सिंगो गाउँभरिका बासिन्दा तरकारी खेतीमा

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 109 Views   ||

दाङ (डुरुवा) मंसिर २५ । नेपाल कृषिप्रधान मुलुक भए पनि कृषि पेशाको व्यवसायीकरण नहुँदा कृषकहरु खेतीपातीमै निर्भर हुने अवस्था सिर्जना भइसकेको छैन । तर, देशका विभिन्न स्थानहरुमा भने निकै आशाप्रदरुपमा कृषिले व्यवसायिक रुप लिन थालेको छ । त्यसैमध्येको एक हो– डुरुवाको लुहाडबरा, जहाँका अधिकांश गाउँले तरकारी खेतीलाई व्यवसायिक रुप दिदै आत्मनिर्भरताको प्रयासमा जुटेका छन् ।

तरकारी उत्पादनको राम्रो सम्भावना रहे पनि यहाँका बासिन्दाले यसलाई व्यावसायिक रुप दिएको पाँच बर्ष मात्र भएको छ । शुरुमा केही घरपरिवारले तरकारी खेतीको थालनी गरे पनि अहिले झण्डै एक सय घरपरिवार रहेको डुरुवा–३ लुहाडबरामा ६० भन्दा बढी परिवार तरकारी खेतीमा लागेका छन् भने बाँकीले पनि छिटपुटरुपमा यो खेतीलाई अगाडि बढाएका छन् ।

‘अलिअलि तरकारी खेती त पहिल्यैदेखि हुन्थ्यो तर गएको पाँच बर्षदेखि भने पूरै गाउँ तरकारी खेतीमा जुटेको छ’– कक्षा १२ उत्तीर्ण गरे पनि कुनै जागीरको खोजी नगरी दत्तचित्त भएर तरकारी खेतीमा लाग्नुभएका कालुराम चौधरी भन्नुहुन्छ– ‘अहिले ६० घरपरिवार जति यो पेशामा लागे पनि तरकारी खेती गर्नेहरुको संख्या बढिरहेको छ ।’ अर्को महत्वपूर्ण पक्ष के छ भने खेतीपातीमा पोख्न थारु समुदाय नै तरकारी खेतीमा लागेको छ । कृषक चौधरीका अनुसार यो गाउँमा सबै थारु समुदायको बसोबास छ भने तरकारी खेतीमा निर्भर रहेका कृषकहरु जति सबै थारु हुन् । उहाँले आफ्नो १६ जनाको परिवारसहित गाउँका अधिकांश मानिस तरकारी खेतीमा लागेको पनि बताउनुभयो ।

यो गाउँमा पहिलेदेखि नै छिटपुटरुपमा तरकारी खेती हुने भए पनि केही गैरसरकारी संस्थाहरुले कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गरेर खेती लगाउने तरीका सिकाएपछि र गाउँमा गाडी आउन थालेपछि यो पेशाले व्यावसायिक रुप लिएको अर्का कृषक रामु चौधरीले बताउनुभयो । हाल यो गाउँमा दैनिक चारवटा बस लाग्ने गरेका छन् भने आवश्यकताअनुसार तरकारी निर्यात गर्न अन्य यातायातका साधन पनि प्रयोग गर्ने गरिएको कृषकहरु बताउँछन् ।

यो गाउँमा कृषकहरुले आलु, गोभी, टमाटर, साग, खुर्सानी, मुला, प्याज, धनियाँलगायत मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । बाह्रै महिना सिंचाइ सुविधा भएको यो ठाउँ तरकारी खेतीका लागि निकै उपयुक्त ठाउँ देखिएको किसानहरुको अनुभव छ । ‘दाङमा धेरै यस्ता डबराहरु भए पनि लुहाडबरा तरकारीका लागि निकै राम्रो ठाउँ मानिएको छ’– कृषक कालुराम चौधरीको भनाइ छ । उहाँका अनुसार तरकारी खेतीबाट किसानहरुले बर्षेनी प्रतिघर सम्पूर्ण खर्च कटाएर ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

आफ्नो परिवारले बार्षिक एक लाख जति तरकारीबाट बचत गर्ने गरेको जनाउँदै उहाँले खेतीपातीबाट प्राप्त आम्दानीले गत बर्षमात्रै आफ्नो घरपरिवारले साढे कट्ठा जमीन किनेको बताउनुभयो । अरु किसानहरुले पनि आम्दानी बैंकमा राख्नुभन्दा जमीन किन्नमै प्रयोग गरेको उहाँले बतानुभयो । ‘अन्यत्र लगानी गरेर फाइदा हुँदैन, जमीनको मूल्य बढिरहेकाले कृषिबाट आएको आम्दानी जमीनमै लगानी गर्ने गरिएको छ, यसबाट कृषकहरुलाई दोहोरो फाइदा भइरहेको छ’– उहाँले भन्नुभयो । यहाँका किसानहरुले केटाकेटीको पठनपाठनदेखि अन्य गर्जो पनि तरकारी खेतीबाटै टार्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *