प्रतिपक्षी दलहरुले ‘बिहेमा शंख बजाउने’ कार्य छोड्नुपर्छ

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 165 Views   ||

अग्नि सापकोटा प्रवक्ता, एकीकृत नेकपा (माओवादी)

तपाई संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा (माओवादी)को प्रवक्ता हुनुहुन्छ । देश राजनीतिक गतिरोधमा फसिरहेको छ, यो परिस्थितिमा निकासका लागि एमाओवादीको राजनीतिक प्रस्ताव के हो ?

हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्ने गरी संविधान घोषणा नगरी संविधानसभाको विघटन भएका कारण देशको राजनीति गतिरोधमा फसेको छ । हाम्रो पार्टी नेतृत्वले त्यसयता लगातार यो गतिरोधलाई तोड्नका लागि निकै मेहनत गरिरहेको छ । गत कार्तिक दोस्रो साता हाम्रो पार्टीका तर्फबाट नेपाली कांग्रेस, एमालेसमक्ष प्रष्ट मार्गचित्रसहित लिखित प्रस्ताव नै राख्यौं । हामीले उपयुक्त विकल्पमा हालसम्म मिलेका विषयवस्तुहरुलाई समेटेर नयाँ संविधान जारी गरौं र सोहीअनुसार निर्वाचनमा जाऔं भन्यौं । नमिलेका विषयहरुको निक्र्योल गर्ने काम नयाँ निर्वाचनबाट आउने व्यवस्थापिका संसदले गर्न सक्छ भनेर भन्यौं । तर, ती पार्टीहरुले यसलाई स्वीकार गरेनन् । संविधान सभा पुनःस्र्थापनामा सहमति नगर्ने हो भने सहमति गरेर नयाँ निर्वाचनमा जाऔं न त भनेर प्रस्ताव गरेका छौं ।

तर, कांग्रेस–एमालेलगायतका प्रतिपक्षी दलहरुले सरकारको राजीनामा नभई सहमति नै हुँदैन भनिरहेका छन् नि ?

हो, तपाईंले भन्नु भएजस्तै कांग्रेस–एमालेलगायतका केही दलहरु संविधानको विषयवस्तुहरुभन्दा सरकारमा बढी ध्यान दिइरहेका छन् । संविधानसभा विघटन हुनु अघि र पछि पनि उनीहरुको एकोहोरो रटान भनेको वर्तमान सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा रहेको छ । हामी हालसम्मका राजनीतिक उपलब्धि संस्थागत गरौं भनेर जोड गरिरहेका छौं । तर, उनीहरु कसरी हुन्छ सरकार हातमा लिएर सत्ता कब्जा गर्ने सोचिरहेका छन् । यसका लागि उनीहरु कहिले राष्ट्रपतिलाई उक्साउने त कहिले आन्दोलनको बाजा बजाउने काम गरिरहेका छन् । प्रतिपक्षी दलहरुको सरकारबाहेक अरु केही नदेख्ने सत्तामोह प्रवृत्ति नै सहमतिको बाधक बनिरहेको छ ।

नयाँ निर्वाचन वा संविधानसभाको पुनःस्र्थापना, सहमतिको सरकार, बजेट लगायतका विषयमा सबैका आ–आफ्नै अडान छन, यस्तो अवस्थामा सहमतिको साझाविन्दु के हुनसक्छ ?

हामीले पहिलेदेखि नै भन्दै आएको कुरा के हो भने जनताले विगत ६० बर्षभन्दा लामो समयदेखि गर्दै आएको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि संस्थागत गर्ने कार्य आजको सबैभन्दा मुख्य कार्यभार हो । त्यो भनेको बहुसंख्यक जनताको पक्षमा अग्रगमनकारी संविधान बनाउने हो । त्यसका लागि हामीले संविधानसभा गठन हुनुपर्छ भनेर सशस्त्र संघर्षको नेतृत्व पनि ग¥यौं । अहिलेको परिस्थितिमा सहमतिको साझा बिन्दु भनेको सम्पूर्ण राजनीतिक उपलब्धिलाई लिपिबद्ध गरेर नयाँ संविधान जारी गर्ने नै हो । हालसम्म मिलेका विषयहरुलाई समेटेर संविधान जारी गर्ने, बाँकी रहेका विषय अनुसूचीमा राखेर जनतामा जाने अर्थात् संविधान घोषणा गरेर निर्वाचनमा जाने विषय सहमतिको साझा बिन्दु हुन सक्थ्यो । त्यसो नभएको स्थितिमा यही सरकारलाई नै सहमतिको राष्ट्रिय सरकारको स्वरुप दिएर निर्वाचनमा जाने कुरा नै सहमतिको बिन्दु हुनसक्छ ।

दलहरुले सहमतिबाट निकास नखोज्ने हो भने म कदम चाल्छु भनेर राष्ट्रपतिले समयसीमा तोकिरहेका छन् नि । के राष्ट्रपति पनि प्रतिपक्षीको भूमिकामा पुगेका हुन्  ?

हो, राष्ट्रपतिले समयसीमा तोकेको भनेर केही संचार माध्यामहरुमा खबरहरु आए । राष्ट्रपति कार्यालयका मानिसहरुलाई उधृत गरेर एकै प्रकारको समाचार केही ठूला मिडियाहरुले दिए । तर, यसप्रकारको समाचारको भोलिपल्टै खण्डन पनि भइसकेको छ । सायद कस्तो प्रतिक्रिया आउँछ भनेर परिक्षण गरिएको होला । यद्यपि, विगत लामो समयदेखि राष्ट्रपतिको भूमिका धेरै सकारात्मक हुन नसकेको हामीले पाएका छौं । निर्वाचनसँग सम्बन्धित तथा अन्य आवश्यक अध्यादेशहरु रोक्ने, सार्वजनिक कार्यक्रमहरुमा सरकारका कार्यहरुको आलोचना हुनेगरी अभिव्यक्ति दिने कार्य अवश्य पनि भएको हो । यी यावत् कार्यले उनको भूमिकामा प्रश्नचिन्ह नउठेका होइनन् । हाल आएर दुई तृतीयांश बजेट चाहिं स्वीकृत गरेर राष्ट्रपतिले सकारात्मक काम गरेका छन् ।

प्रतिपक्षीहरुको आन्दोलनलाई यहाँले कसरी हेरिरहनुभएको छ नि ?

मैले अघि पनि भनें, प्रतिपक्षीहरु कसरी हुन्छ सरकारको लगाम आफ्नो हातमा लिएर सत्ता कब्जा गर्ने भनेर सोचिरहेका छन् । उनीहरुमा नेपालको राज्यसत्ता आफ्नो मौजा हो भन्ने भ्रम छ । आफू सरकारमा भए सबै संवैधानिक हुने उनीहरु तर्क गर्छन् । उनीहरुले विगतमा पनि सरकारका विरुद्ध विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक नगरेका होइनन् । तर, जनताले उनीहरुलाई साथ दिएनन् । उनीहरुसँग आन्दोलनको कुनै स्पष्ट एजेण्डा पनि छैन । केवल प्रधानमन्त्रीको कुर्सी हात पार्ने अभिष्ट मात्रै छ । जनताले उनीहरुको यस्तो मक्सद राम्रोसँग बुझेका छन् । हामीले अझै पनि सहमतिमा जोड दिइरहेका छौं । प्रतिपक्षी दलहरुले ‘बिहेमा शंख बजाउने’ कार्य छोड्न आवश्यक छ । सरकारमा एकोहोरो जोड दिनुको सट्टा संविधानमा ध्यान दिने हो भने समस्याको समाधान निस्कन्छ । हामीले त प्रष्ट भनेका छौं, संविधान घोषणा गरौं त्यसपछि सरकारको नेतृत्व नेपाली कांग्रेसले लिन सक्छ ।

अब पार्टीभित्रका कुरा गरौं, एकीकृत नेकपा माओवादीको २२ वर्षपछि महाधिवेशन हुँदैछ, महाधिवेशनको तयारी कस्तो चरिहेको छ ?

हो, हामी दुई दशकभन्दा लामो समयपछि पार्टीको महाधिवेशन गर्दैछौं । गत सातौं विस्तारित बैठकले मिति नै किटान गरेपछि त्यसको तयारीमा कार्यहरु भइरहेका छन् । देशभित्र र बाहिरका सदस्यहरुको सदस्यता नवीकरण कार्य भइसकेको छ । हाल देशैभरि नै वडा, गाउँ, क्षेत्र, नगरहरुको सम्मेलन धमाधम चलिरहेको छ । यी सम्मेलनहरुका क्रममा महाधिवेशनको काममात्र भएको छैन जनतासँग पुनः पार्टी जोडिने, सम्बन्ध जीवन्त बनाउने कार्य पनि भइरहेको छ । यसपछि जिल्ला सम्मेलनहरु भएर महाधिवेशनका लागि प्रतिनिधिहरु छनौट हुने कार्य हुनेछ । महाधिवेशनको मिति जति–जति नजिकिंदै छ पार्टीपंक्ति, समर्थक एवम् शुभचिन्तकहरुमा उत्साह र उत्सुकता पनि थपिदै छ । समग्रमा हाम्रो हालसम्मको तयारीलाई हेर्दा निर्धारित समयमा महाधिवेशन सञ्चालन गर्न सक्ने अवस्थामा हामी छौं ।

महाधिवेशनबाट पार्टीको नीति, नेतृत्व र कार्यदिशाका बारेमा कस्तो आशा गर्न सकिन्छ ?

यो महाधिवेशनले हाम्रो पार्टी जीवनमा मात्र नभएर नेपालको कम्युनिष्ट आन्दोलनमा पनि महत्वपूर्ण स्थान राख्छ । त्यतिमात्रै होइन यसले नेपालको राजनीतिक भविष्य निर्धारण गर्ने र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई पनि प्रभावित पार्नेछ । हामीले तय गर्ने कार्यदिशा, नीति र कार्यक्रम बहुआयामिक महत्व राख्ने हुनेछन् । यो महाधिवेशनको एउटा मुख्य कार्य भनेको क्रान्तिको शान्तिपूर्ण विकास गर्ने कार्यदिशा तय गर्नु हुनेछ । २१ औं शताब्दीमा देशको, क्षेत्रीय एवम् विश्वस्तरका शक्ति सन्तुलनलाई ध्यानमा राखेर नेपालमा बाँकी रहेका जनवादी क्रान्तिका कार्यभार पूरा गर्नका लागि यसले ठोस कार्यदिशा तय गर्नेछ ।

माओवादीले जनयुद्ध र जनआन्दोलनबाट स्थापित मुद्दाहरु छोड्दै आइरहेको आरोप छ नि । वास्तविकता के हो ?

हाम्रो पार्टीले जनयुद्ध र जनआन्दोलनबाट स्थापित मुद्दाहरु छोडेको होइन तिनलाई संस्थागत गर्नका लागि संघर्ष गरिरहेको छ । हाम्रो पार्टीले लचकता अपनाएर भएपनि संविधान जारी गरौं भनिरहेको छ । हालसम्म प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न, लिपिबद्ध गर्न र तिनलाई कार्यान्वयन गर्नका लागि अनेक उपायहरु खोजी गरिरहेको छ । जनयुद्धले स्थापित गरेका मुद्दाहरु नछोडेकै कारण नेपाली कांग्रेस तथा एमालेसँग सहमति भइरहेको छैन । उनीहरु जनतालाई अधिकार नदिउँ भन्छन् हामी जनतालाई सार्वभौम बनाउनु पर्छ भनेर लागिरहेका छौं । उनीहरु संघीयता छोड्न भनिरहेका छन्, हामी त्यो कार्यान्वयन हुनुपर्छ भनेर लडिरहेका छौं । त्यसैगरी शासकीय स्वरुपमा सुधार, न्यायपालिका तथा राज्यका अन्य निकायहरुको अग्रगामी पुनःसंरचना जस्ता मुद्दाहरुमा हामीले अडान लिएकै कारण न गतिरोध आएको हो ।

नेताहरुले युद्धका बेला थुप्रै आश्वासन बाँडे तर केही पूरा गरेनन्, त्यसबाट कार्यकर्ताहरु निरास, आक्रोशित र पलायन भइरहेका छन् भन्ने पनि छ नि ।

निश्चय पनि हामीले देशमा भएको अन्याय, अत्याचार र असमानता अन्त्य गरी एउटा समतामूलक र समृद्ध समाजको सपना देखेका थियौं । सोही अनुसार हामी प्रशिक्षित भयौं, प्रशिक्षण दियौं । जनवादी गणतन्त्रतात्मक नेपाल स्थापना गर्नका लागि हामीले बलिदानीपूर्वक संघर्ष ग¥यौं । हामी सबै नेता–कार्यकर्ता संघर्षको मैदानमा सँगसँगै लड्यौं । आन्दोलनलाई उठाउनका लागि कैयन् दीर्घकालीन महत्वका एजेण्डाहरु पनि उठायौं तर ती आश्वासनमात्र थिएनन् । हामी सबैले स्वयम्सेवी ढंगले आन्दोलनमा योगदान ग¥यौं । निश्चय पनि आधा दशकअघि संघर्षको बाटो मोडियो तर ती सपना पूरा गर्न अझै पनि हामी क्रियाशील छौं । बदलिदो परिस्थितिमा हिजोको तुलनामा हामीमा कैयन् कमजोरीहरु आए होलान् तर पार्टीको मूल नेतृत्व अझै पनि क्रान्तिका बाँकी कार्यभार पूरा गर्न मेहनत गरिरहेकै छ । संघर्ष पेचिलो र लामो भएकाले केहीमा निराशा र पलायन आएको हुनसक्छ तर बहुसंख्यक नेता–कार्यकर्ता नयाँ परिस्थितिमा पनि क्रियाशील छन् ।

तर, पार्टी नेतृत्व क्रान्तिबाट विचलित भएर दक्षिणपन्थी भइसकेको भन्दै केही नेताहरुले अर्को पार्टी खोलिसकेका छन्, पार्टी फूटको रहस्य के हो त ?

केही साथीहरुले यस्तो आरोप लगाएर पाँच महिनाअघि नयाँ समूह बनाएका छन् । केही नेताहरुमा शास्त्रीय ढंगले सोच्ने, केहीमा रहेका व्यक्तिगत कुण्ठा तथा अन्य केहीमा रहेका प्रतिशोधको भावनाका कारण पार्टीमा फुट आएको छ । तर, उहाँहरुले पाँच महिनाअघि पार्टी फुटाएको औचित्य अहिलेसम्म पुष्टि गर्न सक्नु भएको छैन । उहाँहरुले त्यस्तो कदमको औचित्य कहिल्यै प्रष्टाउन सक्नु हुने छैन । हाम्रो नेतृत्वलाई दक्षिणपन्थीको आरोप लगाउने साथीहरु नेपाली कांग्रेसको प्रतिगामी समूह, एमालेको यथास्थितिवादी गुट, सूर्यबहादुर थापा र कमल थापाहरुसँग मिलेर आन्दोलन गरिरहनु भएको छ । उहाँहरुको यस्ता गतिविधिले नै उहाँहरु कति पानीमा हुनुहुन्छ भन्ने स्पष्ट हुन्छ ।

अन्त्यमा, नौलो जनउभार साप्ताहिकमार्फत् आम पाठकलाई के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम, म नौलो जनउभार साप्ताहिकको सफलता एवम् विस्तारको कामना गर्दछु । यसले बहुसंख्यक गरिब, उत्पीडित र पाखा पारिएका जनताको पक्षमा निरन्तर विचार निर्माणको काम गर्नेछ भन्ने अपेक्षा गर्दछु । यसका पाठकलाई म एकीकृत नेकपा माओवादीप्रति विश्वास राखिराख्न अनुरोध गर्दछु । हाम्रो पार्टी सदैव आम शोषित र उत्पीडित वर्गको पक्षमा हुनेछ । त्

प्रस्तुति : डिल्ली मल्ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *