दोषी

  
  प्रकाशित मितिः बुधबार, अशोज ३, २०६९       | 112 Views   ||

-[महेन्द्र महक]

ऊ पत्रकार थियो, यो कुरा सबैलाई थाहा भएको हो ।

म उसको साथी, यो पनि करीब करीब धेरैलाई थाहा छ ।

उसले पत्रिका चलाउनुभन्दा पहिलादेखि नै उसको र मेरो साथ रहेको हो । पत्रिका चलाउन थालेपछि भने उसले मलाई पनि लेख्न उक्सायो । मैले कहिलेकाहीं लेख्न थालें । खास अध्ययन नभएका कारणले मेरा लेखहरु स्तरीय हुँदैनन् । कुनै पनि पाठकले आजसम्म कुनै किसिमको पनि प्रतिक्रिया नदिएकोबाट यो कुराको पुष्टि हुन्छ । तर पनि म लेखिरहेको छु ।

मेरो अफिस सकिएपछि प्रायःजसो हामी सँगै बसी चिया पिउँथ्यौं र यहाँबाट प्रकाशित हुने अन्य पत्रिकामा छापिएका सामाचारहरुमाथि टिप्पणी गरेर बस्थ्यौं । मैले उसँग केही पैसा लिनु थियो । लामो समय भइसक्दा पनि फिर्ता गरेको थिएन ।

‘मलाई पैसाको साह्रै अप्ठ्यारो परेको छ । आज जसरी भएपछि पैसा चाहियो ।’

मेरो कुरा सुनेर ऊ एकछिन् गम्भीर भयो अनि भन्यो, ‘ल हिड् त । तेरो पैसा आज दिइदिन्छु ।’

उसले मलाई आफ्नो बाइकको पछाडि बसायो र जिल्ला प्रहरी कार्यालय पु¥यायो । पैसा मागेकै कारणले प्रहरी खोरमा पो पु¥याउन लाग्यो कि यसले ? सन्की साथीको के भर ?

मलाई बाहिर नै राखेर ऊ भित्र पस्यो– डीएसपीको कार्यकक्षमा । केही मिनेटको अन्तरालपछि ऊ फर्कियो ।

चिया पसलमा आएर उसले मलाई दश हजार दिँदै भन्यो, ‘डीएसपीले दिएको पैसा हो यो ।’

यसको दुई दिनपछिसम्म मेरो र उसको भेट हुन सकेन । म आफ्नो काममा व्यस्त भइसकेको थिएँ । यतिबेला ऊ पनि आफ्नो काममा व्यस्त थियो ।

दुई दिनपछिको उसको पत्रिका उसको नेताले जिल्ला भ्रमणमा दिएको भाषण र उद्घाटन कार्यक्रमका झलकले पूरै भरिएको थियो ।

तेस्रो दिन उसलाई भेट्दा ऊ खुशी थियो । ‘यस वर्षको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ मेरो भागमा पर्छ, म ढुक्क छु ।’ उसले मलाई बताएको थियो ।

‘घोषणा नहुँदै तेरो भागमा नै पर्छ भन्ने के ग्यारेण्टी ?’ मैले शङ्का ओकलेको थिएँ ।
‘अरे यार । तँ मुलालाई के थाहा यस्ता कुरा ।’ उसले मलाई व्यङ्ग्य गरेको थियो ।
‘उसो भए त पार्टी गर्नुप¥यो त ।’

‘आज विशेष पार्टी गरौंला, हुन्न ? आज घर आउँदिन भनेर खबर गरिदे ।’ आँखा सन्काउँदै उसले मलाई भन्यो ।
मैले मेरो घरमा खबर गरिदिएँ ।
हामी साँझको समयमा होटेल कोहिनूर एण्ड रेष्टुराँमा थियौं ।

हाम्रो अगाडि कटनेसी थियो, सलाद थियो, वाइन थियो अनि एक जना अर्को साथी थियो, होटेलको साहु ।
हामी तीन जना पिउँदै थियौं ।

उसले होटेलको साहुलाई थपी थपी पिलाइरहेको थियो र आफूले पुरस्कार पाउँदै गरेको कुरा र पत्रिका प्रकाशनको काम थालेदेखि के–के उपलब्धि हासिल गर्न सक्यो, त्यसको बारेमा हात घुमाइ–घुमाइ गर्वका साथ सुनाइरहेको थियो । उसको आवाज त्यतिबेला अझ चर्को हुन्थ्यो जतिबेला होटेल साहुकी श्रीमती अर्थात् साहुनी हाम्रो टेबुल छेऊ आएर ‘केही चाहियो ?’ भनी सोध्थी ।

साहु रक्सीले पूरै मात्तिएको थियो । पत्रकार महोदयले उसलाई हरेक पटक थपी–थपी राखिदिएको रक्सीले काम शुरु गरिसकेको थियो । ऊ लगभग बेहोसी अवस्थामा थियो । यसपछि होटेलमा काम गर्ने एक जना केटाले मलाई एउटा कोठामा लिएर छोडिदियो र साहुनी आफैले उसलाई पनि कुनै कोठातिर लिएर गइन् ।

कोठामा पुगेपछि पिसाबले च्याप्यो । अटेच बाथरुम छ भन्ने कुरा मेरो दिमागमा आउँदै आएन । म बाहिरको कमन बाथरुममा जान भनी निस्कें ।

बाथरुम नजिकैको ढोका उघारै थियो । ट्वाइलेट होला भनी पसेको त पत्रकार महोदय र साहुनी सारा दुनियाँ बिर्सेर नाङ्गै भएर खेल खेलिरहेका देखिन्छन् । मेरो नसा ‘छू मन्तर’ हुन पुग्यो ।

‘ऐ, तँ मू… किन यहाँ आएको ? आफ्नो कोठामा जा ।’ उसले मलाई रिसाएको आवाजमा आदेश दियो । उसको बोलीबाट थाहा हुन्थ्यो, कि त उसलाई रक्सीको मात भर्खर चढ्दैछ कि त कोठामा आएर यसले फेरी थप्यो । नत्र भने उसको आवाज टेबुलबाट उठ्ने बेलाको भन्दा बढी लर्बराएको थियो ।

‘कति एक्लै मात्र मजा लुट्छस् यार, हामी पनि चाखौं न यस्तो मस्त..’ मेरो मुखबाट यो कुरा फुस्केकै हो । किनभने यतिबेलासम्म मेरो नसा धेरै फिका भइसकेको थियो । रक्सीको मातको साटो अर्कै नसाले मलाई लठ्याउन थालेको थियो ।

‘साले बढी बोल्छस्’ उसले मलाई धक्यायो र मुठ्ठीले मेरो बङ्गारामा बजायो । म बाहिर करिडरनेर पछारिएँ । ऊ लडखडाएको कदमका साथ मेरो नजिकै आयो । रक्सीले धुत्त परेको बेलामा पनि उसको हातमा बल भने कम थिएन । मार खाइसकेपछि ममा नसा कत्ति पनि बाँकी थिएन । म पूरा होसमा थिएँ । उसले मलाई फेरि हान्न खोज्यो तर त्यो भन्दा पहिले नै मैले उसलाई पर धक्याएँ । रातको समय भएकाले हामी कति बाहिर कहाँनेर छौं भन्ने मलाई कुनै हेक्का नै रहेन ।

मेरो धक्याइले ऊ अलि पर पुग्यो र लड्दालड्दै बल्लतल्ल जोगियो । होटेल साहुनीले उसलाई भित्र तान्ने र हाम्रो विवादलाई साम्य पार्ने प्रयास गरिरहेकी थिई । उसले राति लगाउने गाउन लगाएकी थिई । अरुले थाहा पाउलान् भनेर नै होला, उसले सानो आवाजमा बोलिरहेकी थिई । पत्रकार महोदयले अस्पष्ट आवाजमा बोलेको सम्झन्छु म, ‘ऊ मेरो पूर्वप्रेमिका हो । म गरीब छु भनेर मसँग बिहे गरिन । ऐ सेक्सी काली, के म गरीब छु ?’

हामीलाई छुटाउन खोजिरहेकी होटेल साहुनीलाई इङ्गित गर्दै भन्यो उसले, जो दबेको सानो आवाजमा मसँग याचना गरिरहेकी थिई कि यो सब कुरा कसैलाई नभन्नुहोला । यतिबेलासम्म ममा सवार भएको दोस्रो किसिमको मात पनि छू भइसकेको थियो, जसको ठाउँ रिसले ओगटेको थियो ।

‘एउटी रण्डीका लागि तैंले मलाई मुक्का हानिस् ।’
‘तँ सालेलाई मेरै गर्ल फ्रेण्डमाथि आँखा लगाउनुपर्ने ?’ उसले फेरि मलाई मुक्का हान्न खोजेको थियो तर यसपटक मैले उसलाई बेस्सरी धक्याइदिएँ । तर, ऊ वरपर कतै खसेकोजस्तो लागेन ।

पलभरमा ढ्याम्मको आवाज आयो । साहुनीले करिडरको बत्ती बाली । मेरो होस हरायो । मैले धक्का दिएको ठाउँ त तेस्रो तल्लाको बार्दली पो रहेछ । र, ऊ बार्दलीबाट तलै खसेको रहेछ । हामी दुवै होसहवास गुमाएर तल ओर्लियौं तर यत्तिञ्जेलसम्म ऊ परलोकवासी भइसकेको थियो ।

अर्को दिन बिहान म फरार भइसकेको थिएँ । किनभने, त्यो होटेलमा म र उसँगै बसेको कुरा धेरैले आफैनै आँखाले देखेका थिए । पत्रकार भएकाले पत्रकार नै उसका दुश्मन पनि थिए र मित्र पनि थिए । उसका दुश्मनहरुले मलाई पनि आफ्नो दुश्मन नै ठान्थें । अर्को कुरा उसको मृत्युको कारण म थिएँ, मलाई डर थियो आफ्नो प्रतिष्ठाको, सामाजिक इज्जतको । यो भन्दा पनि ठूलो डर थियो, हत्याको वास्तविक कारण ।

एउटी आइमाईको कारणले हामीबीच विवाद भएर उसको मृत्यु मेरो हातबाट भयो भनेर मैले कसरी भन्ने ?

र, यतिबेला उसको हत्याको विरोधमा सडकमा नाराबाजी भइरहेका छन्, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम भइरहेको छ, उसको हत्याको कारणबारे जानकार म चुपचाप एउटा गोप्य कोठामा बसी उसको मृत्युको वास्तविक दोषी को हो भनी सोचमग्न भई यो पश्चाताप पत्र लेख्दैछु । साँच्चै कसलाई मान्ने उसको मृत्युको दोषी ? मलाई, जो उसको नजिकको साथी हो तर उसलाई धक्याएर तीनतलाबाट हुत्याइदियो ? होटेलकी साहुनी, जो विवाहिता भएर पनि आफ्नो पतिलाई धोका दिँदै उसँग नाङ्गिएर मस्ती गरिरहेकी थिए जसको कारणले हामी दुईका बीचमा विवाद भयो र जसको अन्त उसको मृत्युमा टुङ्गियो ? या ऊ आफै जो विवाहित हुँदाहुँदै पनि, समाजलाई सही मार्गनिर्देशन गर्ने राज्यको चौथो अङ्गको सिपाही भएर पनि अर्काको श्रीमतीसँग रक्सीले धुत्त परेर नैतिकताका सबै पर्खाल मेटाइरहेको थियो ।

आखिर पत्रकार पनि त यही समाजका मान्छे हुन्, होइन र ?

०६९ वैशाख १९, दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *