जनउभार समाचारदाता
दाङ, असोज २८ । पूर्वस्वास्थ्य राज्यमन्त्री एवं एकीकृत नेकपा माओवादी राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य धर्मशिला चापागाईले नेपाली महिलाहरु सबैखाले उत्पीडनविरुद्ध सशक्तरुपमा लड्नुपर्ने बताउनुभएको छ । दाङको घोराहीमा आइतबार अनेमसंघ क्रान्तिकारीको नवौं जिल्ला सम्मेलन उद्घाटन गर्दै उहाँले त्यस्तो धारणा राख्नुभएको हो ।
नेपालमा वर्गीय, जातीय, क्षेत्रीय र लैंगिक उत्पीडन मुख्य रहेको उल्लेख गर्दै उहाँले यी सबै उत्पीडनको मार महिलाहरुले नै खेप्नुपरेकाले उत्पीडनविरुद्ध पनि महिलाहरु नै सशक्त भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । आमा दिदीहरुले बिताएजस्तै हामीले पनि दुःखका दिन बिताउनुपर्ने त होला भन्ने हीन भावका साथ होइन एक्काइशौं शताव्दीका महिला भएर विश्वलाई समानताको सन्देश दिन नेपाली महिलाहरु भित्र र बाहिर जताततै संघर्ष गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपालमा लामो समयदेखि महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरिएकोमा विगत दश बर्षे जनयुद्धयता महिलाहरुले थोरै भएपनि समानताको अनुभूति गर्न पाएको उल्लेख गर्दै उहाँले कानूनीरुपमा महिलाहरुले धेरै कुरा प्राप्त गरेको र अब त्यसलाई जीवनब्यवहारमा लागु गर्नुपर्ने बेला आएको बताउनुभयो ।
जनयुद्ध र जनआन्दोलनका कारण राज्यसहित सबै सार्वजनिक निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व, छोरीलाई छोरासरह सम्पत्ति, आमाको नामबाट नागरिकता, घरेलु हिंसाविरुद्ध कानूनजस्ता कानूनीरुपमा धेरै कुरा प्राप्त भए पनि नियमावली बनाएर कार्यान्वायन गर्न ढिलाइ भएको भन्दै पूर्वराज्यमन्त्री चापागाईले उपलब्धिलाई संस्थागत गरेर थप उपलब्धिका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । अहिले अधिकांश नेपाली महिला घरेलु हिंसा र सामाजिक सांस्कृतिक विकृति र विचलनका कारण प्रताडित भएको औल्याउँदै उहाँले अनेमसंघ क्रान्तिकारीले घरेलु हिंसाविरुद्धको ऐनलाई आफ्नो प्रशिक्षणको कोर्षभित्रै राखेर देशव्यापी जागरण अभियान चलाउने तयारी गरेको बताउनुभयो ।
जिल्ला संयोजक पुनम शेर्पालीको अध्यक्षतामा भएको उद्घाटनसत्रमा एमाओवादी राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्यहरु जगप्रसाद शर्मा, नारायणी शर्मा, सुष्मा शर्मा घिमिरे, निर्मल आचार्य, अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सदस्यहरु पार्वती पुन, मिथिला फूँयाल, क्रान्तिकारी पत्रकार संघ दाङका अध्यक्ष नरेन्द्र केसी, सहिद परिवार समाज दाङकी संयोजक गौमती पुन, दलित मुक्तिमोर्चाका केन्द्रीय सल्लाहकार चक्रबहादुर विश्वकर्मा, अखिल क्रान्तिकारी दाङका संयोजक बसन्त चौधरी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका प्रतिनिधि इश्वरी चालिसेलगायतले शुभकामना दिनुभएको थियो । दिपा बिकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन बालिका शर्माले गर्नुभएको थियो ।