उमाविस्तरीय कविता प्रतियोगिता हुने

  
  प्रकाशित मितिः आइतवार, मंसिर १७, २०६९       | 125 Views   ||

जनउभार समाचारदाता
दाङ, मंसिर १७ । प्रगतिशील लेखक संघ, नेपाल दाङले २० औं शाखा स्थापना दिवसका अवसरमा उमाविस्तरीय खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ । संघको शनिबार घोराहीमा बसेको बैठकले शाखा स्थापना दिवसको अवसर पारेर आगामी पुस ३ गते घोराहीमा कविता प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष केशव थापाको अध्यक्षता एवम् केन्द्रीय सदस्य पद्मप्रसाद शर्माको प्रमुख आतिथ्यमा बसेको बैठकले कविता प्रतियोगितामा सहभागी हुन जिल्लाभरिका उमाविमा अध्ययनरत विद्यार्थीहरुलाई आह्वान गरेको छ । प्रतियोगितामा भाग लिन चाहने विद्यार्थीले मंसिर मसान्तभित्र घोराहीमा संघका उपाध्यक्ष शरद अधिकारी र राप्ती पोष्ट दैनिकको कार्यालयमा, सचिव डिल्ली मल्ल र नौलो जनउभार साप्ताहिकको कार्यालयमा, तुलसीपुर क्षेत्रमा संघका सदस्य संगीत बस्याल र देउखुरी क्षेत्रमा सदस्य छविलाल कोपिलाकहाँ बुझाउन पनि आग्रह गरेको छ ।

बैठकले स्थापना दिवसको अवसर संघले प्रदान गर्ने पुरस्कार प्रदान गर्नका लागि प्रतिभा छनौट गर्न संघका अध्यक्ष केशव थापाको संयोजकत्वमा सल्लाहकारद्वय टीकाराम उदासी र शरद देवकोटा रहेको प्रतिभा छनौट समिति गठन गरेको छ । त्यस्तै, शाखा स्थापना दिवसकै दिन दङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा एवम् प्रगतिवादी साहित्यकार नेत्रलाल अभागीको ६९ औं स्मृति दिवस मनाउने निर्णय गरेको छ ।

त्यस्तै, प्रलेस दाङको मुखपत्र बहिङ्गा प्रकाशनका लागि केशव थापा प्रधान सम्पादक र शरद देवकोटा, शरद अधिकारी, डिल्ली मल्ल, आस्था केसी र संगीत बस्याल रहेको सम्पादक मण्डल गठन गरेको छ ।

त्यस्तै, बैठकले हालै वृद्धि भएको लोडसेडिङले विद्यार्थी, स्रष्टा र आम सर्वसाधारणको जनजीवन प्रभावित भएको भन्दै जतिसक्यो लोडसेडिङको समय घटाउन सरकारसमक्ष माग गरेको छ ।

यसैबीच प्रलेस, दाङले नेपालका प्रथम साहित्यिक शहीद कृष्णलाल अधिकारीको १ सय २६ औं जन्मजयन्ती मनाएको छ । कार्यक्रममा संघका केन्द्रीय सदस्य पद्मप्रसाद शर्माले मकैको खेती नामक पुस्तक प्रकाशन गरेवापत सरकारी सुब्बा रहेका कृष्णलाललाई जेलमा सडाएर मार्ने राणाशासन कतिसम्म क्रूर र शिक्षाविरोधी थियो भन्ने पुष्टि त्यही एउटै घटनाले देखाएको बताउनुभयो । उहाँले कृष्णलालको जीवनी, व्यक्तित्व र त्यसबाट शुरु भएको राणाविरोधी आन्दोलनको चर्चा गर्नुभएको थियो ।

संघका अध्यक्ष केशव थापाको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती साहित्य परिषद्का महासचिव कमलमणि देवकोटालगायतले बोल्नुभएको थियो भने मनोज थापाले गजल वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव डिल्ली मल्लले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *