तीन सातादेखि छैन बिजुली

  
  प्रकाशित मितिः आइतवार, भदौ २४, २०६९       | 94 Views   ||

-[मेगराज खड्का]
रुकुम, भदौ २४ । जिल्ला सदरमुकाम मुसिकोट खलंगामा विगत तीन सातादेखि बिजुली नहुँदा यहाँका बासिन्दाले अन्धकार रात बिताउनु परिरहेको छ । स्यार्पुदह साना जलविद्युत आयोजनाको नहरमा पहिरो गएपछि गत भदौ ३ गते साँझदेखि सदरमुकामसहित सात गाविस अन्धकार भएका हुन् ।

पानी पर्ने क्रम नरोकिएको र नहर निर्माण कार्य प्रभावित भएकोले अझै कति दिन अन्धकारमा बस्नुपर्ने हो अन्योलमा रहेको स्थिति छ । आयोजनाको बाँफिकोट भाग्लेस्थित नहरमा करिब १ सय मिटर पहिरो गएपछि आयोजना बन्द भएको हो ।

विद्युत अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज तथा सबै सञ्चार सेवा प्रभावित भएको छ । इन्टरनेटमा समस्या भएका कारण जिल्लामा सञ्चालिन सरकारी तथा निजी बैंकहरुबाट सञ्चालन हुने रेमिटेन्स सेवासमेत प्रभावित भएको छ । उता विद्युत अवरुद्ध भएका कारण जिल्ला अस्पताल सल्ले रुकुमको सेवासमेत प्रभावित भएको छ । अहिले अस्पतालमा आपतकालीन सेवाहरु मात्र जेनेरेटरमार्फत् सञ्चालन भैरहेको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालमा बिरामीहरुको चाप भएपनि विद्युत अवरुद्ध भएका कारण सोचेजस्तो सेवा दिन नसकिएको अस्पतालका प्रमुख यदुचन्द घिमिरेले बताउनुभयो ।

लामो समयदेखि विद्युत अवरुद्ध भएका कारण जिल्लाको सञ्चार सेवासमेत प्रभावित बनेको छ । विद्युत अवरुद्ध भएको समयमा आफुहरुले मोवाइल सेवा प्रयोग गर्न नपाएको उपभोक्ताहरुले गुनासो गरेका छन् । उता दुरसञ्चार कार्यालय रुकुमले भने क्षमताले धानेसम्म जेनेरेटरमार्फत् पनि सेवा दिएको बताएको छ । फोन, फ्याक्स तथा इन्टरनेट प्रभावित हँुदा सेवाग्राहीलाई दिनुपर्ने सरकारी सेवाप्रवाहमा समेत समस्या आएको कार्यालयहरुले बताएका छन् । विद्युत अवरुद्ध भएपछि सदरमुकाममा सञ्चालित तीन दर्जन बढी साना उद्योगहरु बन्द भएका छन् । त्यस्तै जिल्लामा सञ्चालित तीन सामुदायिक रेडियोमध्ये दुई पूर्णरुपमा बन्द भएका छन् भने एउटाले आफ्नो प्रशारण समय घटाएको छ । विद्युत बन्द भएपछि विद्यार्र्थीहरु समेत मारमा परेका छन् । उनीहरु आफ्नो गृहकार्य साँझमा टर्च बालेर गर्ने गरेका छन् । सदरमुकाम खलंगा, बाफीकोट, छिवाङ, स्यालापाखा, पोखरा, पीपल र रुकुमकोट गाविसमा विद्युत सेवा छैन । केही दिनअघि जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसी विद्युत सेवा सुचारुका लागि विद्युत प्राधिकरण र विभिन्न निकायहरुमा आग्रह गर्ने निर्र्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार नहर मर्मतको आधा भन्दा बढी काम सम्पन्न भैसकेको छ । आयोजनाको जिम्मा लिएको रुकुमेली ऊर्जा विकास उपभोक्ता समितिका अध्यक्ष जोखबहादुर मल्लले नहर मर्मतको काम जारी रहेको बताउनुभयो । ‘पछिल्लो समयमा झन् ठूलो बर्षात हुँदा निमार्ण कार्यमा केही ढिला भएको छ’ उहाँले भन्नुभयो ।

२ सय ५० किलोवाट क्षमता रहेको स्यार्पुताल जलविद्युत आयोजना रुकुमेली विद्युत उपभोत्ता समितिले सञ्चालन गर्दै आइरहेको छ । उता विद्युत बन्द भएसँगै जिल्ला सदरमुकाम खलंगामा जेनेरेटर सञ्चालन गर्ने व्यवसायीहरुले राम्रो आम्दानी गरेका छन् । उनीहरुले मोबाइल चार्जदेखि फोटोकपीसम्मका कामका लागि महंगो शुल्क लिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *