आगामी आर्थिक वर्षमा घोराही–घर्तीगाउँ सडकखण्ड कालोपत्रे
-पाण्डव शर्मा
काठमाडौं, असार १३ । शहीदमार्ग (घोराही–होलेरी–थवाङ) को ट्रयाक खोल्ने काम आगामी दुई बर्षभित्र पूरा हुने भएको छ । कुल १ सय ७७ किलोमिटर खण्डमध्ये अब करिब २५ किमिमात्र ट्रयाक खोल्न बाँकी रहेको भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुल्सीप्रसाद सिटौलाले जानकारी दिनुभयो ।
सिटौलाका अनुसार यो सडकलाई सरकारले उच्च प्राथमिकताका साथ हेरेको छ । अब थवाङदेखि महतसम्मको १० किमि र खरिबोटदेखि थवाङसम्मको १५ किमि सडक ट्रयाक खोल्न बाँकी छ । ‘यी खण्डको भौगोलिक अवस्था अलि अप्ठ्यारो भएकाले ट्रयाक खोल्न दुई बर्ष लाग्ने देखिएको छ,’ शहीदमार्ग आयोजना प्रमुख रामहरी पोख्रेलले भन्नुभयो, ‘ठेकेदार कम्पनीले धोका दिएकाले पनि ट्रयाक खोल्नमा केही ढिलाई भएको हो । उक्त मार्गको ट्रयाक खोल्न मात्र एक अर्ब रुपैयाँ खर्च लाग्ने मन्त्रालयले बताएको छ ।
२०६४ सालदेखि प्रारम्भ भएको उक्त आयोजनामा हालसम्म ४० करोड रुपैयाँ खर्च भइसकेको शहीदमार्ग आयोजना प्रमुख रामहरी पोख्रेलले जानकारी दिनुभयो । अघिल्लो आ.व. मा सो आयोजनाका लागि रू. ६ करोड ५० लाख खर्च भएको थियो । सरकारीस्तरमा पाँच वर्ष पहिले आयोजना प्रारम्भ गरिएपनि जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीले सो शहीदमार्ग अन्तर्गत नुवागाँउँदेखि तिलासम्मको मोटरबाटो निर्माण गरेको थियो । युद्धकालमा माओवादीले रोल्पाको थवाङलाई आफ्नो राजधानी मान्दै आएको थियो ।
सो शहीदमार्गको सेवार खोलामा १ करोड ५० लाख र च्यूरीघाटमा १ करोड ४३ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण कार्य भइरहेको छ । ती पुल पनि आगामी वर्ष पूरा हुने पोख्रेलले बताउनुभयो । अन्य तीन स्थानमा पनि पुल निर्माण गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । ‘थवाङमा २ ओटा र दुई खोलीमा एउटा पुल निर्माण गर्नुपर्नेछ,’ उहाँले भन्नुभयोे, ‘यी पुल निर्माणपछि सबै खण्डमा साना सवारी साधन सञ्चालन गर्न सकिनेछ ।’ ढुवानीसहित ठूला सवारी साधन सञ्चालनका लागि भने पुनः सबै खण्डमा मर्मत सुधार गर्नुपर्ने पोख्रेलले बताउनु भयो । घोराही–घर्तीगाउ“को ९४ किमी खण्डमा भने अहिले पनि यातायात सञ्चालन भइरहेको छ । सो खण्ड कालोपत्रे गर्न सरकारले केही महिना पहिले १ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक बर्षदेखि कालोपत्रेको काम शुरू हुने पोख्रेलले जानकारी दिनुभयो । भारतीय एक्जिम बैङ्कले प्रदान गरेको ऋणबाट उक्त रकम विनियोजन गरिएको भौतिक योजना, निर्माण तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताउनु भयो । कालोपत्रेका लागि रकम जुटाउन अर्थमन्त्री एवं एमाओवादी नेता वर्षमान पुन ‘अनन्त’ ले विशेष पहल गरेको एक सरकारी अधिकारीले बताए ।
सडकको उत्तरीखण्डले मध्य पहाडी लोकमार्गलाई समेत छुने आयोजनाले बताएको छ । सडक निर्माणपछि राप्तीका लाखौं जनतालाई प्रत्यक्ष फाइदा पुग्ने पोख्रेलले बताउनु भयो । राप्तीका दाङ, रोल्पा र रूकुमलाई सडकले प्रत्यक्ष समेट्नेछ । ‘सडक पूरा भएपछि जाजरकोट, र सल्यानका जनताले पनि सुविधा पाउनेछन्,’ पोख्रेलले भन्नुभयो ‘यहाँको पर्यटकीय प्रवद्र्धनका लागि यो सडकले उल्लेखनीय योगदान पु¥याउने छ ।’ उक्त सडकले घोराही–कोइलावास सडकलाई समेत जोड्ने उहाँले जानकारी दिनुभयो । यसले राप्तीका उत्तरी भेगका जनतालाई आफ्नो उत्पादन भारत निर्यात गर्न समेत सहयोग पु¥याउने पोख्रेलको विश्वास छ । रोल्पा र रूकुमको उत्तरी भेगमा बहुमूल्य जडिबुटीको खेती हुने भएकाले यसको बजार प्रर्वद्धनका लागि यो सडकले निकै सहयोगी भूमिका खेल्ने उहाँले बताउनु भयो ।