वन समूह गुफा संरक्षणमा अग्रसर

  
  प्रकाशित मितिः आइतवार, मंसिर १७, २०६९       | 98 Views   ||

मालझाँक्री गुफा हेर्नका लागि झुम्मिएका विद्यार्थीहरु । तस्वीर : निमुसंगम

निमुसंगम घर्ती
दाङ (रामपुर), मंसिर १७ । रामपुर ९ अठ्ठाइसेमा रहेको मालझाँक्री सामुदायिक वन समूह वन व्यवस्थापनसँगै पर्यटकीय विकासका लागि गुफा संरक्षणमा जुटेको छ । सदरमुकाम घोराहीदेखि करिब १३ किमि पूर्वमा रहेको मालझाँक्री सामुदायिक वन समूहले घना जंगलको बीचमा रहेका एक दर्जन गुफाहरुलाई संरक्षण गरि पर्यटकीय विकासमा जुटेको हो ।

२०११ सालमा स्थानीय बासिन्दा घाँस काट्न गएको समयमा पत्ता लागेका गुफा प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै आएको र संरक्षण नहुँदा गुफामा भएका आकृतिहरु भाँचिएका छन् । मालझाँक्री गुफा भएको मुख्य स्थाननजिकै करिब एक दर्जन त्यस्ता गुफा र सुरुङहरु पनि पत्ता लाग्दै गएका छन् । पर्यटकीय क्षेत्रहरुको पहिचान र बिकासलाई पछ्याउँदै जाँदा ओझेलमा परेका गुफाहरु फेला परिरहेको वन समूहका अध्यक्ष मधुसूदन न्यौपानेले बताउनुभयो ।

हालैमात्र जिविसमार्फत् पर्यटन मन्त्रालयबाट आएको चार लाख २५ हजार रुपैयाँको लगानीमा वन समूहले गुफामा जानेबाट निर्माण, तारबार, दुइवटा मन्दिरको निर्माण गरिएको छ । शिव पार्वतीका साथै नागहरुको आकृति र शिवलिंगहरु रहेका ती गुफाको अवलोकनका लागि हिजोआज मान्छेहरु आउन थालेको उहाँले जानकारी दिनुभयो । करिब सात सय मिटर गोरेटो बाटो निर्माणमा वन समूहका उपभोक्ताहरुले श्रमदान पनि गरेका छन् । २०११ सालमा आफूहरु सो वन समूहमा घाँस दाउरा ल्याउन गएको समयमा ती गुफाहरु फेला परेको त्यसदेखि नै स्थानीयहरुले बर्षमा दुइपटक पूजाआजा गर्न शुरु गरेको र आस्था राख्दै आएको ८२ बर्षीय हिमलाल पौडेलले बताउनुभयो ।

मालझाँक्री गुफा अवलोकन गर्दै सामुदायिक वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटा र सचिव हेमराज शर्मा ।

यसैबीच गुफाहरुको संरक्षण एवम् सम्वद्र्धनका लागि गत शुक्रबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । वन क्षेत्रमै आयोजनामा भएको कार्यक्रममा सामुदायिक वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटा र वन अधिकृत अरुण शर्मा पौडेलले उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा बोल्दै वन महासंघका अध्यक्ष सापकोटाले वन व्यवस्थापनसँगै प्राकृतिक सम्पदाको संरक्षणमा लाग्नु आफूहरुको दायित्व भएको बताउनुभयो । धर्मको नामबाट पनि उपभोक्ताहरु वन संरक्षणमा लाग्ने भन्दै उहाँले सम्पदाहरुको प्रचारप्रसारमा ध्यान दिन सके सामाजिक विकासमा पनि टेवा पुग्ने बताउनुभयो । त्यस्तै वन अधिकृत शर्माले वन समूहले सम्पदाहरुको संरक्षण गर्दै गए आयआर्जन र पर्यटकीय विकासमा समेत सहयोग पुग्ने बताउनुभयो । वन समूहहरु वन संरक्षणसँगै भएका प्राकृतिक सम्पदाहरुको पहिचान गरि जगेर्ना र विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै गुफानजिकै छरछरे छहरा पनि रहेको छ भने रामपुर गाबिसमा चरिङ्गे, भोटे, किचिनी दलहरु पनि पर्यटकीय क्षेत्रको रुपमा रहेका छन् । ती सम्पदाहरुको विकास र प्रचारप्रसारका लागि पनि वन समूह, विभिन्न युवा क्लवहरुको सक्रियतामा सरकारी बजेटबाट पूर्वाधारको बिकास भइरहेको स्थानीयबासीको भनाइ छ ।

वन समूहका अध्यक्ष मधुसूदन न्यौपानेको अध्यक्षता एवं सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्षता तथा वन अधिकृत अरुण शर्मा पौडेलको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा सामुदायिक वन महासंघका सचिव हेमराज शर्मा, निमावि सिमलताराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल घर्ती, शिक्षक प्रेमबहादुर डाँगी, मुक्तिराम थापा, गंगा जागृति युवा क्लवका सचिव केशव खनाल, वन समूहका कोषाध्यक्ष रुद्रमणि पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण वुद्धिविनोद पाण्डेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *