ब्लडक्यान्सरपीडित बस्नेतलाई ५० हजार सहयोग

  
  प्रकाशित मितिः शुक्रबार, अशोज २६, २०६९       | 117 Views   ||

घोराहीका ब्लडक्यान्सरपीडित खिमबहादुर बस्नेतलाई ५० हजार रुपैयाँ हस्तान्तरण गर्दै सल्यान–प्रवास सेवा समाज सल्यानका सचिव पूर्ण बुढाथोकी । उक्त रकम सल्यान–प्रवास सेवा समाज मलेसिया शाखाले संकलन गरि पठाएको हो । तस्वीर : उदय जीएम 

जनउभार समाचारदाता
दाङ, असोज २६ । विगत दुई वर्षदेखि ब्लडक्यान्सरबाट पीडित दाङ घोराहीका खिमबहादुर बस्नेतलाई मलेसियामा रहेका नेपालीहरुले पचास हजार रुपैयाँ सहयोग गरेका छन् । सल्यान–प्रवास सेवा समाज मलेसिया शाखाको पहलमा संकलन गरिएको उक्त रकम शुक्रबार घोराहीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी बस्नेतलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सल्यान–प्रवास सेवा समाज सल्यानका सचिव पूर्ण बुढाथोकीले उक्त रकम ब्लडक्यान्सरपीडित घोराही–११, काठेकोहल निबासी खिमबहादुर बस्नेत र आमा पबी बस्नेतलाई हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सचिव बुढाथोकीले रोजगारीको सिलसिलामा विदेशमा रहेपनि मनभित्र नेपालीपन हुने जोसुकैले आफ्नो गाउँ, ठाउँ र देशलाई भुल्न नसक्ने बताउनुभयो । खाडी मुलुकहरुमा नेपाली मजदूरहरुले थुप्रै संघ, संगठनहरु खोलेको चर्चा गर्दै उहाँले समस्याहरुसँग जुध्न आफूहरुले पनि तीन वर्षपहिले सल्यान–प्रवास सेवा समाज खोलेको बताउनुभयो । आफूहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत् ब्लडक्यान्सरपीडित दाङ घोराहीका खिमबहादुर बस्नेतको अपील देखेपछि समाजमा आवद्ध साथीहरुले आफ्नो तलब कटाएर सहयोग जुटाएको बताउनुभयो । केही समयपहिले जनउभारकर्मी डिल्ली मल्लले ब्लडक्यान्सरपीडित खिमबहादुर बस्नेतलाई सहयोग गर्न भन्दै अपील पोष्ट गर्नुभएको थियो ।

सहयोग जुटाउनका लागि सल्यान घर भई हाल मलेसियामा रहनुभएका समाजका संस्थापक अध्यक्ष शान्तकुमार पुन, अध्यक्ष टेकम चन्द ठकुरी, लोकराज भण्डारी, हुर्मत डिसी, रामबहादुर ओली, तुल्सी थापा, कलिराम घर्ती, दिलबहादुर केसी, घनश्याम पुन, टोपेन्द्र भण्डारी, लालबहादुर महतरा, डिल्लीबहादुर बोहरा, बसन्त मल्ल, केशर ओली, भुपेन्द्र बुढाथोकी, चिरनबाबु रावत, नरेश सुनुवारलगायतले महत्वपूर्ण भूमिका निभाएको बुढाथोकीले बताउनुभयो । त्यस्तै, संखुवासभाका सुशील योगी, दाङका मानबहादुर विक, लालबहादुर चौधरी र प्रवीण कँवरले पनि सक्रिय भूमिका निर्वाह गरेको र मलेसियाबाट प्रकाशित नेपाल खबर, नेपाल पृष्ठभूमि, प्रवासी सन्देश र श्रम साप्ताहिकले पनि निःशुल्क विज्ञापन र सूचना सम्प्रेषण गरी सहयोग जुटाउने अभियानलाई सघाएको उहाँले बताउनुभयो ।

बुढाथोकीका अनुसार यसअघि सल्यान–प्रवास सेवा समाज मलेसिया शाखाले रोजगारीकै सिलसिलामा मलेसियामा ज्यान गुमाएका थारमारे–५ का खुमराज डिसी, स्यानीखाल–४ का रुद्रबहादुर केसी, स्वीकोट–८ का डिल्ली राना र छायाक्षेत्र–९ का हेमलाल घर्तीका परिवारलाई २०/२० हजार रुपैयाँका दरले सहयोग गरेको थियो । त्यस्तै, ढाकाडाम–२ का अजित सुनुवार, लेखपोखरा–९ का केशर बुढाथोकी, कालिमाटी–५ का देवराज भण्डारी, छायाक्षेत्र–७ का इश्वरी राना, झिम्पे–४ का ताराप्रसाद खड्का र बडागाउँका धनबहादुर पुनका परिवारलाई १०/१० हजार रुपैयाँ सहयोग गरेका थियो ।

त्यस्तै, दुवै मृगौलाले काम गर्न छोडेका झिम्पेका गुरुप्रसाद घर्तीलाई नगद ५० हजार रुपैयाँ, धनबहादुर पुनलाई १० हजार रुपैयाँ, रोजगारीकै सिलसिलामा मलेसियामा घाइते भएका कालीमाटी रामपुरका प्रेमबहादुर पुनलाई १० हजार चार सय रुपैयाँ सहयोग गरेको सचिव बुढाथोकीले जानकारी दिनुभयो । समाजले पहिरोबाट बाआमा गुमाएका सिनवाङका दुई बालकलाई पठनपाठनका लागि भनेर पाँच हजार रुपैयाँ सहयोग गर्नुका साथै मलेसियाको जेलमा परेका ४ जनालाई छुटाएर हवाई टिकटसहित नेपाल पठाएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै, मलेसिया सरकारले मृत्युदण्डको फैसला सुनाएका हरि घलेलाई बचाउन नेपाली राजदुताबासले शुरु गरेको हरि घले बचाउँ अभियानलाई ७१ हजार ६ सय ३० रुपैयाँ र जिल्लाका विभिन्न मन्दिरहरुलाई ब्लाङ्केट, जिल्ला अस्पतालमा ह्वेल चियर र छायाक्षेत्र गाविसलाई एउटा स्टेचर सहयोग गरेको पनि समाजका सचिव पूर्ण बुढाथोकीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महाँसंघ दाङका सचिव सविन प्रियासनले व्यक्तिगत स्वार्थले गाँजेको समाजमा अरुको सहयोगका लागि सक्रिय हुनु ठूलो कुरा भएको चर्चा गर्दै सल्यान–प्रवास सेवा समाजले उदाहरणीय कार्य गरेको बताउनुभयो । विदेशमा आफ्नो तलब काटेर भएपनि विभिन्न समस्यामा परिरहेका व्यक्तिहरुलाई सहयोग गर्ने सेवा समाजको कार्यको प्रसंशा गर्दै उहाँले सबै नागरिकले यस्तै सकारात्मक चिन्तन र सहयोगी सोंच भएमा समृद्ध समाज निर्माण हुने बताउनुभयो । उहाँले पत्रकारिताको क्षेत्रबाट ब्लडक्यान्सरपीडित बस्नेतलगायत विपतमा परेका सबैलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

कार्यक्रममा ब्लडक्यान्सरपीडित बस्नेतकी आमा पवी बस्नेतले अहिलेसम्म उपचारका लागि करिब ८ लाखजति खर्च भइसकेको र मासिक ७ हजारजतिको औषधी सेवन गरिरहेको बताउनुभयो । छोराको क्रमिक सुधार भइरहेको भन्दै उहाँले सहयोग जुटाउन पहल गर्ने पत्रकारहरु एवम् आर्थिक सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो भने कार्यक्रमको सञ्चालन पत्रकार डिल्ली मल्लले गर्नुभएको थियो । कार्यक्रममा सल्यान–प्रवास सेवा समाजका सदस्य बिना पुनको पनि उपस्थिति रहेको थियो ।

यसअघि फेसबुकमा राखिएको अपील देखेर दक्षिण कोरिया राप्ती सम्पर्क मञ्चमा आवद्ध नेपालीहरुले १ लाख र जापानमा रहनुभएका घोराहीकै दिवाकर श्रेष्ठले पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । त्यस्तै, शान्तिसुधा उमावि जुनियर रेडक्रस सर्कलमा आबद्ध विद्यार्थीहरुको पहलमा संकलन गरिएको २६ हजार र काठेकोल टोलबासी दिदीबहिनीहरुको सक्रियतामा संकलन गरिएको सात हजार दुई सय अठ्तीस रुपैयाँ, स्वदेश तथा विदेशबाट विभिन्न व्यक्तिहरुले नबिल बैंकमा रहेको खाता नं. २६१००१७५०५१८५ मा जम्मा गरिदिएको ३६ हजार गरी जम्मा १ लाख ७४ हजार २ सय ३८ रुपैयाँ सहयोग उठेको थियो ।

One Comment

  • ujjol b.k

    Dherai ramro kam gareko chha hamro salyan pravas sewa samaj malaysia le ajhai pani agrgami chhalang maros vandai dhanybad pani.

Leave a Reply

Your email address will not be published. Required fields are marked *