क्रान्तिकारी पत्रकार संघको अध्यक्षमा केसी

  
  प्रकाशित मितिः मङ्लबार, भदौ २६, २०६९       | 165 Views   ||

जनउभार समाचारदाता

दाङ, जेठ २६ । क्रान्तिकारी पत्रकार संघ, नेपाल दाङको दोस्रो जिल्ला सम्मेलनले नरेन्द्र केसीको अध्यक्षतामा दुई जना सदस्य पछि थप्ने गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आज घोराहीमा सम्पन्न संघको दोस्रो जिल्ला सम्मेलनले नयाँ कार्यसमिति चयन गरेको हो । समितिका पदाधिकारीहरुमा उपाध्यक्ष डिल्ली मल्ल, सचिव आस्था केसी, सह–सचिव गोबिन्द खड्का र कोषाध्यक्ष दिवाकर पोख्रेल रहनुभएको छ ।

त्यस्तै सचिवालय सदस्यहरुमा जनक नेपाली र घनश्याम बुढाथोकी रहनुभएको छ भने सदस्यहरुमा प्रेम पुन, शरण जीएम, अभिमान विष्ट, लिलाधर वली, टोपबहादुर चौधरी, चित्रबहादुर यादव, निर्मला आचार्य, इन्दु बस्नेत, चन्द्रा बस्नेत र सुशीला कँवर रहनुभएको छ ।

त्यसैगरी सम्मेलनले चन्द्र खनाल, शान्तराज गौतम, सागर खनाल, केशरमान विसी, मधु रिजाल, कृष्णप्रसाद शर्मा, पाण्डव शर्मा, श्रीधर भावुक, दामोदर बस्नेत ‘राकेश’, डिल्लीराज खड्का र दोर्ण केसीलाई केन्द्रीय पाषर्दमा चयन गरेको छ भने समितिका सल्लाहकारहरुमा लक्ष्मी आचार्य, नारायण विवश, धर्मराज वैरागी, जगदीश भण्डारी र बालगोविन्द चौधरी रहनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई संघका प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक गोविन्द आचार्य र एकीकृत नेकपा माओवादी दाङका जबस÷पेशागत संगठनका फ्र्याक्सन इन्चार्ज लुमाकान्त न्यौपाने ‘सागर’ले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । सो अवसरमा नवनिर्वाचित कार्यसमितिका अध्यक्ष नरेन्द्र केसीले प्रतिबद्धतासहित ७ बुँदे प्रस्ताव पेश गर्नुभएको थियो भने हलले उक्त पारित सर्वसम्मत पारित गरेको थियो ।

सम्मेलन आयोजक समितिका संयोजक गणेश वलीको अध्यक्षता एवं एकीकृत नेकपा माओवादीका संगठन विभाग इन्चार्ज कृष्णबहादुर महराको प्रमुख आतिथ्य, संघका प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजक गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका अध्यक्ष नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथि एकीकृत नेकपा (माओवादी) संगठन विभाग इन्चार्ज÷पूर्वउपप्रधान, गृह तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, विशिष्ट अतिथिद्वय क्रान्तिकारी पत्रकार संघ, प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजक गोविन्द आचार्य, प्रेस काउसिन्ल नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, क्रान्तिकारी पत्रकार संघ, प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति सचिवालय सदस्य तथा मध्यपश्चिम समन्वय समितिका संयोजक सचिन रोकाले शुभकामना मन्तव्य दिनुभयो ।

त्यसैगरी एकीकृत नेकपा माओवादी दाङका जबस÷पेशागत संगठन र मोर्चाका फ्र्याक्सन इन्चार्ज लुमाकान्त न्यौपाने ‘सागर’, नेकपा–माओवादी दाङका इन्चार्ज इन्द्रजीत थारु, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष के. एल. पीडित, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रताप रेग्मी, संविधान सूचनाकेन्द्र राप्तीका संयोजक पदम वैदिक, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य पुरन शर्मा, प्रेस चौतारीका पूर्व अध्यक्ष तथा सल्लाहकार सविन प्रियासन, पत्रकार महिला मञ्चका अध्यक्ष सुशीला आचार्य, प्रेस युनियन दाङका अध्यक्ष रामप्रसाद पौडेल, प्याब्सन दाङका उपाध्यक्ष यादव गिरी, काहुराष्ट दाङका अध्यक्ष निर्मल गौतम, हरप्लेस दाङका अध्यक्ष विनोद केसी, राप्ती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक घनानन्द भट्ट, घोराही नगरपालिकाका कार्यकारी अधिकृत नेबबहादुर ओली, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष रमेश हिताङ्गी र राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्मेलनले समसामयिक विषयमा ७ बूँदे प्रस्ताव पारित गरेको छ ।

क्रान्तिकारी पत्रकार संघ दाङको दोस्रो जिल्ला सम्मेलनद्वारा पारित ७ बूँदे समसामयिक प्रस्ताव

१– महान् जनयुद्ध र विभिन्न आन्दोलनका दौरान तथा त्यसअघि र पछि जनतालाई ससूचित गराउँदा गराउँदै शहादत प्राप्त गरेका सम्पूर्ण सहिद पत्रकारहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै यो सम्मेलन सम्पूर्ण सहिद पत्रकारका परिवारजन तथा छोराछोरीलाई उचित राहत, व्यवस्थापनका लागि ध्यान दिन र घाइते, अपांग तथा द्वन्द्वप्रभावित पत्रकारहरुका लागि राहतमूलक कार्यक्रम ल्याउन राज्यसँग माग गर्दछ ।

२– सञ्चारमाध्यमहरुको संख्या बढिरहेको भए पनि श्रमजीवी पत्रकारहरुले अझै पनि उचित पारिश्रमिक पाउन सकेका छैनन् । काम गर्ने तर दाम नपाउने वा पाए पनि अत्यन्त न्यून पाउने स्थितिको तत्काल अन्त्य गरी कम्तीमा पनि सरकारले निर्धारण गरेको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन र श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न यो सम्मेलन सम्पूर्ण सञ्चारमाध्यमहरुसँग आग्रह गर्दछ । त्यस्तै सरकारले लागु गर्ने भनिएको श्रमजीवी पत्रकारको जीवन विमालगायतका कार्यक्रम पनि अघि बढ्न नसकेकाले सरकारबाट घोषणा गरिएका सम्पूर्ण कार्यक्रम तत्काल लागु गर्न यो सम्मेलन माग गर्दछ ।

३– देखेको र भेटेको कुरा नलुकाइ जनतामाझ स्पष्टसँग राख्नपाउने र जनताको आवाज जस्ताको तस्तै प्रकाशन÷प्रसारण गर्न पाउने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले मात्र जनतालाई अधिकारसम्पन्न र बलियो बनाउन सक्दछ, त्यसैले अब बन्ने नयाँ संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्न माग गर्दै यो सम्मेलन दैनिक जीवनव्यवहारमा पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र सुनिश्चित गर्न सरकार, राजनीतिक दललगायत सबैलाई आग्रह गर्दछ । त्यस्तै सूचना हकलाई पनि सुनिश्चित गर्न यो सम्मेलन सरकारसँग माग गर्दछ ।

४– लोडसेडिङका कारण सञ्चारकर्मी र सञ्चारमाध्यामहरु निकै मर्कामा परेकाले यो समस्याको समाधान गर्न वैकल्पिक उपायको खोजी गर्न र सञ्चारमाध्यामका लागि इन्धन छुटको व्यवस्था गर्न यो सम्मेलन सरकारसँग माग गर्दछ ।

५– दाङको पत्रिकारिता देशभरिमै मर्यादित र गौरवपूर्ण मानिन्छ तर पछिल्लो समयमा आएर केही समस्या देखिन थालेका छन् । पत्रकारिताको आवरणमा पत्रकारिता आचारसंहितार र पत्रकारिताका मूल्यमान्यताविपरीतका काम पनि देखिन थालेका छन् । यस्तो क्रियाकलापप्रति सचेत रहँदै पत्रकारिताको मर्यादालाई कायम राख्न र पत्रकार आचारसंहिता पालनामा जोड दिन सम्पूर्ण सञ्चारकर्मीहरुलाई यो सम्मेलन हार्दिक आव्हान गर्दछ ।

६– एक गाविस एक सञ्चारकर्मी उत्पादनको लक्ष्य क्रान्तिकारी पत्रकार संघको यसअघिकै कार्यक्रम हो, यसलाई निरन्तरता र थप परिष्कृत गर्दै ‘एक गाविस एक पत्रकार’ उत्पादन तथा भएका पुराना पत्रकारहरुको दक्षता क्षमता अभिबृद्धिका लागि यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ ।

७– समसामयिक तथा जन सरोकारका कार्यक्रमलाई निरन्तरता दिंदै त्यस्ता कार्यक्रमलाई क्षेत्रीय समितिहरुमार्फत स्थानीयस्तरसम्म विस्तार गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *