर्न, जनतामा आधारित पार्टी बनाउन र जनतासँग जोडिएको जनताको मन जितेका नेताहरुको पार्टी बनाउने गरी तयारी गरिरहेका छौं ।

तपाईंहरुको पार्टीबाट एउटा समूह निस्किएर गएपछि तपाइहरु देश दौडाहामा हुनुहुन्छ, कार्यकर्ताको भेला प्रशिक्षण गरिरहनुभएको छ । कस्तो छ कार्यकर्ताको मनोभावना ?
हामी पार्टी विभाजन भएर देश दौडाहामा गएको होइन । पार्टी एकीकृत हुँदादेखि नै महाविधेशन गर्ने पार्टीको नीति थियो । पार्टीमा विभाजन आइसकेपछि झन् वैचारिक राजनीतिक बहसको महत्व बढ्यो । पार्टी र कार्यकर्तालाई सुदृढ गर्ने महत्व बढ्यो त्यसैले हामी जनतामा गइरहेका छौं । जनता, कार्यकर्तामा उत्साह छ । पार्टी विभाजन गर्नेहरु क्रान्तिकारी कुरा गर्दै दक्षिणपन्थीहरुसँग, अवसरवादीहरुसँग गठबन्धन गर्ने अवसरवादी हुन्, फूटवादी हुन् अन्ततः क्रान्ति र पार्टीलाई विसर्जन गर्ने विसर्जनवादी हुन् भन्ने कुरो आम कार्यकर्ताले बुझेका छन् ।

अहिले पार्टी एकताको बेला हो । विचार मिल्ने पार्टीभन्दा बाहिरका समूहसँग पनि संयुक्त मोर्चा आवश्यकता हो । अहिले समग्र जाती, वर्ग एकताबद्ध हुने बेला हो । यो सबै पक्षको एकताको विरुद्ध पार्टी फोड्ने, विचार मिल्ने अरु समूहसँग पनि फूटपरस्त नीति अपनाउने र समग्र जनतालाई पनि एकताबद्ध हुन नदिने किरण समूहको प्रवृत्ति देखिएको छ । त्यसैले कार्यकर्तामा सन्तुष्ट छैन ।

तर तपाईंहरुले यसो भनिरहँदा फुटेर गएकाले त तपाईंहरुलाई नवसंशोनवादी, विदेशीको दलाल जस्ता गम्भीर आरोप लगाईरहेका छन् नि ?
त्यो उहाँहरुले पुष्टि गर्नुपर्छ । हिजो मोहनविक्रम, मोहन वैद्यजीहरुले पुष्पलाललाई गद्दार भन्नुभयो । झापालीहरुलाई उग्रवादी भनि दिनुभयो । पछि इतिहासको क्रममा पुष्पलाल महान् माक्र्सवादी क्रान्तिकारी हुनुहुन्थ्यो भन्नुभयो । झापा आन्दोलन केही निम्न पुँजीवादी चिन्तन र अधैर्यता छन्, तर मूलरुपले अन्तर्राष्ट्रिय सर्वहारा साँस्कृतिक क्रान्तिको स्प्रिट बोकेको देशभित्र महान क्रान्तिकारी झण्डा उठाएको आन्दोलन थियो भनेर हामीले समीक्षा गरेका छौं । उहाँहरुले पनि त्यसमा सही गर्नुभएको छ । त्यसैले उहाँहरु भोलि पनि क्रान्तिकारी आन्दोलनमा रहिरहनुभयो भने कुनैबेला कमरेड प्रचण्ड महान् माक्र्सवादी–लेनिनवादी हुनुहुन्थ्यो, कमरेड प्रचण्डको नेतृत्वको पार्टी महान क्रान्तिकारी थियो भनेर मूल्यांकन गरेर आउने अवस्था हुन्छ । त्यसैले उहाँहरु आवेगमा व्यक्तिगत आग्रहमा आरोप लगाइदिनुहुन्छ ।

अर्को कुरा उहाँहरुले के भन्नुभयो त्यो गौण कुरा हो बरु हामी के गर्छौं के हौं भन्ने मुख्य कुरा हो । उहाँहरुले राम्रो गर्नुभयो भन्नुभयो भने पनि हामी अवसरवादी हो भने अवसरवादी नै पुष्टि हुन्छ ढिलो चाँडो । उहाँहरुले गाली गरेर हामी अवसरवादी हुने होइन । हामी आफ्नै कर्म, आफ्नै व्यवहारले हुने हो । त्यसैले हामी क्रान्तिकारी होऔं, क्रान्तिकारी माक्र्सवादी होऔं, हामी गतिशील छौं ।

संविधानसभाको लागि यत्रो रगत बगेको छ । आज उहाँहरुले गोलमेच सम्मेलन भन्दै हुनुहुन्छ– त्यो पनि राजावादीहरुसहितको । त्यसकारण उहाँहरु हामीलाई नवसंशोधनवादी, अवसरवादी देखिराख्नुभएको छ । बाबुरामजीको सरकार ढालेर काँग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्नुभएको छ । उहाँहरु सत्तालोलुप कुर्सीको लागि जे पनि गर्ने । हिजो पनि झलनाथजीको नेतृत्वको सरकारमा राम्रो मन्त्रालय नपाएर पार्टीको विरोध गर्नुभयो । पछि बाबुरामजीको नेतृत्वमा भनेजस्तो मन्त्रालय नपाएको भनेर उद्दण्डता देखाउँदै पार्टी नै फोड्नुभयो । र, आज फेरी सरकारको विरोध गर्दै सरकारकै लागि संविधानविपरित राष्ट्रपतिको लन्च खाँदै हिड्नुभयो । अहिले त झन् ज्ञानेन्द्र शाहसँग अघोषित मोर्चा बनाएर हिंड्नुभएको छ । घोषितरुपले कमल थापासँग, जसले संवैधानिक राजतन्त्र भन्छ उनीहरुसँग गठबन्धन बनाउँदै हिड्नुभएको छ । उहाँहरु त यति धेरै पर पुगिसक्नु भयो कि, क्रान्तिको कुरा गर्दै प्रतिक्रान्तिकारीसँग मिल्ने, यथास्थितिवादीसँग मिल्ने अनि उहाँहरु के वादी नि ? मुखले क्रान्ति व्यवहारमा दक्षिणपंथी, अवसरवादी बनिसक्नुभयो । यो कुरा उहाँहरुको व्यवहारले पुष्टि गरिरहेको छ ।

कार्यकर्ता र जनतामा माओवादी बिग्रियो, नेता बिग्रिए, जनयुद्धकालमा उठाएको एजेण्डा छोड्यो भन्ने गुनासो त छन् नि ?
जनगुनासो त्यो रुपमा भन्दा पनि क्रान्तिको हिजोको एजेण्डा छिटो–छिटो हुनुप¥यो भन्ने हो । त्यो सही पनि हो । हामीले क्रान्ति पूरा गरेका छैनौं । जनवादी क्रान्तिका सबै कार्यभारहरु– भूमिसुधार आजै भइहाल्ने, राज्यको पुनःर्संरचना रातारात भइहाल्ने अवस्था छैन । हामी सोझै क्रान्तिबाट आएको होइन । केही हिस्सा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतामा हामीले जितेकै कुरा हो । तर पनि कैयौं कुरा राज्यव्यवस्थामा जनताको पहुँच पुगिसकेको छैन, राज्य पुनःर्संरचना भएको छैन । यो अवस्थामा जनतालाई धैर्यतापूर्वक प्रशिक्षित गर्ने र आन्दोलनमा लाने कुरा नै हो ।

हिजो जनयुद्धमा धेरै मान्छे मरे, जनताले दुःख पाए, गाउँमा माओवादी कार्यकर्तालाई पाल्न नसकिने भयो भनेर भनेकै हुन्, हामी त्यो पनि बुझेकै हौं, तर पनि विचलित भएनौं । आज जनताले त्यो कुरा बुझेका छन्, जनता छिटोछरितोमा काम होस्, परिवर्तन होस् भन्ने चाहन्छन् । तर वर्गसंघर्षको नियम, राजनीतिक सामाजिक परिवर्तनको नियम हुन्छ, त्यसैले त्यो कुरा हामीले जनतालाई बुझाउन नसकेको हो ।

तपाईं यो देशको अर्थमन्त्री । तपाईंको दुई कार्यकाल गरेर १ वर्षे कार्यकाल पूरा हुँदैछ । यसबीचमा नेपालको समग्र अर्थतन्त्रमा के सुधार आयो ?
म अर्थमन्त्री भइसकेपछि मुख्यतः मितव्ययीता र आर्थिक अनुशासनलाई कायम गरेको छु । म आउनुभन्दा अगाडि ११ प्रतिशतको राजश्व वृद्धि थियो । मैले यो आर्थिक वर्षमा २३ प्रतिशतको लक्ष्य हाँसिल गरेको छु । गत वर्ष साउन महिनामा ११ प्रतिशतको राजश्व वृद्धि थियो । अहिले साउन महिनामा ३० प्रतिशतको राजश्व वृद्धि छ । हिजो संस्थागतरुपमा भ्रष्टाचार थियो, अहिले कहीं कसैले छ भन्न सक्दैन । व्यक्तिगतरुपमा पनि औंला ठड्याएर आँखा जुधाएर भन्न सक्ने अवस्था छैन ।

अर्कोतिर पूर्ववर्ति सरकारले ल्याएको बजेट भएपनि त्यसलाई कार्यन्वयन गर्ने क्रममा हिजो राज्यको दृष्टिमा पछि परेका क्षेत्रहरु, द्वन्द्वप्रभावित क्षेत्रहरुमा विकासका पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्यलाई व्यवस्थित गर्नेमा लागेको छु । अरु सुधारको काममा जनताको स्वास्थ्य बिमा गर्नेमा गत वर्ष पनि बजेट छ । अहिले नयाँ बजेटमा पनि तयारी गरेका छौं । त्यसैगरी सबै तह र तप्काका जनताले कर्मचारी नभएपनि केही बचत गर्ने, केही योगदान गर्ने सरकारले केही योगदान गरेर पेन्सन गर्ने खालको जनता पेन्सन कार्यक्रम चलाउँछौं ।

प्रशासनिक सुशासनको क्षेत्रमा करदातालाई छिटो सेवा सुविधा दिने, प्रक्रियाभन्दा पनि परिणाममुखी प्रशासन बनाउने प्रयाप्त काम गरेका छौं । गत वर्ष करिब १२ अर्ब बजेट घाटा थियो । अहिले १२ अर्ब नाफामा छौं । बैंकिङ अवस्था अप्ठ्यारो अवस्थामा थियो, आज बैंकहरुमा पैसैपैसा छ । हिजो पैसा थिएन आज लगानी गर्ने ठाउँ छैन । विदेशी मुद्राको सञ्चिति जति पनि छ । रेमिट्यान्स बढेको छ । लगानी बढेको छ ।

पश्चिम सेती ७ सय ५० मेगावाट चाइनीज थ्री गर्जेज कम्पनी र नेपाल सरकार मिलेर बनाउने सहमति भएको छ । पोखरा एयरपोर्ट टेण्डर अन्त्य भइसकेको छ । त्यसमा चाइनीज एक्जिम बैंकबाट १५ देखि २० अर्ब अनुदान पाउँदैछौं । त्यसैगरी लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल एडीबीको सहयोगमा बनाउने गरी सबै काम अगाडि बढेको छ ।

राष्ट्रिय गौरवका आयोजना सिक्टा सिंचाई आयोजना, रानीजमरा सिंचाई आयोजना, बबई डाइभर्सनको कुरा प्राथमिकता छन् । पूर्व–पश्चिम पुष्पलाल पहाडी लोकमार्ग, हुलाकी राजमार्ग प्राथमिकतामा छन्, अपर तामाकोसी हाइड्रो धमाधम निर्माण भइरहेको छ । राप्तीको हकमा घोराही–घर्तीगाउँसम्मको सडक पिच सबै काम अगाडि बढेको छ । तुलसीपुर–पुरन्धारा सडक प्राथमिकतामा राखेका छौं । तुलसीपुर विमानस्थल पीचको लागि टेण्डर भइसकेको छ ।

तपाईंको कार्यकालमा नेपालको समग्र अर्थतन्त्रमा सुधार आएको देखिएपनि पूर्ण बजेट ल्याउन सक्नुभएन, कहिले आउला पूर्ण बजेट ?
राजनीतिक सहमतिसँग सम्बन्धित भएर पूर्ण बजेट नल्याएको हो । छलफल चलिरहेको छ सहमति भयो भने छिट्टै पूर्ण बजेट आउँछ । कात्तिक मसान्तसम्म अहिलेको बजेटले चल्छ, त्यसपछि जसरी पनि पूर्ण बजेट आउँछ । हामीले पूर्ण बजेट नीतिगत रुपमा तयारी गरेर राखेका छौं ।

दशैतिहार नजिकिदै गर्दा बजारमा महंगी कालोबजारी बढेको छ कसरी नियन्त्रण गर्छ सरकार ?
चाडबाड आउँदा जनताले किन्नैपर्ने गरी बाध्य पारेर मूल्य बढाउने काम अपराध हो । त्यसलाई हामी दण्डीत गछौं । अहिले देशव्यापी बजार अनुगमन शुरु भएको छ । त्यसक्रममा देखिएका अपराध÷गल्तीहरुलाई समातेर कार्बाही गरिरहेको छ सरकारले । कुनै पनि हालतमा उपभोक्तालाई किन्न बाध्य बनाउनेलाई कार्बाही गर्छौं ।

प्रसँग बदलौं, राजनीतिक गतिरोध त कायमै छ नि, को हो गतिरोध अन्त्यको बाधक ?
अहिले सहमतिको लागि राम्रो प्रयास भइरहेको छ । केही दिनअगाडि सेना समायोजन सम्बन्धी काम भएको छ । त्यसले राम्रो संकेत दिएको छ । शीर्ष नेताहरु सहमतिको लागि छलफलमा जुट्नुभएको छ । सहमति अमूर्त होइन मूर्तरुपमा हुनुपर्छ । संविधानसभाले जेठ १४ अगाडि जुन सहमति बनाएको छ, त्यहीं सहमतिको आधारमा पहिचानसहितको संघीयतालाई आधार बनाएर संघीयतासहितको संविधान, महिला, दलित, मुस्लिम जनजातिलाई विशेष अधिकारजस्ता कुराहरु समेटेर संविधानको मुद्दामा टुंगियो भने संविधानसभा छोटो समयका लागि पुनःस्र्थापना गरेर संविधान जारी गर्ने । विषय टुंगिएनन् र जति टुंगियो बाँकी विषयलाई टुंग्याउने गरी संविधानसभाको निर्वाचन गर्ने । हामीले काँग्रेस–एमालेलाई जुन प्रक्रिया पनि छान्नुहोस् हामी तयार छौं भनेका छौं । बल काँग्रेस–एमालेको कोर्टमा छ ।

भर्खरैमात्र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन बनेको छ । किन बनाउनुप¥यो गठबन्धन ?
अहिले देशमा मुख्य गरी तीनवटा शक्ति छन्, एउटा संघीयतासहितको संविधान, महिला, दलित, मुस्लीमलगायतका अधिकार सहितको अग्रगामी राजनीतिक पुनःर्संरचनाको पक्षमा माओवादी, मधेशी पार्टी छन्, जनजाति, दलित मुस्लिम र अन्य विभिन्न पार्टी छन् । त्यसको एउटा गठबन्धन बन्यो भने मुद्दा एक ठाउँमा आयो ।

यथास्थानमै रहन चाहनेहरु काँग्रेस–एमाले लगायतका पार्टी छन्, अर्को यथास्थितिबाट पनि पछि फर्कन चाहने, संवैधानिक राजतन्त्रका पक्षधर पनि छन् । प्रतिक्रान्तिकारीहरु पनि छन् । यी तीन शक्तिबीचमा गठबन्धन बन्यो भने विषय साँघु¥याउन सहयोग पुग्छ ।

अहिलेको गठबन्धन राष्ट्रिय सहमति बनाउन राजनीतिक गत्यावरोध अन्त्यको नेतृत्व गर्ने गठबन्धन हो, त्यसो भएन भने चुनावका लागि गठबन्धन हो । होइन एकथरी मान्छेले भनेजस्तो राष्ट्रपतिलाई लगाएर अहिलेको सरकारलाई ‘कू’ गर्न लगाए भने त्यसको विरुद्ध संघर्ष गर्न पनि यो गठबन्धन हो ।

अन्तमा नौलो जनउभार साप्ताहिकमार्फत् राप्तीबासीलाई केही भन्नु छ कि ?
राप्ती हिजोको क्रान्तिको केन्द्र हो । आज उत्पादनको केन्द्र बन्नुपर्छ । निर्माणको केन्द्र बन्नुपर्छ, आर्थिक केन्द्र बन्नुर्पछ । सामाजिक आर्थिक रुपान्तरणको केन्द्र बन्नुपर्छ । हिजोको द्वण्द्वप्रभावित क्षेत्र भएकाले सरकारको तर्फबाट पुलपुलेसा, सडक, शिक्षा पूर्वाधार, स्वास्थ्यको क्षेत्रमा जोड गरेका छौं । हिजो राजनीतिक आन्दोलन क्रान्तिमा जसरी राप्तीले चमत्कार देखायो, अबको आर्थिक क्रान्तिमा पनि त्यसरी नै चमत्कार देखाउनुपर्छ ।

प्रस्तुति : मनोज घर्तीमगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *