आमा सुरक्षा सम्बन्धी अभिमुखीकरण

  
  प्रकाशित मितिः सोमवार, अशोज २२, २०६९       | 110 Views   ||

दाङ, असोज २२ । गर्भवती महिलालाई सुरक्षित प्रसूति सेवाको पहुँचसम्म पु¥याएर आमा तथा नवशिशु मृत्यूदर घटाउने उद्देश्यले सञ्चालित ‘आमा सुरक्षा कार्यक्रम’ बारे एक दिने अभिमुखीकरण कार्यक्रम सोमबार घोराहीमा सम्पन्न गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङको आयोजना तथा युनिसेफको आर्थिक सहयोगमा आमा सुरक्षासम्बन्धी जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

अनौपचारिकरुपमा सञ्चालन गरिएको कार्यक्रममा विषय प्रवेश गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय दाङका परिवार नियोजन अधिकृत किशोर आचार्यले गर्भवती भएदेखि, प्रसूतिको अवस्था र सुत्केरी भइसकेपछिको ४२ दिनसम्मको अवस्था आमा सुरक्षा कार्यक्रमभित्र पर्ने जानकारी दिनुभयो । आमा सुरक्षा कार्यक्रमले आमा तथा नवजात शिशुको जीवन रक्षाका लागि निकै महत्वपूर्ण भएको चर्चा गर्दै आम सर्वसाधारणलाई सुरक्षित प्रसूति सेवाका लागि जनचेतना जगाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । आमा सुरक्षा कार्यक्रमअन्तर्गत अहिले दाङका विभिन्न ३० वटा स्वास्थ्य संस्थाबाट २४ घण्टे प्रसूति सेवा (वर्थिङ सेन्टर) दिइरहेको भन्दै आचार्यले चालू आर्थिक वर्षमै गोलटाकुरी, हाँसिपुर, हापुर, ढिकपुर र सोनपुर उपस्वास्थ्यचौकीमा पनि वर्थिङ सेन्टर स्थापना गर्नका लागि प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स अधिकृत चनु श्रेष्ठले नेपालमा सुरक्षित मातृत्व कार्यक्रम, विद्यमान राष्ट्रिय तथा जिल्लाको स्थिति र आमा सुरक्षा कार्यक्रमका विषयमा जानकारी दिनुभएको थियो । जिल्लामा सुरक्षित मातृत्वका लागि लागि विभिन्न स्वास्थ्य संघसंस्थाहरुबाट गाउँघर क्लिनिक, २४ घण्टे प्रसूति सेवा (वर्थिङ सेन्टर), परिवार नियोजन सेवा, जिल्लाका प्रत्येक गाविस र वडाहरुमा निगरानी समूह, जीवन सुरक्षा कार्यक्रम, समुदायमा आधारित मातृ तथा नवजात शिशु स्वास्थ्य, सुरक्षित गर्भपतन सेवाजस्ता कार्यक्रमहरु सञ्चालन गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

अभिमुखीकरण कार्यक्रममा अधिकृत श्रेष्ठले आर्थिक वर्ष ०६७÷६८ भन्दा आर्थिक वर्ष ०६८÷६९ मा दाङमा मातृ तथा शिशु मृत्यु बढेको बताउनुभयो । उहाँका अनुसार आ.व. ०६७÷६८ मा मातृ मृत्यु शून्य रहेको र बाल मृत्युदर ३२ रहेकोमा आ.व. ०६८÷६९ मा ३ आमा र ३८ नवजात शिशुको मृत्यु भएको थियो । धेरै नवजात शिशु मर्ने देशहरुको सूचिमा नेपाल तेस्रो स्थानमा पर्ने भन्दै श्रेष्ठले ५ वर्षमुनिका बच्चाहरुको मृत्युमध्ये आधाभन्दा बढी जन्मेको एकहप्ताभित्रै मर्ने गरेको बताउनुभयो । मातृ तथा शिशु मृत्युदर न्यून गर्न सरकारले आमा सुरक्षा कार्यक्रममा स्वास्थ्य संस्थामा आई प्रसूति गराउने महिलालाई हिमाली जिल्लाहरुमा १५ सय, पहाडी जिल्लाहरुमा एक हजार र तराईका जिल्लाहरुमा ५ सय रुपैयाँ प्रोत्साहनस्वरुप दिइरहेको श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, एक जना महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी गराएवापत सम्बन्धित स्वास्थ्य संस्थालाई सामान्य प्रसूति सेवावापत एक हजार, जटील अवस्थामा तीन हजार र शल्यक्रियाबाट प्रसूति गराएमा सात हजार रुपैयाँ प्रोत्साहनस्वरुप निःशुल्क संस्थागत प्रतिइकाई रकम दिदै आएको पनि बताउनुभयो । गर्भवती महिला, नवजात शिशुको मृत्युदर घटाउन सेवाग्राही महिला र सेवा प्रदायक स्वास्थ्य संस्थालाई अभिप्रेरित गर्न सरकारले प्रोत्साहन रकम दिएको उहाँको भनाई थियो ।

जिल्लाका विभिन्न उप–स्वास्थ्यचौकीका प्रमुख तथा स्वास्थ्यसंस्थाकै व्यवस्थापन समितिका प्रतिनिधिहरुको सहभागिता रहेको अभिमुखीकरण तालिमको सहजीकरण गीता आचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *