क्रान्तिकारी पत्रकार संघ बाँकेको अध्यक्षमा वाग्ले

  
  प्रकाशित मितिः सोमवार, अशोज २२, २०६९       | 95 Views   ||

बाँके, असोज २२ । क्रान्तिकारी पत्रकार संघ बाँकेको दोस्रो जिल्ला सम्मेलनले प्रदीप वाग्लेको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार नेपालगञ्जमा सम्पन्न संघको सम्मेलनले उपाध्यक्षमा राधेश्याम चौधरी र सन्तोष काफ्ले, सचिवमा हेमन्त चौधरी र कोषाध्यक्षमा विद्या चौधरीलाई चयन गरेको हो ।

सम्मेलनको उद्घाटन क्रान्तिकारी पत्रकार संघका राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक गोविन्द आचार्यले गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक आचार्यले क्रान्तिकारी पत्रकार संघलाई श्रमजीवी पत्रकारको साझा संगठन बनाउने बताउनुभयो । उहाँले आफ्नो संगठनले श्रमजीवी पत्रकारका ऐन कार्यान्वयनका लागि पहल गरिरहेको बताउनुभयो ।

विशिष्ट एकीकृत नेकपा माओवादी महाधिवेशन आयोजक समिति सदस्य महेश्वर गहतराज ‘अथक’ले श्रमजीवी जनताको जनजिविका र राष्ट्रियताका पक्षमा कलम चलाउन आग्रह गर्नुभयो । सम्मेलनमा क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सल्लाहकार नरेन्द्रजंग पिटर, थारुवान राज्य संयोजक अजयदीप शर्मा, नेपाल पत्रकार महाँसंघ बाँकेका अध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस युनियनका अध्यक्ष नरेन्द्र थापा, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य तुला अधिकारीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । सम्मेलनले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्नुपर्ने, कोहलपुरमा रहेको नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण केन्द्र छिट्टै सञ्चालनमा ल्याउन पहल गर्न सम्बन्धित पक्षसँग मागसहितको ८ बुँदे घोषणापत्रसमेत जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *