उत्पीडित समुदायको एकताले मात्र निकास : महरा

  
  प्रकाशित मितिः बुधबार, भदौ २७, २०६९       | 146 Views   ||

जनउभार समाचारदाता
दाङ, भदौ २७ । एकीकृत नेकपा माओवादीका संगठन विभाग प्रमुख एवं पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महराले उत्पीडित वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको दरिलो एकताले मात्र अहिलेको राजनीतिक गतिरोध अन्त्य हुने बताउनुभएको छ । अनेम संघ (क्रान्तिकारी) नवौं जिल्ला सम्मेलन आयोजक समिति दाङले बुधबार घोराहीमा आयोजना गरेको देशको संकटपूर्ण अवस्था र महिलाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता महराले यस्तो बताउनुभएको हो ।

अहिलेको मुख्य द्वन्द्व अब बन्ने संविधान उत्पीडित समुदायको बनाउने कि फेरि पनि शासक वर्गकै पक्षको संविधान बनाउने बीचको संघर्ष भएको चर्चा गर्दै महराले दुई वर्ग र दुई दृष्टिकोणबीचको लडाईंकै परिणाम देश संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउनुभयो । देशको गम्भीर संकटपूर्ण अवस्थामा उत्पीडित वर्ग, लिङ्ग, जाति र समुदायले आफ्नो पक्षमा संविधान बनाउनका लागि एकताबद्ध हुनुपर्ने भन्दै उहाँले देशको आधा हिस्सा ओगटेको महिला वर्ग आफ्नो पहिचान र लैङ्गिक मुक्तिका लागि संगठित संघर्षमा उत्रिनुको विकल्प नभएको बताउनुभयो ।

कांग्रेस एमालेलगायतका दलहरुले राज्यपुनसंर्रचनाको विषयमा स्पष्ट खाका लिएर आउन नसक्दा देशमा राजनीतिक संकट उत्पन्न भएको भन्दै महराले सहमति हुनै नसके पहिचानसहितको संघीयताका पक्षधर उत्पीडित महिला, दलित, जनजाती र पछि पारिएका समुदाय आन्दोलनमा जानुको विकल्प नभएको बताउनुभयो । उहाँले दलहरुबीचको विवाद भनेकै राज्यपुनसंर्चनाको विषय भएको उल्लेख गर्दै उत्पीडित जनताको अधिकारका लागि पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान नै उपयुक्त निकास भएको बताउनुभयो । आफ्नो पार्टीले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानमा कुनै सम्झौता नहुने भन्दै नेता महराले पहिचानसहितकोे संघीयता र संघीयतासहितको संविधान नभए जनता फेरि अधिकारबाट वञ्चित हुने बताउनुभयो । उत्पीडित समुदायलाई अधिकारबाट वञ्चित गराउने कुरामा एकीकृत माओवादी कुनै पनि हालतमा सहमत हुन नसक्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै एकीकृत नेकपा (माओवादी) महाधिवेशन आयोजक समितिका सदस्य सुश्मा शर्मा घिमिरेले महिला मुक्ति र अधिकारका निम्ति सम्पूर्ण उत्पीडित महिलाहरु आन्दोलित हुनुपर्ने बताउनुभयो । तीज पर्वको सन्दर्भ कोट्याउँदै नेतृ शर्माले सामन्तवादी सत्ताले महिलाहरुलाई दास बनाएको तीज पर्व अहिलेको पूँजीवादी समाजले महिलालाई खेलौनाको रुपमा लिएको बताउनुभयो । पछिल्लो समयमा तीज पर्वसँगै समाजमा थुप्रै विकृति, विसंगति निम्त्याएको उहाँको भनाई थियो ।

एकीकृत नेकपा (माओवादी) महाधिवेशन आयोजक समितिका सदस्य नारायणी शर्माले विषय प्रवेश गर्नुभएको अन्तरक्रिया कार्यक्रममा समरेखा द्वैमासिकका सम्पादक लक्ष्मी आचार्य, मानवअधिकारका लागि महिला एकल महिला दाङका अध्यक्ष यमकुमारी ढकाल, ओरेक नेपालका रचना सुवेदी, दलित विकास बोर्डकी शान्ति नेपाली, दलित महिला संघकी यमुना परियार, रेडियो गणतन्त्रकी स्टेशन म्यानेजर इन्दु बस्नेत, निलहिरा समाजकी प्रेरणा बस्नेत, पूर्णकुमारी पुनलगायतले बोल्नुभएको थियो ।

संघकी जिल्ला सम्मेलन आयोजक समिति संयोजक पुनम सेर्पालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बालिका शर्माले गर्नुभएको थियो भने स्वागत डिला चौधरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *