भयावह छ अझैं महिलामाथिको हिंसा

  
  प्रकाशित मितिः आइतवार, अशोज ७, २०६९       | 123 Views   ||

-[आस्था केसी]

समाजमा विद्यमान हज्जारौं वर्ष पुराना शोषण र विभेदहरुको तुलनामा महिलामाथिको हिंसा नै सबैभन्दा बढी व्यापक हिंसाको रुपमा रहेको छ । कुनै क्षेत्रविशेष, कुनै धर्मविशेष वा जातिविशेष जे भएपनि महिलामाथिको हिंसा व्यापकरुपमा छ र त्यो हिंसा नयाँ–नयाँ स्वरुपमा अभिव्यक्त पनि भइरहेको छ । सिंगो आकाशमध्ये आधा आकाशमा घाम लागिरहेको अवस्था छ भने आधा आकाशमा कालो बादल लागेको अवस्था छ । समाज २१ औं शताब्दीको मध्यतिर आइपुगेको छ, दुनियाँमा धेरै ठूला–ठूला परिवर्तन भएका छन् र ती सबै परिवर्तनहरु चाहे ती राजनैतिक परिवर्तन होऊन्, चाहे ती आर्थिक परिवर्तन होऊन, या सामान्य सामाजिक परिवर्तन होऊन, ती सबैमा महिलाहरुले निकै नै सक्रिय रुपमा आफ्नो सहभागिता जनाएका छन् । परिवर्तनका ती महत्वपूर्ण कदमहरुमा पुरुषहरुसँगसँगै काँधमा काँध मिलाएर अग्रपंक्तिमा सामेल हुने महिलाहरु अन्ततः आन्दोलनको उत्कर्ष र परिवर्तनको निष्कर्ष सँगसँगै पछाडि पर्छन् वा पारिन्छन् र कालान्तरमा उनीहरु जहाँको त्यही रहन पुगेको यथार्थता हाम्रा सामु दिनको घामजत्तिकै छर्लङ्ग छ ।

महिलामाथि हुने गरेका या भए गरेका विविध प्रकारका हिंसा, विभेद र शोषणको अन्त्य कसरी गर्न सकिन्छ भन्ने विषयमा गहन अध्ययन हुन जरुरी छ । तर, विडम्बना अहिलेसम्म जति पनि कार्यहरु गरिएका छन् ती सबै सतहमा मात्र गरिएका छन् । ती मुलतः विषयवस्तुको गाम्भीर्यताको बोध गर्दै गहिराईमा पुग्न सकिरहेका छैनन्, जसको फलस्वरुप रुपमा देखिने बेला समस्याहरु हल भएजस्तो देखिएपनि सारतः महिलामाथिका हिंसाहरु उत्तिकै मात्रामा कायम छन् । महिलामाथिको हिंसाको खास कारण के हो ? भन्ने कुरा राम्रोसँग अध्ययन नगरिकन जति नीति तथा योजना बनाएपनि व्यवहारमा लागू हुन सक्दैन । महिला हिंसाको वास्तविक कारण राज्यशक्ति, सत्ता र अधिकारका विषयमा केन्द्रित छ । राज्यव्यवस्था र संविधानका नियम तथा कानूनहरु कसको पक्षमा छन् भन्ने कुराले नै सामाजिक व्यवस्थाको निर्धारण गर्ने गर्दछ । महिलाहरु सामाजिक, आर्थिक, राजनैतिक र साँस्कृतिक सबै क्षेत्रमा पछाडि पर्नुको कारण उनीहरुको शारिरीक संरचना हो भन्ने कतिपयको बुझाई छ जब कि यो सरासर गलत छ । वैज्ञानिक र अध्येताहरुले यो कुराको धेरै अगाडि नै पुष्टि गरेका छन् । सामाजिक सम्बन्ध, सत्ताको स्वरुप, कानूनी सम्बन्ध तथा सम्पत्तिसँगको सम्बन्धहरुमा नै हामीले महिलामाथि हुने गरेका हिंसाहरुको अध्ययन गर्न जरुरी छ ।

हाम्रो समाजमा पितृसत्तात्मक सामन्ती पुरुषप्रधान सोंच बोकेका व्यक्तिहरु नै सामाजिक रुपमा मात्र होइन, राजनीतिक रुपमा पनि अगुवा बन्दै आएका छन् । हज्जारौं वर्षअगाडिदेखि राजनीति र सामाजिक सम्बन्धको तथा राज्यको बागडोर उनीहरुले नै सम्हालिरहेका छन् । यसो हुँदा महिला हिंसाको अन्त्यको लागि जति पनि नियम कानूनहरु अहिलेसम्म बनिरहेका छन् ती प्रयाप्त छैनन् र लागू हुन पनि सकिरहेका छैनन् । पितृसत्तात्मक सामाजिक संरचनामा छोरालाई वंशको उत्तराधिकारी मान्ने र सम्पत्तिको हक पनि उसैलाई मात्र हुने तर छोरीहरुलाई सम्पत्ति तथा वंशको उत्तराधिकारी बन्ने दुवैखाले अधिकारबाट वञ्चित गर्ने गर्दै आइएको छ । जसले गर्दा सानो हुने बेलादेखि नै छोराको र छोरीको मानसिकतामा आकाश जमिनको फरक प्रभाव पर्दै जान्छ । पैत्रिक सम्पत्तिको मालिक र वंशको उत्तराधिकारी छोरा हुने तर छोरीको न बुवाको घरमा नै सम्मान हुने न त विवाह गरेको घरमा नै सम्मान हुने यी यावत गलत र विभेदपूर्ण संस्कार र संरचनाहरुले गर्दा महिलामाथि हुने गरेका हिंसामा कमी होइन अझै बढोत्तरी भएको देखिन्छ । सम्पत्तिको के कुरा गर्नु जब महिलाहरु आफ्नै शरीरमाथि पूर्णरुपमा अधिकार जमाउन सकिरहेका छैनन, आफ्नै शरीर कसरी उपभोग गर्ने, महिलामा मात्र रहेको प्रजनन क्षमतालाई महिला आफैले आफ्नो स्वविवेकमा कसरी प्रयोग गर्ने भन्ने कुराको निर्णय महिलाको आफ्नै निर्णय हुन सकिरहेको छैन । त्यस्तै श्रममाथिको अधिकार पनि महिलाको हातमा छैन, दिनभरि सँगै काम गरेको पुरुष साथीले कहि न कहि महिलाको तुलनामा धेरै ज्याला लिन्छ जब कि काम गर्ने बेला महिला र पुरुष दुवैले सँगै र उस्तै रुपमा गरेका हुन्छन् । समान कामको समान ज्याला पूर्णरुपले लागू हुन सकिरहेको छैन । त्यतिमात्र होइन, देशको लागि राज्यको अर्थतन्त्रलाई बलियो बनाउनका लागि महिलाहरुको योगदान कहाँ–कहाँ कस्तो–कस्तो रह्यो, त्यसको मूल्यांकन हुन सकिरहेको छैन । जबसम्म राष्ट्रको कुल आयमा महिलाहरुको श्रमलाई जोड्न सकिन्न तबसम्म यो श्रममाथिको अधिकार पनि महिलाहरुले प्राप्त गर्न सक्ने छैनन् । त्यसैगरी सम्पत्तिमाथिको अधिकारलाई संविधानमा नै महिलाहरुको नैसर्गिक अधिकारको रुपमा उल्लेख गर्नुपर्दछ ।

उसो त सम्पत्तिमाथि महिलाहरुको अधिकारको कुरा र पैतृक सम्पत्तिमाथिको अधिकारको कुरा मात्र होइन, आमाको नाममा नागरिकता पाउने कुरा र राज्यको नीति निर्माणको तहमा मात्र होइन, राज्यका हरेक अंगमा महिलाहरुको समावेशी र समानुपातिक सहभागिताको कुरा पनि आजभोलि निक्कै नै चर्चामा छन् । राज्यको माथिल्लो तहमा समानरुपले प्रतिस्पर्धा गर्ने अवस्थासम्म नपुग्दासम्म महिलाहरुलाई विशेषाधिकारको व्यवस्था गर्नुपर्दछ । सामाजिक कुरीति र विभेदकारी नीतिको प्रत्यक्ष शिकार बनेका महिलाहरु सबै हिसाबले प्रतिष्पर्धा गरेर सबै ठाउँमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्ने अवस्थासम्म पुग्न विशेषाधिकारको नीति प्रभावकारी त हुन्छ नै त्यसबाहेक महिलाहरु आफैमा एउटा अदम्य साहस र आफैमाथिको सम्पूर्णखाले विश्वास पैदा हुनु जरुरी छ ।

राज्यसत्ताको सबै स्वरुपहरुमा जहिलेसम्म परिवर्तन हुँदैन, तबसम्म महिलामाथि हुने हिंसाहरुको पनि अन्त्य हुन सक्दैन । समाजको संरचना पुरानै रुपमा चलेको छ । व्यक्तिका मानसिकताहरु पुरानै संरचनाले ग्रसित छन् । हिजो नीतिनियमहरुको विरोध मात्रै गर्ने ठाउँमा भएका महिलाहरु केही हदसम्म नीति निर्माणको तहमा पुगेका पनि छन् । नयाँ बन्ने संविधानमा महिलाको पक्षमा बनाइएका नीतिनियमहरु लिपिवद्ध गर्ने मात्र होइन तिनलाई व्यवहारमा कार्यान्वयनको लागि अझै दरिलो कानूनी संयन्त्र निर्माण गरेर जानु आजको आवश्यकता बनेको छ ।

यो कुरा निश्चित हो कि नीति नियम तथा कानूनले गर्दा पछिल्ला दिनहरुमा महिलामाथि हुने गरेका हिंसाका दोषीहरुले थोरै नै सही तर सजाय पाइरहेका छन् । तर, यसको तुलनामा हिंस्रकहरु अझै बढी हिंस्रक बनेको पनि देखिएको छ । हिंसाका नयाँ–नयाँ रुपहरु दिनानुदिन महिलाहरुले भोगिरहेका छन् । दाइजो प्रथाजस्तो सामाजिक कलंकको रुपमा कयौं महिलाहरु सुहागरात पनि मनाउन नपाइकन ज्यूँदै आगोमा जलाइएका छन् । विभिन्न समयमा हुने मानसिक तथा सामाजिक हिंसाहरु सहन नसकेर कतिपय महिलाहरुले आफै विष पिएर जीवन समाप्त पारेका छन् । त्यतिमात्र होइन, आफूलाई समाज परिवर्तनको संवाहक ठान्ने र क्रान्तिका ठूल्ठूला गफ हाँक्नेहरुबाटै पनि आज महिलाहरु विभिन्न हिंसामा परेका छन् । हिजो आन्दोलनको पिरियडमा सँगसँगै समाज भूमिकामा काम गरेका महिलाहरु आफ्नै सहकर्मी पुरुषबाट हिंसामा परेका छन् । मदिरा सेवन गर्नु, बहुविवाह गर्नु र कही न कही महिलाहरुको अपमान गर्नु आज कतिपय पुरुष मित्रहरुको दैनिकी बनेको छ । एकपछि अर्को गर्दै समस्या खडा गर्ने र महिलामाथि हिंसा थोपर्दा समेत संगठनबाट कुनै कार्बाही नगरिनुले त्यस्ता गलत मानसिकताको शिकार भएका पुरुषहरुको मानसिकता दह्रो भएको छ भने पीडित महिलाहरु कमजोर मानसिकता बोकेर बाँचिरहेका छन् ।

समाजका असाध्यै निम्नस्तर भएका व्यक्तिहरुदेखि लिएर अन्त्यन्तै सम्भ्रान्त परिवारमा समेत र सबैजसो जाति, क्षेत्र, पेशा तथा धर्मविशेषमा महिलामाथिका हिंसा कुनै न कुनैरुपमा जारी नै छन् । भलै कतै कुनै समुदायमा कम–वेशी होला तर समग्रमा महिलामाथिको हिंसा कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *