माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

  
  प्रकाशित मितिः आइतवार, अशोज २८, २०६९       | 94 Views   ||

दाङ, असोज २८ । दाङमा आइतबार माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुइजना गम्भीर घाइते भएका छन् । देउखुरीको लालमटिया–६ मौरीघाटमा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर लालमटिया–९ घर भएकी २६ बर्षीया कमला मल्लको मृत्यु भएको हो ।

ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी मल्लको उपचारका लागि लमही ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । अन्य दुइजना घाइतेहरुको अहिले नेपालगञ्जमा उपचार भैरहेको छ । घाइते हुनेहरुमा लालमटिया–९ कै ३४ बर्षीया सीता मल्ल र ४७ बर्षीया निमा मल्ल रहनुभएको छ । दशैमा घर रङ्गाउनका लागि लिपपोत गर्ने माटो खन्दै गरेको अवस्थामा ढिस्कोले तीन जनालाई च्यापेको थियो ।

यसैबीच चितुवाको आक्रमणबाट आइतबार बिहान दाङमा एक जना गम्भीर घाइते भएका छन् । रामपुर–२ बालापुर निवासी ४५ बर्षीय वेदप्रकाश श्रेष्ठ चितुवाको आक्रमणबाट गम्भीर घाइते हुनुभएको जिल्ला वन कार्यालय दाङले जानकारी दिएको छ । धानखेतमा मसुरो छर्न गएका बेला खेतमा लुकी बसेको चितुवाले बिहान ९ बजेतिर श्रेष्ठलाई आक्रमण गरेको थियो । आक्रमणबाट श्रेष्ठको कुहिनो र छातीमा गरी तीन ठाउँमा गम्भीर चोट लागेको छ ।

घाइतेको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । आक्रमणपछि गाउँलेहरुले चितुवालाई घेरेर नियन्त्रणमा लिएको र जिल्ला वन कार्यालयको टोली घटनास्थलमा पुगेपछि चितुवालाई नजिकैको जंगलमा छोडिएको सहायक वन अधिकृत इश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *