बालविवाह कसरी रोक्ने अविभावकको चिन्ता

  
  प्रकाशित मितिः आइतवार, अशोज १४, २०६९       | 159 Views   ||

-[गोविन्द खड्का]

‘सुटुक्कै भागेर पोइल जानेदेखि आजित छौं । यसलाई कसरी रोक्न सकिन्छ ?’ बालबिवाह अत्यधिक भएको स्वीकार्दै लोहारपानी गाविसका अगुवाहरुले भने । उनीहरुले बालविवाहका कारण पछि परेको भन्दै त्यसबाट कसरी मुक्त हुने भन्ने कुरामा कुनै उपाय नदेखिएको जानकारी दिए ।

हुन त उनीहरुसँग बच्चाहरु उत्साहका साथ कुरा नराख्ने, हप्काउँदा नाम्लो खोजेर आत्महत्या गर्ने धम्की दिने लगायतका पीडा पनि संगालिएका रहेछन् । संयोगवश उप–स्वाथ्यचौकीमा खोप कार्यक्रममा पनि धेरैसँग छलफल गर्न पाइयो । बच्चाका आमाहरुसँग विभिन्न विषयमा कुराकानी भयो । त्यस क्रममा करिब दुइ दर्जन आमाहरु कसैले पनि अस्पतालमा बच्चा जन्माएको बताएनन् । न त उनीहरुले जन्म दर्ता नै गरेका थिए । कतिपयले चारपटक जाँच गराएको ४ सय र ५ सय सुत्केरी खर्च पाइने कुरा पनि थाहा नपाएको बताए । अधिकांश महिलाहरु ७ कक्षासम्म पढेका १८ वर्ष उमेर नपुग्दै आमा बनिसकेकाहरु थिए । जो दुइवटा बच्चाका आमा बनिसकेको बताउँथे, आफुले प्रेम विवाह, भागी विवाह गरेको बताए । केहीलाई पोषिलो खाना लिटो बनाउने तरिका थाहा रहेनछ भने बालअधिकारका बारेमा सुन्दै नसुनेको अधिकांशको भनाइ रह्यो । लाग्छ यो अवस्था नेपालका सबैजसो गाउँबस्तीमा हुनुपर्छ ।

काखको अवस्थामात्रै होइन विद्यालय जान पनि भौगोलिक विकटताले रोकेको छ । विद्यालय पुग्नेहरु पनि पचास प्रतिशत विद्यार्थीहरु ठूलो कक्षामा नपुग्दै छाड्छन् । शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले शैक्षिक सुधार गर्न नसकेकोमा चिन्ता गरे । तर, माथिल्लो कक्षामा छात्राहरु भने नघटेको उनीहरुको भनाइ थियो । विदेश र अन्य काममा छात्राहरु जान नपर्ने भएकाले माथिल्लो कक्षासम्म पनि पढिरहने छात्राहरुको संख्या नघटेको उनीहरुले बताए । त्यससँगै वालविवाह गरेपनि छात्राहरुले पढ्न नछोड्ने चलनको सकारात्मक विकास भएको देखिन्छ । दश कक्षामा पुग्दा धेरै छात्राहरु विवाह गरिसक्ने रहेछन् । यसो हुनुमा केही कारण मोबाइल भएपनि मुख्य कारण भने त्यो होइन रे । त्यो के कारण हो भन्ने आफूहरुले पनि जान्न नसकेको त्यहाँका अविभावकहरुले बताए । कारण जेसुकै भएपनि अविभावकका सपना भने पूरा हुन सजिलो छैन । सर्वश्व भनेर सम्झिएका सन्तान बिग्रनु एउटा अविभावकका लागि सुखद कुरा कुनै हालतमा पनि हुन सक्दैन । एउटा बच्चा होइन सबै बिग्रिदैछन्, वातावरण नै परिवर्तन गर्ने हामी सबैको दायित्वभित्र पर्नुपर्छ । आफ्नो क्षेत्रमा व्यवहारत लाग्नैपर्छ ।

गाउँको चलन पनि निकै बदलिएको छ । करिब ६ दशक वरपरले आफै अचम्ममा परेको बताउँछन् । उनीहरुले केही समयअघि सबै परिवारको भरण पोषण आफै गरेको सम्झिए । त्यसपछि श्रीमतीलाई जिम्मा दिने चलन आएको बताए । अहिले त्यसले पनि नधानेर बच्चाबच्ची आफैले नलिए झगडा गर्ने, लत्ताकपडा आफै खरीद गर्ने गरेकोमा अहिले पैसा बाँड्ने चलन आउँदा पचाउनै गा¥हो भएको बुढापाकाहरुको भनाई छ । परिवारमा गोपनियताका लागि बालबालिकालाई सबै अवस्थामा सहभागी गराउन नसकिने गाउँलेहरु बताउँछन् । ‘हाम्रा बा त भकारीमा लुक्या छैनन् ।’ भन्ने पुरानो भनाइलाई उदाहरण दिदै पडौषीलाई नभन्ने कुरा खोल्न सक्ने चिन्ता जनाए । तर बच्चाको जिज्ञासा हप्काएर, धम्काएर मेटाउने चलन रहेछ । बाआमाले काबुमा राख्नको लागि तर्साउनाले भविष्यमा ठुला मान्छेसँग डराउने हुन्छ । उसको मनोविज्ञानमा असर पर्छ र कमजोर हुन्छ भन्ने थाहै नभएको बताए । उसको उत्सुकता र कौतुहलता घरमा बाआमा अविभावकले विद्यालयमा शिक्षकले अन्यायपूर्ण तरिकाले नजानिदो हिसाबमा दबाएको अहिले छर्लङ्ग भएको प्रतिकृया दिए । हरेक विषय स्पष्ट पार्ने नसके अरुलाई सोधेर भएपनि बुझाउने चलन कतै नभएको पाइयो । बच्चाले सोधेको पनि नजानेपछि आफूलाई तल परेको महशुस गर्ने र थर्काएर शान्त पार्ने चलन रहेछ । अबका दिनमा सबै विषयमा छलफल गर्ने बताए । सानोलाई ठूलोले दबाउने संस्कार समाजमा जब्बर छ । त्यसको प्रकृया हो थर्काएर नजानेका कुरामा बच्चालाई कन्भिन्स गराउनु ।

महिला र पुरुषमा भेदभाव गाउँ–गाउँसम्म पनि रहेछ । छोरीमात्रै पाउँदासम्म सन्तान जन्माइरहने भेटिए । छोरा एउटा मात्रै भएपनि पुग्ने उनीहरुको आशा छ । केहीले गर्भमा छोरी भएपछि भ्रुण हत्या गर्नेसम्मका काम गरेको सुनियो । घरमा श्रीमती बोल्दा आफुलाई कम हुन मन नलाग्ने पुरुष ठूलै हुनुपर्ने संस्कार रहेछ । कसैगरी प्रतिकार नगरे छिमेकले ‘गल्ती गरेरै त चुप लाग्यो ।’ भनेर हेप्ने भएकाले झगडामा कम नहुने अवस्था रहेको बताए । लोग्ने स्वास्नीमा विवाद हुँदा बालबालिका पनि सँगै रुने कराउने बिचल्लीमा परेका थुप्रै उदाहरण भेटिए । ‘नबोलौं गल्ती ग¥या रहेछ र त चालै गरिन भन्छन् पडौसीले । बोल्दै जाँदा ठूलै झगडा हुन्छ । बच्चा रोइकराइ गर्छन् के गर्ने ?’ उनीहरुले प्रश्न राखे । अझ जाँडरक्सीले मुख्य समस्या बनाएको बताए । अनावश्यक दम्भ देखाउनु भनेको परिवार भाँड्नु हो । परिवार तहसनहस भयो भने भावी पुस्ताको जीवन भविष्य पनि अस्तव्यस्त हुन्छ । त्यसमा ख्याल किन पुगेन ?

यसैगरी बालबालिकालाई घरमा कक्कड चुरोट सल्काउन दिने, रक्सी ल्याउन पठाउने, जाँड रक्सी खाएका भाँडा धुन लगाउने, चुरोट पुकार सुर्ति किन्न पठाउने अभिवावकको चलनले बालबालिका कुलतमा फसेको उनीहरुको दावी थियो । आफ्नो घरमा नभएपनि छरछिमेक र आफन्तमा वातावरण त्यस्तै भएको बताए । आफैले गरेर वा अरुबाट सिकेर कुलतमा लागेको अनुमान छ । गाउँमा बालबालिकालाई सानैमा विवाहसँग दाँज्ने चलन देखियो । अलिकति चेत पाउने भयो नै बुहारी, दुलही, सम्धि–सम्धिनी बनाउने लगायतका कुरा बालबालिकासँग सबैले गर्ने देखियो । त्यो कुरा उनीहरुको दिमागमा छाप बसेर बेहुला बेहुली बनाउन शुरु गर्ने । यौनाङ्गको विकास हुनेबित्तिकै विवाह र यौनतिर आकर्षित हुने बालविवाह गर्ने अवस्था देखियो । बालबालिकालाई कतातिर केन्द्रित गराउँदैछौं ? उनीहरुको ऊर्जा उत्साहलाई कसरी उपयोग वा दुरुपयोग हुने वातावरण तयार गरेका छौं एकपटक सोच्नैपर्ने विषय बनेको छ । मेरो बिग्रियो सपार्छु होइन कि सेरोफेरोका वातावरण कस्तो बनाउने ? अबको चिन्ता यसरी गर्नुपर्छ ।

बालमैत्री स्थानीय शासन भएको गाविस घोषणा गर्न २७ वटा सुचक पूरा गरेको हुनुपर्छ । त्यसको बारेमा गहन छलफल गर्दा धेरै कुरा पूरा भएको जस्तो गर्छन् । अगुवाहरुलाई आफ्नो गाविस राम्रो लाग्नु अनौठो होइन । तर, आमा र बच्चालाई भोगाइको बारेमा थाहा हुन्छ । उनीहरुलाई सोधेर ल्याउन भनी गाउँमा पठाउँदा निरास भएर आए । जवाफ पाए बच्चालाई आटो, भैंसीको दुध, चामलको लिटो खुवाउने गरेको रहेछ । जबकि ६ महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्छ । सुत्केरी भएपछि वा अघि अस्पताल जाने चलनै छैन । नियमित चारपटक सुत्केरी हुनुअघि जाँच गराएको हुनुपर्छ । अधिकांशले घरमै बच्चा जन्माएको, जाँच गराउन र कुरा गर्न लाज मानेको जस्ता कुरा राखेका थिए । बच्चालाई जन्मदर्ता गराउने काम अभियानकै रुपमा लैजानुपर्ने बताए, त्यो पनि योजना बनाउँदा पाश्र्वचित्र चाहिने र त्यहीअनुसार लगानी गरिने भने पछि मात्रै । विद्यालय टाढा भएकाले ५ वर्ष उमेर पुग्दासम्म बच्चालाई पढाउन नसकिएको, विद्यालयमा व्यवस्थित शौचालय नभएको जस्ता कुरा गाविसका समस्याका रुपमा देखिए । एउटा बाटो बनाउँदा जति सजिलरी हिड्न सकिन्छ त्योभन्दा कम विद्यालयको पठनयोग्य वातावरण हुन सक्दैन । सही शिक्षा दिन सके भोलि अझ नयाँ तरिकाले सजिला बाटा बन्नेछन् । त्यो भविष्यलाई ख्याल नगरी शिक्षा क्षेत्रमा लगानी गर्न कञ्जुस्याई गर्नुहुन्न ।

कतिले श्रीमतीसँग विवाह गरेको ४ महिना पुग्दा पनि नबोलेको स्मरण गर्दै किन होला भनि कारण सोधें । बच्चाको उँचाइ जति छ त्यति निहुरिएर बोल्दा खुलेर कुरा गर्र्छ भनेर उदाहरण दिदा सहमत भएँ । खाना खानुअघि, खाएपछि, शौचालय गएपछि साबुनपानीले हात धुने पनि भेटिएनन् । बंगलामुखी बोर्डिङबाहेक कुनै पनि विद्यालयमा शुक्रबारे अतिरिक्त क्रियाकलाप नहुने गरेको थाहा भयो । भने बाल क्लव पनि विद्यालयहरुमा कतै गठन नगरिएको जानकारी दिए भने जाँडरक्सी खाएर विद्यालय आउने, विद्यार्थीको अगाडि चुरोट, सुर्ती, खैनी खाने लगायतका समस्या रहेको थाहा भयो । त्यसका लागि बाल क्लव गठन गरेर तालिम दिए हल हुने आशा गरे । नराम्रोका विरुद्धमा उभिने चेतना लोहारपानीका बासिन्दाको छ । अधिकांश गाउँहरुमा यही अवस्था देखिन्छ । तर परिणाममा पछुताउने तरीका नअपनाउने चलनले सबै कुरा बर्बाद भएको हुन्छ । अबका दिनमा विधि÷पद्धतिमा जान सक्नुपर्छ र कारण खोतल्नुपर्छ । त्यसपछि मात्रै सुटुक्कै पोइल जाने र कुलतमा फस्ने वातावरणको अन्त हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *