पाठ्यक्रममा समलिङ्गी, तेस्रो लिङ्गी राख्न माग

  
  प्रकाशित मितिः आइतवार, भदौ २४, २०६९       | 153 Views   ||

-[गोविन्द खड्का]
दाङ, भदौ २४ । हरेक बालबालिकाले आफू कुन लिंगको हुँ भन्ने थाहा पाउने गरी विद्यालयस्तरका पाठ्यपुस्तकमा समलिंगी तथा तेस्रो लिंगीको विषय समेटिनुपर्ने शनिबार घोराहीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मानव स्वास्थ्य समाज दाङको आयोजनामा शनिबार घोराहीमा सम्पन्न कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।

सरकारले कुनै व्यवस्था नगर्ने र अवसर नदिनाले धेरैले आफु तेस्रो लिंगि हुँ होइन भन्ने थाहै नपाउने गरेको भन्दै विद्यालय शिक्षामा तेस्रो लिंगीलाई पनि समेट्नुपर्ने उनीहरुको जोड थियो । कार्यक्रममा केन्द्रीय कार्यक्रम संयोजक दुर्गा थापाले नागरिकता दिने सर्वोच्चले निर्णय गरेपनि व्यवहारमा लागू गर्न नसकेको गुनासो गर्नुभयो । ‘राजपत्रमा आएर के गर्नु नागरिकता कसैको हातमा छैन । भएको पनि काम लाग्दैन । महिला पुरुषमात्रै हुन्छ । ख्वै त अन्य भनेर सरकारले व्यवस्था गरेको ?’ थापाले भन्नुभयो, ‘समाजमा पूर्वाग्रही भएर नकारात्मक टिप्पणी गर्नाले हामीलाई निकै कठीन भएको छ ।’ कतिपयले आफूहरुलाई बनावटी व्यवहार गरेको आरोप लगाउने, होच्याउने, अपमान गर्ने र समाजमा बस्नै नसक्ने वातावरण सिर्जना गरेको उहाँको भनाई थियो । सेना प्रहरी निजामति लगायत नेपाल सरकारका जुनसुकै क्षेत्रमा महिला पुरुष र अन्य भनेर आवेदन दिने व्यवस्था गरिनुपर्ने भन्दै थापाले वैदेशिक रोजगारमा समेत जान नपाइने नागरिकता नलिने बताउनुभयो ।

कार्यक्रममा संस्थाका दाङ जिल्ला कार्यक्रम अधिकृत शिल्पा चौधरीले आफ्नो संस्था परिवारमा खुल्न नसकेका यौनिक तथा लैगिक अल्पसंख्यकलाई चेतना दिने काममा लागेको जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई घरपरिवारमा सहज वातावरण बनाइदिने, आमा बावु, आफन्त, समुदाय लगायतबाट कुनै समस्या आएमा मानवअधिकारका सवाल उठाउने र सचेत गराउने काम गरेको जानकारी दिनुभयो ।

तर, आफूहरुलाई निकै समस्या भएको उहाँको भनाई छ । घोराही बजारमा घरभाडा पाउन नसकिने अवस्थाले निकै पिरोलेको र दुनियाँले हिजरा, छक्काजस्ता अपमानित शब्द प्रयोग गर्ने, हेलाँ गर्ने, देखेर कानेखुसी गर्ने, जिस्काउने गरेको उहाँको दुखेसो थियो । चौधरीले बसमा चढ्दासमेत महिला पुरुषको मात्रै सिट हुने, छात्र÷छात्रावृद्धि मात्रै दिने, तेश्रोलिंगीले कुनै पनि सुविधा नपाउने अवस्था रहेकाले सहज वातावरण बनाइदिन सबैसँग आग्रह गर्नुभयो ।

संस्थाका अनुसार ग्रामीण भेग र पहाडी जिल्लाहरुमा कार्यक्रम लैजान सकिएको छैन । दाङमा समेत साढे तीन वर्षअघि कार्यक्रम शुरु गर्दा एकजना स्टाफ पनि भेटाउन नसकेको भन्दै उहाँले अहिले करिब १६ सय तेस्रोलिंगी खुलिसकेको जानकारी दिनुभयो । समाजमा लुकेर बसेका करिब जम्मा जनसंख्याको १० प्रतिशतसम्म हुन सक्ने समाजले बताएको छ । अन्य संस्थाजस्तो सजिलै सदस्य पाउन नसकिने भन्दै देशका ३१ जिल्लामा संस्था विस्तार गरिएको जानकारी दिइएको थियो । जसमा एचआइभी एड्स रोकथामको लागि २७ शहरमा र मानवअधिकारको कार्यक्रम १३ शहरमा केयर एण्ड सर्पोट ५ शहरमा, स्याटलाइट डिआइसी १० वटा शहरमा लागू गरिएको चौधरीले जानकारी दिनुभयो । सो कार्यक्रम सञ्चालन समाजका दाङ जिल्ला अध्यक्ष भुपाल विष्टले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *