प्रभावकारी शिक्षणका केही विधिहरु

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 758 Views   ||

-[जीतबहादुर शाह]

विशेष सीप र दक्षताको आवश्यकता पर्ने पेशामा काम गर्नेहरुले आफूलाई समसामयिक रुपमा अद्यावधिक (Up-to-date) गर्न सकिएन भने उक्त पेशा साँध नलगाएर राखिएको भुत्तिएको हतियारजस्तै हुने गर्दछ । समाज हिजोभन्दा आज फरक छ, समाजका समस्या र चुनौतीहरु फरक छन् । त्यसैले पनि समाजका मूल्यमान्यता र आवश्यकताहरु पनि परिमार्जन भएर अगाडि बढिरहेको अवस्था छ । यस्तो अवस्थामा विशेष क्षमता र दक्षताको आवश्यकता पर्ने पेशामा कार्यरत व्यक्तिले आफूलाई अद्यावधिक गर्नु नितान्त आवश्यक पर्दछ । भनिन्छ– ‘A person graduated yesterday, stopped learning today will be uneducated tomorrow.’ सेवाप्रवाह गर्ने व्यक्तिले आफूबाट सेवा चाहनेहरुको भावना र आवश्यकतानुसारको सेवा दिन सक्दैन भने उक्त सेवाप्रवाह गर्ने स्थानमा बसिरहन उपयुक्त हुँदैन र यदि बस्न खोजियो भने समयले नै बढार्दै पाखा लगाउने गर्दछ । शिक्षण पेशा पनि विशेष सीप र दक्षताको आवश्यक पर्ने पेशा हो । यो पेशामा रहनेहरुले आफूलाई अद्यावधिक गर्नु आवश्यक छ । अतः शिक्षकको पेशागत अभिवृद्धि गर्न सहयोग पुग्ने त्यस्ता केही विधिहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

पहिलो कुरा त शिक्षकले आफ्ना विद्यार्थीहरुको बारेमा राम्रो जानकारी राख्न सक्नुपर्दछ । उनीहरुको पृष्ठभूमि, क्षमता, रुचि, आवश्यकता र स्वभावको हिसाबले उनीहरुलाई राम्रोसँग बुझ्न सकियो भने शिक्षण सिकाइसँग सम्बन्धित धेरै समस्याहरुको समाधान गर्न सहयोग पुग्छ । यसले गर्दा शिक्षक र विद्यार्थीहरुको बीचमा आत्मीयता पनि बढ्छ । शिक्षक र विद्यार्थीहरु बीचको आत्मीयताले विद्यार्थीहरुलाई विद्यालय क्रमशः प्यारो लाग्दै जान्छ र यसले गर्दा विद्यार्थीहरुको अनुत्तीर्ण हुने दर, कक्षा छोड्ने दर र कक्षा दोहो¥याउने दरमा कटौती हुन्छ भने उपलब्धि दरमा क्रमशः सुधार हुँदै जान्छ ।

दोश्रो कुरा भनेको नवीनता हो । विषयवस्तु, विधि र शैक्षिक सामग्रीको दृष्टिकोणले शिक्षक नवीन र अरुलाई जिज्ञासा र उत्सुकता जगाउने काममा सफल हुन सक्नुपर्दछ । मानवीय स्वभाव नवीनतातर्फ उन्मुख हुन्छ । त्यसमा पनि बालबालिकाहरु झनै नयाँ कुराहरुप्रति उत्सुकतापूर्वक दृष्टि लगाउने र ध्यानकेन्द्रित गर्ने गर्दछन् । यस्तो अवस्थामा शिक्षकले पनि हरेक दिन कक्षाकोठाहरुमा शिक्षण सिकाइ क्रियाकलापहरु सम्पादन गर्ने सिलसिलामा आफूले प्रयोग गर्ने विधि, शैक्षिक सामग्री र शिक्षण गर्ने विषयवस्तुमा नयाँपन  दिन सक्नुपर्दछ । भनिन्छ– ‘जसरी पानी नआउने धाराको टुटी खोल्नु आवश्यक हुँदैन त्यसरी नै नयाँ कुरा केही छैन भने पुरानै कुरा पस्कनका लागि शिक्षक पनि कोठामा गइराख्नु आवश्यक हुँदैन रे ।’ यसका लागि पनि शिक्षक सुदृढ योजनाका साथ नयाँ–नयाँ विषयवस्तु, विधि र सामग्री लिएर कक्षाकोठामा जानका लागि आफूलाई पेशाप्रति लगनशील र अद्यावधिक बनाउनु नितान्त आवश्यक छ ।

शिक्षकहरुले आफ्नो पेशालाई सफल बनाउने तेश्रो विधि हो सकारात्मक सोच । आफ्ना विद्यार्थीहरुप्रति सदैव तिनीहरुले केही न केही गर्न सक्छन् भन्ने मान्यता राख्नुपर्दछ । सकारात्मक दृष्टिले हे¥यो भने बिग्रेको घडीले पनि दिनमा दुइपटक ठीक समय दिन्छ रे । हाम्रा विद्यार्थीहरु पनि केही न केही सम्भावना र क्षमता ल्याएर कक्षाकोठामा आएका हुन्छन् । त्यसैले आफ्ना विद्यार्थीहरुलाई पनि उनीहरुले गरेका राम्रा कामहरुका लागि स्याबासी दिदै आगामी दिनमा राम्रा काम गर्नका लागि हौसला प्रदान गर्नुपर्दछ । उनीहरुमा हामी पनि केही गर्न सक्छौं भन्ने भावना भरिदिनुपर्दछ । महान शिक्षकले गर्ने काम भनेको विद्यार्थीहरुलाई सिकाउने होइन कि सिक्नका लागि उत्प्रेरित गर्ने हो । सकारात्मक सोच आफ्नो जीवन, आफ्नो पेशा र आफ्नो कर्तव्यप्रति पनि राख्न सक्यो भने यसले जीवनमा मुस्कुराउन सिकाउँछ । मुस्कुराउँदै बाँच्ने मानिसहरु जीवनमा सधैं सफलतातर्फ उन्मुख हुन्छन् ।

शिक्षण पेशालाई प्रभावकारी बनाउने अर्को अर्थात् चौथो तरिका भनेको कक्षाकोठाको समावेशी व्यवस्थापन हो । यसलाई इन्द्रेणी व्यवस्थापन (Rainbow management) पनि भनिन्छ । जसरी भित्तामा झुण्डिएको फोटोलाई हेर्दा उक्त फोटोलाई जसले हे¥यो त्यसैलाई नै हेरेको महसुस हुन्छ । ठीक त्यसरी नै कक्षाकोठामा पनि विद्यार्थीहरुलाई शिक्षकले सबैभन्दा आफूलाई नै ध्यान दिएको, माया गरेको र सुख दुःखमा साथ दिएको महसुस हुने गरी क्रियाकलापहरुको व्यवस्थापन गर्न सक्नुपर्दछ । इन्द्रेणीमा सातै रङको उचित व्यवस्थापन गर्न सकेको कारण इन्द्रेणी जसरी राम्रो र सुन्दर देखिएको हुन्छ, त्यसरी नै कक्षामा भएका थरिथरिका बालबालिकाहरुलाई उनीहरुको रुचि, भावना, क्षमता र आवश्यकतालाई मध्यनजर राखी शिक्षण क्रियाकलाप गर्न सकियों भने हाम्रो कक्षा पनि इन्द्रेणीजस्तै सुन्दर देखिन्छ भन्छन् शिक्षाविद्वहरु ।

राम्रो शिक्षक हुने अर्को अर्थात् पाँचौं प्रभावकारी विधि भनेको सधैं सिकारु हुने प्रयास गर्नु हो । मैले सबै कुरा जानेको छु भन्ने भ्रमले सिकाइका सम्पूर्ण ढोकाहरुमा भोटे ताल्चा लाग्दोरहेछ । तर, यदि मैले सिक्न धेरै छ र मैले सिक्ने कुरामा धेरैले सहजकर्ताको भूमिका निर्वाह गर्न सक्छन् भन्ने सोचको विकास गर्ने हो भने कक्षाकोठाका आफ्नै विद्यार्थीहरुबाट पनि धेरै कुरा सिक्न सकिन्छ । कुनै पनि प्रश्नको जवाफ आफूले होइन विद्यार्थीहरुबाट खोज्ने बानी गरियो भने एक त विद्यार्थीहरुमा हौसला बढ्छ भने अर्को कुरा शिक्षण सिकाइ क्रियाकलाप सिकारु केन्द्रित हुन्छ । अर्को महत्वपूर्ण कुरा भनेको शिक्षकलाई जानकारी नभएका कतिपय कुराहरुको बारेमा विद्यार्थीहरुबाट जानकारी प्राप्त हुन्छ । यसले विद्यार्थीहरुको क्षमताको मूल्याङ्कनसमेत सजिलैसँग गर्न सकिन्छ । भनाइ पनि छ–‘यदि हामी केही सिक्न चाहन्छौं भने संसार नै एउटा ठूलो पुस्तकालय हो ।’

कुशल शिक्षक हुने अर्को अर्थात् छैठौं प्रभावकारी विधि भनेको आत्मप्रतिविम्बन वा आत्ममूल्याङ्कन हो । हामीले कुनै पनि कक्षामा गएर कुनै पनि विषयको शिक्षण सिकाइ क्रियाकलापहरु सम्पादन गरिसकेपछि आफूले गरेका क्रियाकलापहरुको एकपटक आफैले पुनरावलोकन गर्नुपर्दछ । यसबाट सबल र कमजोर पक्षको जानकारी हुने गर्दछ । सबल पक्षलाई निरन्तरता प्रदान गर्दै कमजोर पक्षलाई फेरि नदोहो¥याउने गरी योजना बनाउन सहयोग गर्दछ । भनिन्छ – ‘आफूलाई सुधार गर्नका लागि आफूभन्दा ठूलो गुरु संसारमा कोही पनि हुँदैन रे ।’ किनभने आफ्ना कमीकमजोरीहरुको बारेमा सबैभन्दा बढी जानकारी आफूलाई नै हुन्छ । ती कमीकमजोरीहरु सुधार गर्नु भनेकै आफ्नो निम्ति ठूलो गुरु हुनु हो ।

सफल शिक्षक हुने अर्को अर्थात् सातौं प्रभावकारी विधि भनेको विद्यार्थीहरुका बढी भन्दा बढी इन्द्रीयहरु सक्रिय हुने गरी शिक्षण सिकाइ क्रियाकलापहरुको ढाँचा तयार गरेर सोको कार्यान्वयन गर्नु हो । हामी इन्द्रीयलाई ज्ञानेन्द्रीय पनि भन्छौं । ज्ञानेन्द्रीय भनेका ज्ञानका द्वारहरु हुन् । ज्ञानेन्द्रीयहरु सक्रिय हुनुको अर्थ ज्ञानका ढोकाहरु खुला हुनु हो । त्यसैले जति सक्यो विद्यार्थीहरुलाई शिक्षण सिकाइको क्रममा सुन्ने मात्र नभइ बोल्ने, छुने, स्वाद लिने, सुघ्ने, चलखेल गर्ने आदि अवसर प्रदान गर्नुपर्दछ ।

पेशागत विकासका लागि अर्को अर्थात् आठौं विधि भनेको चुनौतीपूर्ण अर्थात् असजिलो कार्यको छनौट हो । कतिपय शिक्षकलाई आफ्नै घरबाट भ्याइने विद्यालयमा जीवनभरि शिक्षण गरेर त्यही विद्यालयबाटै निवृत्त हुने अवसर मिल्दछ । व्यक्तिगत हिसाबले त्यो राम्रो हो तथापि पेशागत क्षमता विकासका दृष्टिले त्यसलाई राम्रो मानिदैन । अघाएको पेटले इच्छापूर्वक अध्ययन गर्र्दैन भनेझैं काम सजिलै छ, जागीरमा पनि त्यति कठिनाई छैन र शिक्षण सिकाइको परिवेश पनि सधैं उस्तै–उस्तै हो भने नयाँ कुरा सिक्नुपर्ने आवश्यकता पनि हुँदैन । कतिपय शिक्षकहरुले अलिकति अपायक पर्ने विद्यालयमा काम गर्नुप¥यो भने आफूलाई पक्षपात भएको महसुस गरेको पाइन्छ । म त भन्छु– कर्मचारीहरुलाई जस्तै शिक्षकहरुलाई पनि आवधिकरुपमा सरुवा गर्ने परिपाटी बसाल्ने हो भने नयाँ–नयाँ परिवेशमा समायोजन हुने क्रममा शिक्षकको पेशागत विकास हुने कुरामा पनि यसले निकै सहयोग पुग्थ्यो जस्तो लाग्छ । संसारमा पेशागत अभिवृद्धि गर्न सफल व्यक्तिहरु सधैं असजिलो र चुनौतीपूर्ण कार्य रोज्दै र त्यस्ता कार्यहरुलाई सफलतापूर्वक सम्पादन गर्दै अघि बढेका हुन् भन्ने कुरालाई पनि बिर्सनु हुँदैन ।

सफल शिक्षक हुने अर्को अर्थात् नवौं विधि भनेको लघु–अनुसन्धानहरुको सञ्चालन गर्नु पनि हो । कुनै पनि विद्यार्थीहरुलाई सुधार गर्नका लागि गरिएका कार्यहरुलाई कार्यमूलक अनुसन्धानको रुप दिएर टिपोट गरी राख्ने बानीको विकास गर्नुपर्दछ । यसरी एउटा परिवेशमा काम गरेको उक्त अनुसन्धानले अर्को परिवेशमा काम गर्ने अर्को कुनै शिक्षकलाई पनि समस्या समाधान गर्न मद्दत गर्दछ । त्यति मात्र नभइ यो शिक्षकको पेशागत जीवनको एउटा ऐतिहासिक अभिलेखको रुपमा पनि स्थापित हुन सक्दछ । प्रचलित शिक्षासम्बन्धी ऐननियमले अनुसन्धानमूलक कार्यका लागि समेत शिक्षकलाई बढुवामा अङ्क दिने व्यवस्थाले यो कार्यको झनै महत्व बढाइदिएको छ ।

सफल शिक्षक हुनका लागि आवश्यक पर्ने दशौं अर्थात् यो आलेखमा उल्लेख गरिएको अन्तिम विधि भनेको आफूले भनेको कुरा व्यवहारमा उतार्नु हो । आजभोलिका शिक्षकहरुले विद्यार्थीहरुलाई शिक्षा दिदा ‘मैले भनेको काम गर्नू तर गरेको काम नगर्नू  (Do what I say but don’t do what I do) भनेर अर्ति दिदा रहेछौं । तर विद्यार्थीहरुले भने भनेको कुरा बिर्सिदा रहेछन् र देखेको कुरा सम्झदा रहेछन् । हाम्रो सम्मान खस्कनुमा हाम्रो यो व्यवहारले ठूलो भूमिका निर्वाह गरिरहेको छ । यसले न त हामी असल हुन सकेका छौं न त हाम्रा विद्यार्थीहरुले असल हुने अवसर नै पाएका छन् । आफूलाई शिक्षा दिने भनी नैतिक जिम्मा लिएको शिक्षकको दिनचर्याबाट नै सिक्ने कुरा केही भेटिएन भने विद्यार्थीले को बाट सिक्ने ? विडम्बना नै भनौं, कतिपय शिक्षकहरु मादक पदार्थ सेवन गरेर विद्यालयमा जाने गरेका दृष्टान्तहरु पनि भेटिन्छन् । त्यस्ता शिक्षकहरुमा अलिकता कतै नैतिकता बचेको छ भने कि त पढाउने पेशाबाट अलग हुनुपर्दछ कि त भने आफूलाई सुधार्न सक्नुपर्छ । यो आदतलाई निरन्तरता दिदै विद्यालयमा जाँदै गर्ने हो भने यसले सम्बन्धित शिक्षकलाई मात्र होइन कि उक्त शिक्षकका सन्ततिहरुलाई समेत सामाजिक हिसाबले बाँच्न धौ–धौ बनाउने छ । त्यसैले शिक्षकले कम्तिमा अन्यत्र जेसुकै भएपनि विद्यार्थीहरुले देख्ने गरी असल बानी व्यवहार र मीठो बोली बोल्ने प्रयास गर्नुपर्दछ । यति पनि सकिन्न भने नराम्रो बोली र व्यवहार उनीहरुका सामु प्रदर्शन गर्नुहुँदैन ।

अन्तमा, मैले एउटा मुभीबाट जानकारी पाएको थिएँ कि अफ्रिका महादेशमा एक प्रकारको ठूलो गिद्ध हुन्छ । त्यसको औसत आयु ७० वर्ष हुन्छ । उक्त गिद्धको चुच्चो (Beak) बुढो हुँदा बाक्लो र भुत्ते हुने भएकोले उक्त गिद्धले चुच्चोबाट खानेकुरा टिप्न र खान नसकी मर्ने गर्दछ । त्यही जातका धेरै गिद्धहरुले जब चुच्चो भुत्ते र बाक्लो हुन थाल्छ, उनीहरुले आफ्नो चुच्चोलाई पत्थरमा बेस्सरी रगडेर रग्ताम्मे बनाउँछन् । त्यसपछि चुच्चो नयाँ किसिमले पलाउँछ । यसले गर्दा गिद्ध फेरि ५० वर्ष अरु बाँच्न सक्दोरहेछ । यसैगरी त्यही जातको गिद्धले बाक्लो र मोटो पखेटाका प्वाँखहरुलाई समेत पहाडमा रगडेर निकाली नयाँ प्वाँख पलाएपछि जवान गिद्धजस्तै उड्न पनि सक्दोरहेछ ।

मैले यो प्रसङ्ग यहाँ प्रस्तुत गर्नुको आसय हामी शिक्षकहरु पनि समयअनुसार आफूलाई परिवर्तन गर्न सकेनौं भने पेशागत हिसाबले हाम्रो उमेर पनि समाप्त हुने स्थिति आइसकेको छ । त्यसैले हाम्रो पेशागत उमेरलाई दीर्घ बनाउने हो भने र इज्जत सम्मानको हिसाबले पनि हाम्रा अग्रजहरुको जस्तै जीवन चाहने हो भने अफ्रिकाको गिद्धले झैं केही कष्ट गर्नैपर्दछ र सूचना, ज्ञान र क्षमताको हिसाबले आफूलाई समयअनुसार परिमार्जन गर्नुपर्दछ । अन्यथा भीरबाट खस्ने गाईलाई राम–राम भन्नबाहेक अरु के नै गर्न सकिन्छ र !

(लेखक जिल्ला शिक्षा कार्यालय दाङका शिक्षा अधिकारी हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *