आत्मनिर्भर बन्दै पूर्वजनसेना

  
  प्रकाशित मितिः आइतवार, अशोज १४, २०६९       | 130 Views   ||

-[जनक नेपाली]

दाङ, असोज १३ । बिहानको करिब साढे सात बजेको थियो, चुल्होमा रोटी पकाउन व्यस्त हुनुहुन्थ्यो उहाँ । होटलमा चिया नास्ता खान आउने मानिस कसैले चिया माग्दै थिए त कसैले पानी । तर, सबैलाई पु¥याउन हम्मे–हम्मे परेको थियो उहाँलाई । सल्यान चाँदे–३ का प्रकाश चलाउने ‘आक्रोश’ आजभोलि यस्तै व्यस्त जीवन बिताइरहनुभएको छ ।

पाँच वर्षको शिविर बसाइपछि स्वेच्छिक अवकासमा निस्केका प्रकाश अहिले होटल खोलेर आयआर्जनको बाटोमा लाग्नुभएको छ । गण्डक अभियान सकिएपछि दाङ, रोल्पा, प्यूठान हुँदै सल्यानको गढिज्युला भएको डिभिजन भेलाले कार्यक्षेत्र बाँडफाँड गरेपछि आफू ज्वार स्मृति ब्रिगेडमा बसेको उहाँले बताउनुभयो ।

२०६३ मंसिर १ देखि पाँचौ डिभिजन मुख्यालय दहवनमा बस्नुभएका उहाँ पाँच वर्षको शिविर बसाई र त्यसअघिका युद्धयात्राका करिब दुई वर्षमा थुप्रै अनुभूति संगालेको बताउनुहुन्छ । ‘जनयुद्धका दौरानमा थुप्रै दुःख, कठीनाई झेलियो, रमाइला क्षणहरु पनि बिताइयो, उहाँले भन्नुभयो– ‘शिविरमा बसिसकेपछि पनि वर्षा, हिउँदका कठीन दिनरात पनि गुजारियो तर सानो प्राविधिक कारणले सैन्य क्षेत्रबाटै नेपाल र नेपाली जनताको सेवा गर्ने रहर पूरा भएन ।’

मार्कसिट र प्रमाणिकरण गर्दाको परिचयपत्रका जन्ममिति फरक परेपछि समायोजनमा जान नपाइने भएकाले स्वेच्छिक अवकाशमा निस्किएको प्रकाशले बताउनुभयो । आफूसँगै श्रीमती सुशीला पनि अवकाशमा निस्किएको र अवकाशका निस्किदा पहिलो किस्ताबापतको श्रीमान्श्री/मतीले पाएको रकम लगानी गरेर घोराहीमा सानो होटल सञ्चालन गरेको उहाँले बताउनुभयो ।

श्रीमती, छोरी, आफू गरी तीन जनाको परिवार मासिक ६ सय कोठा भाडा तिरेर बजार नजिकै बस्दै आएको भन्दै उहाँले होटल सञ्चालनबाट सामान्य दैनिकी चलिरहेको बताउनुभयो । ‘करिब तीन महिना भयो, दैनिक १२÷१५ सय कमाई हुने भएपनि महंगीका कारण समस्या परिरहेको छ, उहाँले भन्नुभयो । जनसेना बनेर गरीब जनताको सेवा गर्ने इच्छा भएपनि सम्झौताअनुसार आफ्नो उमेरमा समस्या देखिएको र समायोजन पनि सम्मानजनक नभएपछि आफू अवकासमा आएको चलाउनेको भनाई छ । ‘धेरै पढिएको छैन, जीवन चलाउने हो, केही न केही त गर्नैप¥यो नि ।’ उहाँले भन्नुभयो ।

महिला संगठनमा काम गर्दागर्दै जनसेनमा भर्ती भएकी हापुर–१ कात्तिकेकी सुशीलाको शिविरमै प्रकाशसँग चिनजान भएपछि २०६६ मा विवाह भएको थियो । छोरी सानो भएकाले स्वेच्छिक अवकासमा निस्किनुपरेको सुशीलाले बताउनुभयो । शिविरबाट निस्किदा पाएको पैसाले होटलमा लगानी गर्नुका साथै गाउँतिर सानो घडेरी पनि किनेको सुशीलाको भनाई छ । ‘घरमा गएर कृषि व्यवसायमा जोडिनुभन्दा बजारमै होटल व्यवसाय गर्न सहज लागेकाले घोराहीमै बसेको प्रकाशले बताउनुभयो । ‘अब त छोरी पनि स्कूल जाने भइसकी, यसको पढाइ पनि हुने, व्यापार व्यवसाय पनि हुने भो, उहाँले भन्नुभयो– त्यसैले बजार नै रोजियो ।

प्रकाश र सुशीला दम्पत्तीमात्र होइन रोल्पा पाछावाङका हरि परियार र उहाँका भाई गोविन्द परियारले पनि घोराही–१० मिलनचोकमा रेष्टुरेण्ट सञ्चालन गर्नुभएको छ । मंगलसेन स्मृति ब्रिगेडमा कार्यरत दुवै दाजुभाइले तीन लाख ३५ हजारको लागतमा रेष्टुरेण्ट सञ्चालन गरेको गोविन्दले बताउनुभयो । अवकाशमा निस्केपछि घरपरिवारले विदेश जान कर गरेपनि आफ्नै देशमा केही गर्नुपर्छ भनेर रेष्टुरेण्ट सञ्चालन गरेको गोविन्दको भनाई छ ।

समायोजनमा जान इच्छा भएपनि परिचयपत्र र शैक्षिक प्रमाणपत्र, नागरिकतामा जन्ममिति फरक परेपछि अवकासमा निस्किएको गोविन्दको भनाई छ । रेष्टुरेण्ट सञ्चालन गरेर राम्रो आम्दानी गरेका गोविन्दका दाजुभाईले घरपरिवारको भरण पोषणमा सहयोग गरिरहेका छन् । उसो त प्रकाश दम्पत्ती र गोविन्दका दाजुभाइजस्तै थुप्रै पूर्वजनसेनाहरु अहिले जिल्लाका विभिन्न स्थानमा कुनै न कुनै व्यवसाय गरेर आत्मनिर्भरताको बाटोमा लागिरहेका छन् । जीवनयापनको लागि नभई नहुने आर्थिक आम्दानीका लागि उनीहरु सिर्जनशील काममा लागेका छन् । उनीहरुले सरकारले उपलब्ध गराउने भनेको दोस्रो किस्ताको रकम छिटो निकासा गरिदिएमा सहज हुने भन्दै बाँकी रकम उपलब्ध गराइदिन मागसमेत गरेका छन् ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *