दाङमा जैविक विविधतासम्बन्धी अध्ययन शुरु

  
  प्रकाशित मितिः आइतवार, मंसिर १७, २०६९       | 109 Views   ||

जैविक विविधता अध्ययनका क्रममा रामपुरको चरिङ्गे दहमा पत्रकार एवं कार्यक्रम संयोजक गणेश ओली ।

जनउभार समाचारदाता
दाङ, मंसिर १७ । दाङको जैविक विविधताको बारेमा अध्ययन गर्न थालिएको छ । पछिल्लो समयमा चराचुरुङ्गी, वन्यजन्तु, पानी तथा जमीनमा बस्ने जीव तथा बोटविरुवाहरु हराउँदै जान थालेकाले उनीहरुको तथ्याङ्क संकलन गर्ने उद्देश्यले यस्तो अध्ययन थालिएको हो ।

पछिल्लो समयमा वनविनास, जलवायु परिवर्तन र मानव अतिक्रमणका कारणले जैविक विविधतामा ह्रास आउन थालेकोले विश्वभरि नै यस्ता अध्ययन हुने गरेका छन् । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजना र युएनडीपीअन्तर्गत विश्व वातावरणीय सेवा, साना अनुदान कार्यक्रमको सहयोगमा अध्ययन थालिएको केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो ।

पत्रकार एवं कार्यक्रम संयोजक गणेश ओलीको अगुवाइमा स्थानीयवासीको सहभागिता र अग्रसरतामा रामपुरस्थित चरिङ्गे दहबाट अध्ययन थालिएको रावतले बताउनुभयो । उहाँले हाल रामपुर गाविसबाट यस्तो अध्ययन थालिएपनि बिस्तारै जिल्लाभरि नै अध्ययन गरी यहाँको जैविक विविधताको अभिलेखीकरण गरिने बताउनुभयो । आर्थिक अभावका कारण एकैपटक जिल्लाभरिको गर्न नसकिएको र बाँकी काम आउँदा दिनमा गरिने उहाँको भनाइ छ ।

विश्वमा गरिएको अवशेष अभिलेखीकरण अध्ययनअनुसार ढुंगे युगदेखि हालसम्म जैविक विविधताको ह्रास एक सयदेखि दश हजार गुणा रहेको छ । जनसंख्या वृद्धि र यसको अतिक्रमण अहिलेकै अनुपातमा रहेमा आउँदो एक सय बर्षभित्र पृथ्वीबाट सम्पूर्ण जीवहरु लोप भएर जाने जीव वैज्ञानिकहरुले अनुमान गरेका छन् ।

जैविक विविधताको संरक्षण गर्न सके मानिसहरुले कृषि उत्पादनमा वृद्धि गर्ने, मानव स्वास्थ्य राम्रो हुने, कृषि तथा व्यापारमा समेत सहयोग पुग्दछ । यदि प्रकृतिमा जीवजन्तुको ह्रास भयो भने पारिस्थितिक प्रणालीमा असर पर्दछ भने मानव स्वास्थ्यलाइ काम लाग्ने जीवजन्तु र वोटविरुवाको ह्रासले नयाँ नयाँ रोग लाग्ने खतरा बढेको प्राकृतिक वैज्ञानिकहरुको भनाइ छ । त्यसैगरी प्रकृतिमा उपलब्ध हुने वोटविरुवा तथा जीवजन्तुको ह्रास भयो भने कच्चा पदार्थ समाप्त भएर विश्वब्यापारमा नै असर पर्ने बताइएको छ ।

संस्थाले आ–आफ्नो गाउँठाउँमा रहेका जमीन वा पानीमा बस्ने जीवजनावर, पशुपंक्षी, चराचुरुङ्गीको अभिलेख राखी जैविक विविधताको संरक्षणमा सहयोग पु¥याउन पनि सबैलाई आग्रह गरेको छ । विगतमा जिल्लामा रहेका जीवजनावर, चराचुरुङ्गी कति लोप भए वा कति नयाँ थपिए भन्ने अध्यन नहुँदा हाल जिल्लामा जैविक विविधताको अवस्था बारे जानकारी हुन नसकेको रावतको भनाइ छ । अहिले अभिलेख राखे आउँदा दिनमा यसको तुलनात्मक अध्ययन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *