मदानीमा खस्यो ल्याम्प–पोष्टको जून

  
  प्रकाशित मितिः बुधबार, अशोज ३, २०६९       | 175 Views   ||

-[डिल्ली मल्ल]
दाङ, भदौ ३० ।

यो यही देश हो जहाँ मैले
मेरी आमालाई
सबभन्दा पहिले भेटेको थिएँ
यही देश हो जहाँ पहिलो घाम देखेको थिएँ
मलाई सबभन्दा पहिले छुने हावा यहीँको हो,
मैले सुनेको पहिलो गीत यहीँको हो ।

दाङको माटोमा पहिलोपटक पाइला टेकेका अहिलेका चर्चित कवि मनु मञ्जिल शनिबार यसरी नै चर्चा गर्दै थिए आफ्नो माटो, जन्मभूमि र सिंगो देशको– कविताका हरफहरुमा ।

सुदूर पूर्वको विराटनगरबाट दाङका झुल्किएका मनु मञ्जिल मदानी साहित्य समूह नेपालको मझेरीमा कविता वाचन गर्दै थिए । शनिबार बिहान उनका दङ्गाली पाठकहरुलाई स्रोता बनाएर लठ्याइरहेका थिए कविले आवाजको जादू र कविता वाचनको कलात्मक छनकले ।

‘कवि एक्लै हुँदोरहेछ, उनले कविका कहानी सुनाउँदै भने– ‘एउटा कवि कुनामा बसेर कविता लेख्छ, सधैं–सधैं धेरै भएर पनि उ एक्लै–एक्लै भइरहन्छ । तर, एक्लै–एक्लै बस्ने कविहरुको फेरि कहिलेकाँही भेट हुँदोरहेछ ।’ उनले भने– मलाई विराटनगरबाट यहाँ डो¥याएर ल्यायो त्यही एक्लोपनले ।’

राप्ती साहित्य परिषद्को सभाहलमा आयोजित कविता वाचन कार्यक्रममा कवि मनुले आफ्नो भर्खरै प्रकाशित भएको ल्याम्प पोष्टबाट खसेको जून कविता संग्रहमा छापिएका १४ वटा कविताहरु वाचन गरेर सुनाए । करिब डेढ घण्टाको बीचमा उनले आवाजको जादू र कलात्मक वाचनशैलीले स्रोतालाई क्षणभरमै भावुक बनाए त क्षणभरमै उद्देलित, आक्रोशित र गम्भीर बनाए ।

देश शीर्षकको कविताबाट आफ्नो एकल कविता वाचन शुरु गरेका कवि मञ्जिलले वाचनको अन्त्य पनि देशको व्यथिति, अराजकता, भद्रगोलप्रतिको चिन्ता, व्यङ्ग्य र देशप्रेमले भरिएको विरोधाभासको साम्राज्य शीर्षकको कविता पढेर टुङ्ग्याए । निकै सरल शब्दहरुमा लेखिएको दुश्मन शीर्षकको कविता उनले दुइपटक सुनाए– स्रोताको आग्रहमा ।

मेरो एउटा दुश्मन छ
जो मलाई फोहरजत्तिकै घृणा गर्छ
तर म उसलाई फूलजत्तिकै मन पराउँछु

काल नआएर मर्न नसकेको, केही गर्न नसकेर थन्किएको आफ्नै जीन्दगीप्रति दिक्दार भएर सडक छेऊको ल्याम्प पोष्टसँग आफ्नो जीवन तुलना गर्दै कविले भने–
निभेर दिनभर उभिन्छु अचेल सडक किनारामा
बाँच्नै नहुने धेरैजसो दिनहरु बाँचेर
मात्र आयु नाघ्न नसकेर उभिएजसरी
कवि त्यही कविताको अन्त्यतिर निरासाका वाबजुद आशावाद पनि देख्छन् यसरी–
तर, कसो कसो घाम डुबेपछि म पनि बल्छु धप्प
मातेको साँझ उज्यालिएर म वरिपरि बसेर
फिस्स हाँस्छ
वटुवा आएर घडि हेर्छ मेरै उज्यालामा
कुनै बेघर बालकले काखझैं सुन्दर
उज्यालो भूमि भेट्छ

करिब डेढ घण्टाको समयमा कवि मञ्जिलले देश, उनी कविता जीवनको रङले लेख्छिन्, दुश्मन, ल्याम्प पोष्ट, सजाय, घोडा, यो सहर कसको हो ?, केटाकेटीहरु, दशैं, पहिरो पर्खेर शीर्षकका कविताहरु सुनाए । त्यस्तै, निदाएको लहर, कफ्र्यू नलागेको रात, विरोधाभासको साम्राज्य र गाउँले एक बालक सम्झेर शीर्षकका कविताहरु वाचन गरे ।

कविता वाचन गर्नुअघि नै चर्चित कवि एवम् गीतकार रमेश क्षितिजले कवि मनु मञ्जिलको साहित्यिक परिचय गराए, दंगालीमाझ । मनु राम्रो कवितामात्र लेख्दैनन्, रमेश क्षितिजले भने– उनी कवितामार्फत् आफूले दिन खोजेको विचार, आफूले भन्न खोजेको कुरा पनि प्रष्ट पार्छन्, यस्ता कविहरु थोरै छन्, ती थोरैमा उनी पनि पर्छन् ।’ कवितामा सकारात्मक सोंच, चिन्तन र ऊर्जा दिने थोरै कविहरुमध्ये मनु पनि एक भएको चर्चा गर्दै क्षितिजले मनुसँग जीवनको सौन्दर्य र आशावादले भरिएको कविता हृदय भएको बताए । सो अवसरमा कवि मञ्जिलकै आग्रहमा उनकै निदाएको लहर शीर्षकको कविता रमेश क्षितिजले वाचन गरेका थिए ।

कार्यक्रममा कवि, गजलकार टीकाराम उदासीले कवि मनु मञ्जिलले वाचन गरेका कविताहरुका बारेमा संक्षिप्त टीप्पणी गरे । अहिलेका सर्वाधिक रुचाइएका कवि मनुका कविताहरु सरल, स्पष्ट र सबल भएको चर्चा गर्दै उदासीले आशावाद र देशप्रेमको भावना प्रबल रहेको बताए ।

कार्यक्रमको समापनका क्रममा राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले राप्ती क्षेत्रको साहित्यिक गतिविधि, सामूहिक प्रयास र संघर्षका कथाहरु सुनाएका थिए । पूर्वी नेपालबाट आएका मनुले दाङलगायत राप्ती क्षेत्रको साहित्यिक प्रयास बुझिसकेपछि भने– मैले यहाँबाट एउटा सन्देश लिएर जाँदैछु काठमाडौंलाई दाङबाट सिक भनेर, उनले भने– यहाँ सबै क्षेत्रका, विचार र आस्थाका हिसाबले फरक–फरक ठाउँमा रहेका साहित्यकारहरु एकै ठाउँमा जम्मा भएर सामूहिक गतिविधि गर्नुहुँदो रहेछ, काठमाण्डौंमा कठै त्यस्तो कहिले पाइएला ?’ जाँदाजाँदै उनले अब काठमाण्डौंले मोफसलबाट सिक्नुपर्छ, दाङबाट सिक्नुपर्छ ।’ मदानी साहित्य समूहले आयोजना गरेको कवि मञ्जिलको एकल कविता वाचनको संयोजन तथा सञ्चालन अभियन्ता टीका बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *