जनताबिनाको क्रान्ति

  
  प्रकाशित मितिः आइतवार, अशोज १४, २०६९       | 95 Views   ||

-[गणेश ओली]

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको छ दशक भएको छ । यति लामो अवधिमा नेपाल र नेपालीका लागि कम्युनिष्ट आन्दोलनले के दियो ? आन्दोलन किन सफल हुन सकेन ? नेपाली जनताको मनमा यस्ता जिज्ञासा जबरजस्ती रुपमा उठ्न थालेका छन् । कति इमान्दार कम्युनिष्टहरु त अब हामीले भन्ने गरेको दिन आउँदैन कि क्या हो भन्दै निरास पनि देखिन्छन । अनेक टुक्रामा विभाजित पार्टीहरु देश र जनतालाई बदल्ने भन्दा एकले अर्कोलाई गाली गर्नमा नै व्यस्त देखिन्छन् । यही सन्दर्भमा भएका पार्टीलाई कसरी क्रान्तिकारी बनाउने, जनतालाई यो आन्दोलनमा कसरी एकाकार गर्ने र देशलाई सोचेअनुसार बदल्ने भन्ने कुरा अबको बहसको विषय बन्न जरुरी छ । एकतामा हैन टुक्रामा बल देख्ने, जनतालाई हैन व्यक्तिलाई पार्टी देख्ने र क्रान्ति गर्ने हैन कुरा गर्ने नेपाली कम्युनिष्ट आन्दोलनका पात्रहरुको प्रवृत्तिले गर्दा छ दशकको अवधिसम्म पनि खासै उपलब्धि हाँसिल गर्न सकिएन ।

यति लामो अवधिमा नेपाली क्रान्तिलाई सम्पन्न गर्ने सन्दर्भमा विभिन्न जोडकोणबाट बहस, वादविवाद र छलफल भइरहेका छन् । तर नेपाली क्रान्तिलाई सम्पन्न गर्ने सार्वभौम सिद्धान्त र योजना देशले पाउन सकेन । कसैले प्रयत्न गरे तर सहकर्मीकै गद्धारी, पद प्रतिष्ठाको भोक, विवेक हैन आवेग, आग्रहका कारण सफलता प्राप्त हुन सकेन । पार्टीमा इमान्दारहरु पछाडि पर्ने र खराबहरुले नेतृत्व गर्दा कम्युनिष्ट आन्दोलन मूलधार भएर पनि सधै पछाडि प¥यो । नेपाली कम्युनिष्ट आन्दोलनको बारे लामो अध्ययन गरेका डा. सुरेन्द्र केसी नेपाली क्रान्ति सम्पन्न नहुनुको एउटा सटिक जवाफ दिएका छन् । उनको भनाई छ– ‘नेपाली कम्युनिष्ट आन्दोलनले लक्ष्य नचुम्नुमा नेपाली नेताहरु सर्वहारा वर्गका नभएर मध्यम वर्गका भएकाले नै हो ।’ यसबाट के निष्कर्षमा पुग्न सकिन्छ भने क्रान्तिको केन्द्रविन्दु जनता हैन आफुलाई बनाउने प्रवृत्ति नै मूल प्रवृत्ति रह्यो । म नेता भए र मैले भनेको भएपछि क्रान्ति पनि ठीक पार्टी पनि ठीक म नेता नभए र मैले भनेको नभए क्रान्ति पनि बेठिक पार्टी पनि बेठिक भन्ने प्रवृत्ति हावी भयो । के एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतालाई क्रान्तिभन्दा पद र आफ्नो नीति मात्र ठीक लाग्ने कुरा कतै सही हुन्छ ? एउटा वैज्ञानिक नीति र योजना बनाउने नेतालाई आफ्नो विचारमात्रै सार्वभौम हुन्छ भन्नु सही हुन्छ ? मेरो वरिपरि मात्रै सबै घुम्नुपर्छ र मैले र मेरा आफन्तले मात्रै पद पाउनुपर्छ तथा आफ्नो विचार मात्र सही ठान्दै लाद्ने प्रवृत्ति नै नेपाली क्रान्तिको समस्या हो । देश र जनताको मुक्तिको कुरा गर्ने नेताका लागि म कुन पदमा छु हैन मैले क्रान्तिका निम्ति के गरिरहेको छु, मैले के ठान्छु हैन जनताले के सोचिरहेका छन्, मैले एक्लै गरिरहेको छु कि मेरो साथमा जनता पनि छ, भावना र आवेगले के ठान्छ हैन विवेक र विज्ञानले के सही ठान्छ भन्ने कुरा सोच्न जरुरी छ ।

वास्तवमा नेपाली जनता सधैं क्रान्तिका लागि आत्मगतरुपमा नै तयार देखिए । तर, नेपाली नेताले कहिल्यै त्यो कुरा बुझेनन् । त्यो कुरा हामी २००७, २०३५, २०४६ वा २०५२ देखि २०६२ सम्म देख्न सक्छौं । बरु नेपाली जनताको नाम बेचेर रायमाझी र मोहनविक्रम सिंहहरु जन्मिरहे निरन्तर–निरन्तर । यी दुइजना नेपाली कम्युनिष्ट आन्दोलनका पात्रमात्र हैनन् प्रवृत्ति पनि हुन् । नेपाली क्रान्ति सम्पन्न नहुनुमा यो प्रवृत्ति नै मुख्य कमजोरी हो । झापा आन्दोलन र सेक्टरकाण्ड नेपाली क्रान्तिको अर्को प्रवृत्ति हो । झापा आन्दोलनमा नेपाली जनता जीवन बलिदान गर्न तयार भए तर केपी ओलीहरु आन्दोलन शुरु गरे, क्रान्तिलाई बीचैमा छाडेर भागे भने नेकपा मशालका तत्कालिन महासचिव मोहन वैद्यले काठमाडौंका प्रहरी पोष्टहरुमा जथाभाबी आक्रमण गर्न कार्यकर्तालाई निर्देशन दिए । बिनातयारी र जनताको आदेशबिना नै गरिएको यस आन्दोलनका कारण थुप्रै इमान्दार कार्यकर्ता अनावश्यक जेलनेलमा जानुप¥यो । कुरा क्रान्तिकारी गर्ने आन्दोलनका बेला भाग्ने वा आन्दोलनको नाममा परिस्थिति नबुझेर हामफाल्ने यो प्रवृत्तिबाट पनि हामीले पाठ सिक्न जरुरी छ । पात्र फरक–फरक होलान् वा उनै पनि होलान् तर नेपाली क्रान्तिलाई अगाडि बढाउन कस्ता–कस्ता बहस र छलफल भएका छन् ? यसको समीक्षा गरेर अझ अगाडि बढ्न जरुरी छ । कुरा क्रान्तिका गर्ने काम दक्षिणपन्थी गर्ने, लेनिन, माओ, पुष्पलालको समीक्षा गर्ने तर आफूले टेकेको धरातल बिर्सने यसरी पनि कतै क्रान्ति हुन्छ ? क्रान्ति त जिम्मेवारी पूरा गरेर हुन्छ । भएको पार्टीलाई मजबुत बनाएर हुन्छ । पार्टीमा रहेका खराबीका विरुद्ध लडेर हुन्छ । विचारबाट व्यवहार र व्यवहारबाट विचार निर्माण गरेर क्रान्ति हुन्छ ।

एकीकृत नेकपा माओवादीको विभाजनपश्चात् नेकपा–माओवादीमा विचारको खाडल देखिन्छ । उनीहरुमा फुटवादी मानसिकता देखिन्छ । पद र पैसाको लोभ देखिन्छ । कुरा सुन्दा जति जायज लाग्छन् व्यवहारमा त्यो इमान्दारीता पटक्कै भेटिदैन । कुरा गर्ने र काम गर्ने फरक कार्य हुन् । भएको पार्टीमा सानातिना खराबीविरुद्ध भाग्ने तर देशमा भएका सम्पूर्ण खराबीका विरुद्ध क्रान्ति गर्छौं भन्ने कुरा पनि कही सही हुन्छ । हिजो दिएका जिम्मेवारी पूरा नगर्ने आज नयाँ जिम्मेवारी बोक्न तयार छौं भन्न सुहाउँछ ? विचार पनि मैले भनेजस्तो हुनुपर्छ, जिम्मेवारी पनि मैले भनेको पदमा, ठाउँमा हुनुपर्छ भन्ने पनि कतै सुहाउँछ ? क्रान्तिप्रति इमान्दार त्यो हो पार्टीले दिएको कार्वाहीको जिम्मेवारी पनि सहर्ष स्वीकार गरेर पार्टी र क्रान्तिकै लागि काम गर्छ । पार्टी फुटमा हैन एकतामा विश्वास गर्छ । आफ्ना वरिपरिका मात्र हैन आमजनतामा विश्वास गर्छ । व्यक्तिगत र आफुलाई लागेको हैन समूह वैज्ञानिक विचार लागू गर्छ । आग्रह पूर्वाग्रहबाट हैन इमान्दारीतापूर्वक खराबीका विरुद्ध लड्छ । अहिले वैद्य नेतृत्वको माओवादी पार्टीको नेतृत्वमा यो खराबी भएपनि तल्ला तहका नेताहरु क्रान्तिप्रति इमान्दार देखिन्छन् तर मूल नै खराब भएपछि कसरी क्रान्ति सम्पन्न होला ? त्यसकारण त्यो आग्रह पूर्वाग्रहपूर्ण विचार राख्ने नेतृत्वबाट क्रान्ति कदापि सम्पन्न हुन सक्दैन त्यसैले त्यहाँ क्रान्तिप्रति हैन पदमा बहस हुन्छ । नेपाली क्रान्तिलाई भावना, आवेग, विभाजन वा यथास्थितिमा होइन ठोस परिस्थितिको ठोस विश्लेषणबाट आउने विचार, वस्तुगत आधार र एकताबाट मात्र सम्भव छ । हरेक एक दुइमा विभाजित हुन्छ भन्ने कुरा बुझेर पनि पार्टीमा एकमनावाद खोज्न सम्भव छ ? असम्भव कुरा खोजेर पाइन्छ ? त्यसैले पार्टी फुटाल्नेहरु कति अवैज्ञानिक छन् भन्ने कुरा पुष्टि हुन्छ । पार्टी फुटालेर एकमनावादी एकता कायम गर्न सकिन्छ ? सकिन्छ भने पनि द्वन्द्ववादी त भएन नि ? यदि त्यसो हो भने किन पार्टी फुटालेको त ? यसको जवाफ उनीहरुसँग छैन । अहिले पनि पार्टीका खराबीविरुद्ध एउटा इमान्दार र क्रान्तिकारी समूह लडिरहेकै छ । त्यो समूहले एकताको नाममा एकमनावादी एकता पनि होइन संघर्षको नाममा विभाजन पनि होइन द्वन्द्ववादी तरिका अपनाएको छ ।

नेपाली क्रान्ति सम्पन्न गर्ने सवालमा जनयुद्धकै बीचमा प्रचण्डले एउटा सटिक जवाफ दिएका छन्– ‘क्रान्ति सरल रेखामा हैन बक्ररेखामा अगाडि बढ्छ ।’ यसलाई कसले कति बुझे ? २०४८ सालको संसदीय निर्वाचनको प्रयोग, २०५२ सालमा जनयुद्धमा जाने निर्णय, २०५७ साल, २०६२ को चुनवाङ बैठक हुँदै हालसम्म आउँदा गरिएका प्रयास, पहलकदमी र योजना निर्माणले उहाँको त्यो सरल र बक्ररेखाको वैज्ञानिकता पुष्टि गरेको छ । क्रान्तिको बाँकी काम पनि त्यसरी नै पूरा हुन्छ । तर अरुका क्रान्तिका रेखाहरु हे¥यो भने कुरा बक्ररेखाजस्ता तर काम सरल रेखामा बगिरहेका छन् । यसको अर्थ हो– काम कुरा जे भएपनि कार्य निरन्तर दक्षिणपन्थ हुन्छ । त्यो चाहे उग्रवामपन्थका नाममा होस वा दक्षिणपन्थका नाममा ।

वैज्ञानिक योजनासहित जनतामा आधारित क्रान्ति गर्ने बेला फुटले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सहयोग गर्दैन । सम्पूर्ण जनतालाई पार्टीमा एकाकार गर्दै सिङ्गो मुलुकले गर्ने सर्वहाराकृत नेतृत्वसहितको क्रान्ति आजको आवश्यकता हो । त्यसैले फुट हैन एकता, आफ्ना वरिपरिका हैन सम्पूर्ण जनता, आफ्नो मनबाट हैन महाधिवेशनबाट पारित वैज्ञानिक विचारसहितको क्रान्तिको पक्षमा सबैले बहस थालौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *