रुपान्तरण आफैबाट

  
  प्रकाशित मितिः आइतवार, भदौ २४, २०६९       | 114 Views   ||

जनउभार समाचारदाता
दाङ, भदौ २३ । चाडपर्व मनाउने क्रममा समाजमा भित्रिदै गरेका विकृतिहरुको न्यूनीकरण गर्न आफैबाट थाल्नुपर्ने घोराहीमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । प्रगतिशील लेखक संघ, नेपाल दाङ शाखाले शनिबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले साँस्कृतिक रुपान्तरणको सवालमा देखिदै आएका विकृतिहरुको विषयमा सबै मौन रहेको विचार राखेका हुन् ।

चाडपर्वहरुको समय नजिकिदै गर्दा प्रलेसले गरेको चाडपर्व र साँस्कृतिक रुपान्तरण विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले हरीतालिका तीज पर्वलाई सकेत गर्दै पछिल्लो समयमा मौलाएको तिज मिलन कार्यक्रमले केही विकृति जन्माएकाले यस्ता कार्यक्रम गर्दा मौलिकतालाई पनि ध्यान दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा अबधारणा–पत्र प्रस्तुत गर्दै प्रलेस दाङकी सदस्य जानकी सुनारले समाजमा परेको आर्थिक, राजनीतिक परिवर्तनको असर साँस्कृतिक परिवर्तनसँग पनि जोडिने भएकाले उपभोक्तावादी र पूँजीवादी सस्कृति नेपालमा पनि हावी हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । दशैतिहारजस्ता ठुला पर्वहरुमा देखिने तडकभडक, तिजमा गहना, कपडाको प्रतिस्पर्धा र एक महिना अगाडिदेखि घर, होटल र रेस्टुराँहरुमा दरखाने कार्यक्रमहरुले पछिल्लो समयमा विकृतिको महसुस गराएको अवधारणापत्रमा उल्लेख गरिरहेको छ ।

अवधारणा पत्रमा टिप्पणी गर्दै महेन्द्र बहुमुखी क्याम्पस दाङका संस्कृति विषयमा प्राध्यापनरत सुन्दर गौतमले हामीले मान्दै आएका परम्पराहरु क्वाटी संस्कृतिमा रुपान्तरण भैसकेको भन्दै त्यस्ता संस्कृतिहरु नयाँ पुस्तालाई दिने कार्य गलत भैरहेको बताउनुभयो ।

त्यस्तै टिप्पणीकार समरेखा द्वैमासिकका प्रकाशक/सम्पादक एवम् महिला मानवअधिकारकर्मी लक्ष्मी आचार्यले अवधारणाले विषयगत वस्तुस्थितिको बारेमा चित्रण गरेको बताउनुभयो । संघका अध्यक्ष केशव थापाको अध्यक्षता तथा प्रलेसका केन्द्रीय सदस्य पद्मप्रसाद शर्माको प्रमुख आथित्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले साँस्कृतिक रुपान्तरणको सवालमा केही विकृति देखापरेको बताउनु भयो ।

प्रलेसका कोषाध्यक्ष गणेश शाहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बुद्धिजीवी परिषद्का अध्यक्ष श्रीधर मज्गैया, साहित्यकारहरु गिरीराज शर्मा, पुरुषोत्तम खनाल, लोकराज पराजुली, नारायण नेपाल, खगराज न्यौपाने, टीका बस्नेत, दिल महरा, कमलमणि देवकोटालगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्रलेसका सचिव डिल्ली मल्लले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *