वर्गविभेदलाई शिक्षाले झनै उक्सायो : मल्ल

  
  प्रकाशित मितिः मङ्लबार, अशोज २३, २०६९       | 107 Views   ||

मनिषा श्रेष्ठ
रोल्पा, असोज २३ । एकीकृत माओवादीनिकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रमेशले मल्लले विद्यमान वर्गविभेदलाई अहिलेको शिक्षाले झनै प्रोत्साहन दिएको बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ, नेपाल रोल्पाले मंगलबार लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मल्लले सरकारी र निजी शिक्षाले नेपालीहरु झन्–झन् वर्गविभेदतिर फस्दै गइरहेको भन्दै त्यसको अन्त्यको लागि सार्वजनिक शिक्षामा स्तरवृद्धिको आवश्यकता औल्याउनुभयो । शिक्षा क्षेत्रमा निजीकरण र व्यापारीकरणको अन्त्य हुनुपर्ने कुरामा मल्लले जोड दिनुभयो ।

सरकारी र निजी विद्यालयबाट असमान शिक्षा प्राप्त गरी उच्च शिक्षामा समान प्रतिस्पर्धा गराउँदा सरकारी विद्यालयबाट जाने विद्यार्थी स्वतः पछि पर्ने भन्दै उपाध्यक्ष मल्लले असमान शिक्षा समान प्रतिस्पर्धाको विरुद्धमा अखिल क्रान्तिकारीले आन्दोलन जारी राखेको स्पष्ट पार्नुभयो । सरकारी विद्यालयको विकल्प निजी स्कुल नभई सरकारी विद्यालय नै हुनुपर्ने उहाँको भनाई थियो । पत्रकारहरुको एक जिज्ञासामा उपाध्यक्ष मल्लले अखिल क्रान्तिकारी अझै एउटै भएको दावीसमेत गर्नुभयो । उहाँले नेकपा माओवादीको विचार पुरानै भएकाले उ नयाँ पार्टी नभई पुरानै पार्टी भएको बताउनुभयो । क्रान्तिकारी पत्रकार संघ रोल्पाका अध्यक्ष मनिषा श्रेष्ठको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सचिव पूणसिंह विकले गर्नुभएको थियो ।

यसैबीच अखिल क्रान्तिकारी रोल्पाको २० औँ जिल्ला सम्मेलनले वीरबहादुर घर्तीमगरको अध्यक्षतामा २ पछि थप्ने गरी ५१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिका पदाधिकारीहरुमा उपाध्यक्ष बमकुमारी रोका, सचिव घनी घर्तीमगर, सहसचिव विक्रम बुढा र किरण वली एवम् कोषाध्यक्ष डोरबहादुर पुन रहनुभएको छ । मंगलबार सदरमुकाम लिवाङस्थित बालकल्याण उमाविको प्राङ्गणमा संगठनका केन्द्रीय उपाध्यक्ष रमेश मल्लले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा एकीकृत नेकपा माओवादी रोल्पा क्षेत्र नं २ सम्मेलन आयोजक समितिका संयोजक निमकान्त डाँगी ‘जितजंग’, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा मगराँत राज्यसमिति संयोजक तिलकराज भण्डारीले संगठनात्मक तथा पार्टी योजनाबारे प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *