अस्पताल तोडफोडपछि चिकित्सकद्वारा सुरक्षा माग

  
  प्रकाशित मितिः आइतवार, भदौ २४, २०६९       | 113 Views   ||

पेशागत संघ संगठनद्वारा घटनाको भत्र्सना, दोषीलाई कार्बाही हुन्छ : प्रशासन

श्रेष्ठले मुड्की हानेर फुटाएको मेसु विष्णु पौडेलको आवास घरको झ्यालको सिसा

जनउभार समाचारदाता
दाङ, भदौ २४ । गत साउनमा काम गर्ने सहज वातावरण नभएको भन्दै एकहप्ता लामो बिदा बसेका राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका विशेषज्ञ डाक्टरहरु फेरि पनि सुरक्षाको माग गर्दै प्रशासनसमक्ष पुगेका छन् । सेवाग्राहीको रुपमा अस्पताल गएका एमालेनिकट अनेरास्ववियूका केन्द्रीय सदस्य विवेक श्रेष्ठसहितको टोलीले विशेषज्ञ डाक्टरलाई हातपात गर्नुका साथै निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु पौडेलको आवासमा तोडफोड गरेपछि विशेषज्ञ डाक्टरहरु सुरक्षाको माग गर्दै प्रशासनसमक्ष पुगेका हुन् ।

त्यस्तै, विशेषज्ञ डाक्टरहरुमाथिको हातपात तथा आवासमा गरिएको तोडफोडको घटनाले आफूहरुलाई निकै गम्भीर बनाएको भन्दै विभिन्न पेशागत स्वास्थ्यकर्मी संघसंगठनहरुले आपत्ति जनाएका छन् । शनिबार नेपाल राष्ट्रिय कर्मचारी संगठन (स्वास्थ्य) का अध्यक्ष इश्वरीप्रसाद चालिसे, मेडिकल ल्यावरेटोरी एसोशियसन अफ नेपालका क्षेत्रीय कोषाध्यक्ष पर्शुराम पोख्रेल, सिएमए संघ नेपालका प्रतिनिधि नारायण घर्ती र अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघका अध्यक्ष शिव घिमिरेले संयुक्त विज्ञप्ती जारी गरी अस्पतालका चिकित्सकहरुमाथिको आक्रमण, धम्की र तोडफोडको घटना निन्दनीय भएको भन्दै दोषीमाथि कडा कार्बाही गर्न माग गरेका छन् ।

गत शुक्रबार बिहान साढे दुई बजेतिर बिरामी नहेरेको भन्दै एमालेनिकट अनेरास्ववियूका केन्द्रीय सदस्य विवेक श्रेष्ठलगायतका दुई÷तीन जना युवाहरुले राप्ती उपक्षेत्रीय अस्पतालका रेडियोलोजिष्ट डाक्टर नित्यप्रसाद खनाललाई हातपात गर्नुका साथै अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.विष्णु पौडेलको सरकारी आवासको झ्यालको सिसा फुटाएका थिए । आफूले खोजेका डाक्टर नआएको भन्दै श्रेष्ठसहित दुई/तीनजनाको समूहले डा. पौडेलको आवासमा तोडफोड गरेको अस्पतालले जनाएको छ । घटना भइरहँदा अस्पताल परिसरमा पुगिसेको प्रहरीले श्रेष्ठलगायतका युवाहरुलाई पक्राउ नगरेकोमा चिकित्सकहरुले दुःख व्यक्त गरेका छन् । साथै सुरक्षाको प्रत्याभूति नभएमा आइतबारदेखि अन्य कदम चाल्न बाध्य हुने पनि उनीहरुको भनाई छ ।

‘डा. सन्देश पौडेल खोई’ भन्दै आएका श्रेष्ठसहितका युवाहरुले आफू बस्दै आएको आवासको झ्यालढोका तोडफोड गरेको मेसु डा.पौडेलले जानकारी दिनुभयो । ‘यो सन्देश बस्ने क्वार्टर होइन, म डा. विष्णु पौडेल हो, किन खोज्नुभयो भनेर सोधपुछ गर्दा उल्टै अपशब्द प्रयोग गरी मलाई गाली गरे’– उहाँले भन्नुभयो– ‘उनीहरुले डा. सन्देशलाई भेटाई दे नत्र मार्छौंसम्म भन्न बाँकी राखेनन् । मैले प्रहरीमा खबर गरें, अरु आवासबाट पनि मानिस आए र म अस्पताल पुगें ।’

डा. पौडेलले आफू कोठाभित्र बसिरहेको बेला विवेक श्रेष्ठले आवासको उत्तरतर्फको झ्यालको सिसामा पटक–पटक मुक्का प्रहार गरेर फुटाइदिएको र श्रेष्ठको हात पनि सिसाले काटेको जानकारी दिनुभयो । ‘रगत बगाउँदै बरण्डाभित्र पसेर जालीवाला ढोका पनि उनले तोडफोड गरे’– डा. पौडेलले भन्नुभयो । त्यसपछि रक्ताम्य हात लिएर अस्पतालको इमर्जेन्सी कक्षमा पुगेका विवेक श्रेष्ठले ‘तँ डाक्टर पौडेल होस्’ भनेर डा. नित्य खनालमाथि झम्टन पुगेको र सिसाले काटेको हात उपचार गर्ने क्रममा पनि श्रेष्ठले स्वास्थ्यकर्मीहरुलाई दुव्र्यवहार गरेको डा. पौडेलले बताउनुभयो ।

अस्पताल स्रोतले दिएको जानकारीअनुसार विवेक श्रेष्ठसहितका युवाहरुले सरिता डिसीलाई सुत्केरी गराउन अस्पतालमा ल्याएका थिए । राति ११:४० बजे अपरेशन गरेर बच्चा निकालेपछि उपचारमा संलग्न डा. सन्देश पौडेल सुत्केरी र बच्चाको स्थिति राम्रो भएको भन्दै आवासमा जानुभएको थियो । बच्चा जन्मेपछि खुशीयालीमा खाइपिई गरेका युवाहरु सुत्केरी महिलाको शरीरमा कम्पन बढेपछि आत्तिएर डाक्टरको खोजीमा लागेका थिए । ‘डाक्टर सन्देश हिडेको केही समयपछि सुत्केरी महिलाको ब्लडप्रेसर बढेर कम्पन आएपछि आत्तिएर श्रेष्ठसहितका युवाहरु डाक्टर खोज्न आवासतिर हिड्नुभएको रहेछ’– मेसु डा.पौडेलले भन्नुभयो– ‘गालीगलौज र तोडफोडपछि बिरामी हेर्न जाँदा स्थिति नर्मल नै रहेको पायौं । ब्लड प्रेसरले थोरै कम्पन ल्याएको रहेछ, खास जटिल समस्या केही देखिएन ।’ स्रोतका अनुसार नियमित ड्यूटीमा रहने डाक्टरले सामान्य अवस्था छ भन्दा पनि उनीहरु सन्देश कहाँ छ भन्दै निस्किएका थिए ।

यसअघि गत साउन १४ गते अस्पताल परिसरमै एमालेनिकट स्वास्थ्यकर्मी संघद्वारा आयोजित कार्यक्रममा विवेक श्रेष्ठले विशेषज्ञ डाक्टरहरु अस्पताल छोडेर मेडिकलमा जाने गरेको भन्दै चौबीसै घण्टा अस्पतालमा बस्नुपर्ने नत्र जे पनि हुनसक्ने धम्की दिएका थिए । सोही धम्कीपछि अस्पतालका ८ जना विशेषज्ञ डाक्टरहरु असुरक्षा भएको भन्दै एक हप्ता लामो बिदामा बसेका थिए । उसो त विवादास्पद छवि बनाएका विवेक श्रेष्ठले केही महिना पहिले हेल्मेट नलगाएर मोटरसाइकल किन चलाएको भनि ट्राफिक प्रहरीले रोक्न खोज्दा उल्टै शक्तिको आडमा प्रहरीलाई माफी मगाएपछि ट्राफिक प्रहरीहरुले बर्दी र फुलीसमेत फुकाल्नुपरेको थियो ।

चिकित्सकहरुको मागप्रति आफू गम्भीर भएको भन्दै प्रमुख जिल्ला अधिकारी मधुसूदन बुर्लाकोटीले गल्ती गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताएपनि घटना भएको दुई दिनसम्म प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन ।

भवन उद्घाटन स्थगित
अस्पतालको डाक्टर आवासमा तोडफोड र डाक्टरहरुमाथि अभद्र व्यवहार भएको घटनापछि भदौ २६ गते गर्ने भनिएको अस्पताल भवन उद्घाटन कार्यक्रम स्थगित गरिएको छ । भवन उद्घाटनका लागि स्वास्थ्यमन्त्री राजेन्द्र महतो आउने कार्यक्रम यसअघि नै तय भइसकेको थियो । पछिल्लो घटनाका कारण भवन उद्घाटनको कार्यक्रम स्थगित गरिएको अस्पताल विकास समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *