माओवादी, धोबीघाट र राजनीतिक संस्कृति

  
  प्रकाशित मितिः आइतवार, अशोज ७, २०६९       | 123 Views   ||

-[नरेन्द्रजंग पिटर]

माओवादी र धोबीघाट अब अलग्याउनै नसक्ने विषय बने । बहस विहीन बनाउन खोजेपनि नसक्ने सयन रोग हो । अहिले दुवै माओवादीलाई महाधिवेशनको चटारो छ । विकसित राजनीतिक घटनाक्रम र पार्टीभित्रकै समीकरण र गुटीय अभ्यासको कारण महाधिवेशन दुवैतर्फ होला भन्न सकिँदैन् । अझ नवमाओवादीलाई फूटको औचित्य सावित गर्न दबाब पनि त्यत्तिकै बढ्दो छ । महाधिवेशनमा राजनीति, संगठन, सांगठनिक आदर्श, कार्यदिशाको मूर्तिकरण र परिभाषित एवं व्यवहारिक हुन जरुरी छ । एकीकृत सोच कसरी निर्माण गर्ने र सामूहिक अभिव्यक्ति कार्यक्रममा कसरी देखिने दुवैलाई चिन्ताको विषय हो । प्रतिकृयाले मात्र सधैं पार्टी धानिदैन, तानिदैन र लतारिदैन । दुवै माओवादीहरु भने धोबीघाटको बहसदेखि उम्कन चाहन्छन् । तर, यो बहसबाट दुवै ओझलिन र परिणामबाट मुक्त हुन भने सक्ने छैनन् ।

समकालीन नेपाली राजनीतिको लागि धोबीघाट अब पाटनको एउटा ठाउँको नाममात्रै रहेन र प्रवृत्ति पनि बन्यो । आधुनिक व्यवहारिक राजनीतिशास्त्रका नेपाली अध्येतालाई एउटा पाठ बनेको धोबीघाट प्रवृत्ति संगोलको एकीकृत कम्युनिष्ट पार्टी माओवादीभित्रको प्रचण्ड नेतृत्वविरुद्ध अभ्यासको पराकाष्टा थियो । जार्ज अरवेलको एनिमल फर्मको नेपाली नाट्य रुपान्तरण । प्रचण्डविरोधको नाममा किरण, बादल, सिपी गजुरेल, नारायणकाजी, विप्लव, डा. बाबुराम भट्टराईको एकताको त्यो ‘महान सहमति’ थियो । भिन्न चिन्तनहरुको सो जमघटले डा.बाबुराम भट्राईलाई प्रधानमन्त्रीमा अगाडि सा¥यो । त्यसैलाई प्रचण्डले समर्थन गरेपछि सो समीकरण टिकेन । भनिरहनै परेन, जसले डा.भट्टराईलाई प्रधानमन्त्रीमा प्रस्तावित गरेको थियो, त्यही पक्ष हप्तादिन नबित्दै भद्धा विरोधमा उत्रियो पनि ।

एक हप्ता टिक्न नसक्ने त्यो एकताले माओवादीमा मात्र नभई नेपाली राजनीति र राजनीतिक संस्कृतिमै गम्भीर प्रभाव छोड्यो । संविधान निर्माण हुन सकेन । सेना समायोजनलाई असर पा¥यो । उपलब्धिलाई संस्थागत गर्नमा बाधा पु¥यायो । अग्रगमन, यथास्थिति र प्रतिगमनको कुटनीतिक टकराहटमा माओवादीको वार्गेनिङ पावर कमजोर भयो । राष्ट्रियता फेरि बहसमा शिर्शास्थानमा पुग्यो । र, राजनीतिक संकटको निकासमा नकार भूमिका खेल्यो । पुरानो समीकरण भत्किएर नयाँ समीकरण बन्यो । राजनीतिमा प्रतिकृया संस्कृतिको नाङ्गो त्यो अभ्यासले सिद्धान्तलाई तपशीलमा पु¥यायो भने सुविधाको राजनीतिले बाणी पायो । भारतले नचाहेको झलनाथ सरकारको पतन भयो । माओवादी विभाजनको त्यो उच्चतम बिन्दु, सिद्धान्तहीन र सुविधाको राजनीतिको नांगो अभ्यास भएकोले अवसरको लागि सिद्धान्तको बलि कसरी चढाउन सक्छन् भन्ने कुरा अध्ययनको पाठ र विमर्शको विषय बन्यो । परिणामले कारण माथि नै अध्ययन गर्न प्रोत्साहित गर्दछ भने आखिर धोबीघाट जमघटको पर्दाभित्रको प्रायोजक को थिए ? र त्यसले कसको हित साधना भयो ? परिणाम के कस्तो निक्लियो ? भन्ने कुरा गम्भीर अध्ययनको विषय बन्यो । धोबीघाट प्रवृत्ति बुझ्नु भनेको त्यसबेलासम्म माओवादीको प्राधिकारमात्रै हैन पर्यायवाचीसमेत बनेका प्रचण्डलाई साइजमा ल्याउन कसलाई आवश्यकता थियो ? महत्वपूर्ण कुरा यही हो । जबसम्म धोबीघाटबाट सकार र नकार शिक्षालाई दुवै माओवादीले संश्लेषण गर्दैनन् तबसम्म ती दुवै पार्टी, पार्टीको हैसियतमा हुँदैनन् । विगतको निर्मम समीक्षा हुँदैन भने आगतको योजना पनि बन्न सक्दैन् । महाधिवेशनको औचित्य पनि रहँदैन् । त्यो गुटको मोर्चा मात्र बन्नेछ । अर्को दूर्घटनाको लागि मानसिक तयारी गरेर बसे हुन्छ ।

माओवादीभित्रको अनेकौं गुट र उपगुटको जमघट थियो, धोबीघाट । लामो दिनको अभ्यासको अतृप्त आत्माहरुको भेला प्रतिकृयाको उपज थियो । प्रचण्ड ठिक थिए, बेठिक थिए, उनलाई सत्ताच्यूत गर्न कति बैठकमा प्रस्ताव राखियो, उनका गतिबिधि र सारेका एजेण्डामा कति विमति जाहेर गरियो, गरिएन त्यो गम्भीर विषय थियो । त्यसको जवाफ थिएन । तर, धोबीघाट अभ्यासमा सबै पात्र र प्रवृत्तिहरुको एउटै उद्देश्य प्रचण्डलाई पार्टीमा सत्ताच्यूत गराउनुमात्रै एकताका आधार थिए । त्यसको आधार तयार गर्न प्रचण्ड स्वयमको के–कति भूमिका छ त्यो पनि अध्ययनकै विषय बन्यो । धोबीघाट प्रवृत्ति माओवादीभित्रका लामो समयदेखी नेपाली राजनीतिमा कृया उत्पन्न गर्ने प्रचण्डको विरुद्धको प्रतिकृया र गुटहरुको मोर्चा थियो ।

गुटको मोर्चा र भिन्न पार्टीहरुको संयुक्त मोर्चामा फरक हुन्छन् । संयुक्त मोर्चा निश्चित उद्देश्यमा केन्द्रित हुन्छ । न्यूनतम सहमति भएर सहकार्य गरिन्छ । गुट अभ्यासमा पार्टी सत्ता कब्जा गर्ने वा एकले अर्कालाई सिध्याउने वा हुर्मत काढेर आफ्नो औचित्य सावित गर्ने खेल हुन्छन् । त्यसले कुनै सिद्धान्तको अभ्यास र दायित्व पूरा गर्न सक्दैन । कार्यकर्ताहरु राजनीतिक कारिन्दामा फेरिन्छन् । राजनीति व्यबसाय हुन्छ । पार्टीमा नेता हुन्छ भने गुटमा नाइके  । गुटमा फेरिएको पार्टीमा योग्यता, क्षमता र अवसरहरु गुट नाइकेको गोजीमा रहन्छ । हरेक गुटभित्र पनि उपगुट हुन्छन् । जब गुटले नयाँ पार्टीको आकार लिन्छ तब विद्यमान उपगुटहरु अस्तित्वका लागि त्यहाँ पनि छटपटिन्छन्, टकराउँछन् । उपलब्धिको हकवाला बन्ने, हरेक निर्णय प्रकृयामा सामेल पनि हुने तर अब जसको भारी अरुलाई बोकाएर हरेक गुट नाइकेहरु उम्कन्छन् । गुट पनि पार्टीमा फेरिएपछि पहिलाको चरित्र फेरी दोहरिन्छ । आँप रोपेर सुन्तला नफलेझैं अहिले नवमाओवादीमा पनि सोही पुरानै रोग सरेको छ । अझ त्यसलाई ढाकछोप गर्न नवमाओवादीलाई उग्र प्रतिक्रिया दिन विवश छ वा भावनामा अझ खेल्न अनिवार्य हुन्छ । सक्रियता प्रतिकृयामा सीमित हुन्छ । अहिले सशस्त्र संघर्षको चर्चा वा जनयुद्धको पुनः थालनीका छरिएका हल्लामा पनि सोही मनोविज्ञान देखिन्छ ।

जनयुद्धबाट शान्तियुद्धमा आउँदा माओवादीभित्र चरम महत्वकांक्षाको पछिल्लो र स्पष्ट देखिने गरेर राजनीतिक अभ्यास भने धोबीघाटमा भएको थियो । अहिले हरेक पार्टीमा रहेका गुट र उपगुटमा सिद्धान्त नभई आफ्नै अर्थात् व्यक्तिलाई केन्द्र बनाएर चल्ने प्रवृति देखिरहेको छ । अन्य राजनीतिक दलहरुले पनि आफूलाई राजनीतिक संगठनकै रुपमा जीवन्त राख्न धोबीघाटको नकार संस्कृतिवाट मुक्त हुनुपर्दछ ।

जबसम्म धोवीघाटले दिएको सन्देशको निर्ममतापूर्वक दुवै माओवादीले व्याख्या विश्लेषण गर्दैनन् र त्यसले दिएको परिणामको गुण दोषको भागी बन्दैनन् र बनाइदैन तबसम्म दुवै पार्टीले आफ्ना कुनै पनि भूमिका न त खेल्न सक्छन् न त पार्टी चरित्र नै बचाउन सक्छन् । जहिलेपनि सरकारको नेतृत्व गर्न कुनै पनि पार्टी पुग्छ भने त्यसबेला धोबीघाट प्रवृत्तिहरु किन सल्बलाउँछन् ? यो इतिहासको दोहोरिरहने कुरुप नजीर हो । ०७ सालदेखि कांग्रेसले भोगेको अभिसाप, एमालेको फूट, पूर्वपंचहरुको राप्रपा र मधेसवादीहरुको विभाजन जस्तै माओवादीमा पनि भएको फूटमा कतै एउटै तार र शक्तिले काम गरेको त छैन । जसले धोबीघाटको परोक्षमा मञ्चन ग¥यो । हरेक फूटको औचित्य सावित गर्न र पछुवाहरुलाई आवेग भर्न तर्कको आवश्यकता र सिद्धान्त र आदर्शको जामा लगाइन्छ र गोप्य एजेण्डा भने छिपाइन्छ । तर परिणामले कामको छिपेका उद्देश्य भने छिपाउन सक्दैन । धोबीघाट राजनीतिक संस्कृति, नेपाली राजनीतिको भद्धा अभ्यास र अहिलेको राजनीतिक संकट, अविश्वास र तगारोको मूल कारण हो । अराजनीतिको पराकाष्टा अभ्यास भएकाले अहिलेको यो राष्ट्रिय अन्यौलता, संविधानसभाको दुखद अन्त, राष्ट्रियताप्रतिको भ्रम र कमीकमजोरी, निकासको बाधक, माओवादी पार्टीको विभाजन सबैको कारण धोबीघाट जमघट र त्यसको परिणाम हो । त्यसैले पनि इतिहासको निर्मम समीक्षा नगरी कोही पनि भविष्यको सुखद यात्रा गर्न सक्दैन । तर दुवै माओवादी धोबीघाटको समीक्षा गर्नबाट किन जोगिन चाहन्छन् ? कार्यकर्ताहरु किन यस्तो गम्भीर विषयबाट विषयान्तर गरिरहेको नेतृत्वलाई दबाब सिर्जना गर्दैन भन्दा गुट राजनीतिमा रमाउनको कारण मुख्य हो । भूलबाट सिक्ने र उपलब्धिलाई बचाउने, अभ्यासबाट परिस्कृत हुने हो भने महाधिवेशनमा दुवै माओवादीलाई धोबीघाटको निर्मम समीक्षा हुन अत्यन्तै जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *