हर प्रभातको सुन्दर रोशनीमा
चरीहरु चिरबिर चिरबिर गरिरहँदा
मेरै झुपडीको छेवैमा आएर
एकोहोरो काग कराइरहँदा
प्रचण्ड तापको झटारोले
शरीरभरि नै खलखली पसिना बगिरहँदा
गोधूलीको सन्नाटामा
बास खोज्दै पंक्षीहरु उडिरहँदा
ऐठनपूर्ण कालो रातमा
सपनीहीन जिन्दगी जीइरहँदा
पल प्रतिपल
प्राणको हरेक वायु कणहरुमा
उनकै याद मात्र छ
टोलाएर हेर्नु मात्र छ
अमूर्त क्षितिजतिर
केवल उनको पर्खाइमात्र छ ।
यथार्थताका चाहनाहरुलाई
ग्याँसच्याम्बरमा हुल्न पल्केका
सन्नाटाभित्रका ख्वामितहरुले
एकछत्र राज गरेर
उनको तन नै गुमनाम गर्न
नेल र हत्कडीले बेरे
कालो पट्टी बाँधेर
अज्ञात दुनियाँतिर घिसार्दै लगे
त्यो पल
उनको स्वाभिमानले हार नखाएर हो
उनी बेपत्ताको लिष्टमा परे
यो पल
न त उनको लास पाइएको छ
न त उनको स्वास पाउन सकियो
केवल उनको स्मृतिको गीत बजेको छ
उनको चेतनाको दियो सल्किरहेछ
क्षितिजसम्म पुग्ने उनको अभिष्टमा
प्रतिवद्धताको लावालस्कर लागेको छ
उनको अधूरो यात्राको पूर्णताका निम्ति
कसम खानेहरुको अभियान चलेको छ
उनको प्रतिक्षाको यो परिवेश
हर धड्कनहरुमा ढुकढुक गरिरहेछ
हो, वेदना छ उनको सम्झनामा
अझै पर्खाइ जीवित छ उनको निम्ति
निरन्तर यात्रा सफलताको निम्ति ।
उनी अमर हुन् कहिल्यै नमर्ने
उनी जून हुन् अँधेरीमा पनि
उनी प्रभात हुन् सिङ्गो रातको भङ्ग गर्ने
अब पर्खाइ लामो भइरहेछ
दुःखको जिन्दगी सुकिरहेछ
परेली भिजेका नयनहरु अझै ओभाएका छैनन्
चेतनाका हरपखेरीहरु
उनको पर्खाइमात्र होइन
उनको लक्ष्य प्राप्तिको पाइलाहरु
निरन्तर चलिरहेछन्
हर कष्टडी र चुनौतीहरुमा पनि ।
२०६९ भदौ २०, ललितपुर
man 6oyo mero ta. . .