हकदाबी

  
  प्रकाशित मितिः आइतवार, अशोज १४, २०६९       | 114 Views   ||

-[क्षितिज मगर]

मानसरोवर ताकेर
उडान भरेका क¥याङकुरुङका
दृढ सपनाजस्तै
इतिहासको
गह्रुँगो भारी बोकेका,
अविराम यात्रारत कलमहरु
भाग्य रचनाका साझा औजारहरु हुन्
सपनाहरुका
जिजीविषाहरुका
ढुकढुकीहरुका
जीवनहरुका ।

ओ, मित्र
कलमहरुमाथि
तिम्रो एकल स्वामित्वको लालपूर्जा
किन भरिरहेछौ फगत ?
यी साझा कलमहरुमा
तिम्रो जति पसिना छ, मेरो पनि
तिम्रो जति रगत छ, मेरो पनि
तिम्रो जति सपना छ, मेरो पनि
तिम्रो जति प्रेम छ, मेरो पनि
अथवा,
यो धर्तीमा मेरो जति हक छ
त्यो बराबर कलममा पनि
बाँच्नको लागि जति हक छ मलाई
त्यो बराबर कलममा पनि
किनकि,
हाम्रा पसिना, रगत, सपना, प्रेम
आँशु, हाँसो, भावना, रहर
साराका सारालाई
विचारको मसीमा घोलेर
भरेका थियौं कलमभित्र
र, त बनेको हो
बन्दुकभन्दा शक्तिशाली अस्त्र
जहाँ,
मसँग तिमी थियौ
तिमीसँग म थिएँ ।

आज
कलमहरुमाथि
तिम्रो एकल स्वामित्वको लालपूर्जा
किन भरिरहेछौ फगत ?
साझा कलमहरुद्वारा
बेरोकटोक, निर्विवाद
साझा विपना कोरिनुपर्छ, तिम्रा मात्र हैनन्
साझा लक्ष्य भरिनुपर्छ, तिम्रा मात्र हैनन्
साझा हृदय सजाइनुपर्छ, तिम्रा मात्र हैनन्
साझा कर्म देखाइनुपर्छ, तिम्रा मात्र हैनन्
किनकि, कलमहरु
भाग्य रचनाका साझा औजारहरु हुन्
सपनाहरुका
जिजीविषाहरुका
ढुकढुकीहरुका
जीवनहरुका ।
रचना मिति : २०६८ भाद्र २०, रोल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *