टावर छन्, नेटवर्क छैन

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 127 Views   ||

-[मेगराज खड्का]

रुकुम, मंसिर ९ । सञ्चारको विकास हुँदै गइरहेको रुकुममा सेवा भने प्रभावकारीरुपमा सञ्चालन हुन सकिरहेको छैन । टेलिफोनको विकाससँगै गाउँ–गाउँमा यसको सरल पहुँचका लागि प्रयास थालिएपनि सर्वसाधारणले सहजरुपमा सेवा पाउन सकेका छैनन् ।

कतै टेलिफानेको टावर निर्माण गरिएको भएपनि सञ्चालनमा छैन भने कतै सञ्चालनमा आएका पनि अवरुद्ध भएका छन् । रुकुमको विजयश्वरी– २ मनकोटमा एक बर्र्ष पहिले निर्माण गरिएको टेलिफोन टावर अझैंसम्म पनि सञ्चालनमा आउन सकेको छैन । भारतीय इस्टरनल कम्पनीले निर्माण गरेको नमस्ते तथा स्काइ फोन टावर अझैंसम्म पनि सञ्चालनमा नआउँदा त्यस क्षेत्रका सर्वसाधारणहरु मर्कामा परेका छन् ।

टावर जडानपछि सुरक्षा तथा उपकरण कक्षाको निर्माण गरेर छ महिनाअघि नै टावर सञ्चालनमा ल्याउने बताइएपनि अहिलेसम्म सञ्चालन नगरिएको स्थानीय शेरप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यक पर्ने कामहरु भइसक्दा पनि सञ्चालनमा ढिलासुस्ती हुनुको कारण भने खुल्न सकेको छैन । दूरसञ्चार कार्यालय रुकुमले भने यस बिषयमा आफुहरुलाई कुनै जानकारी नहुने बताएको छ । कार्यालय प्रमुख कृष्णप्रसाद शर्माका अनुसार टावर निर्माणको जिम्मा लिएका कम्पनीहरु नै यससँग सबन्धित हुन्छन् ।

पश्चिम रुकुमका विजयश्वरी, कोटजहारी, पूर्तिमकाँडा, खोलागाउँ, नुवाकोट लगायतका गाविसका सबै ठाउँमा फोन सेवाको राम्रोे पहुँच पुग्न सकेको छैन । ‘खम्बाजस्तो टावर ठड्याए भो नठड्याए भो यसको केही काम छैन’ विजयश्वरी–२ मानकोटकी स्थानीय जयकला रेग्मीले भन्नुभयो– ‘सदरमुकाम मुसिकोट खलंगाको टावरले जिल्लाको पश्चिमी गाबिसमा कति पो भ्याउला ।’ कहिले टावर सञ्चालनमा आउला र सूचना आदानप्रदानमा सहज होला भन्ने आशामा बसेका सर्वसाधारणले चाँडै फोन टावर सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । टावर सञ्चालनमा आएपछि रुकुमलगायत जाजरकोट र सल्यान जिल्लाका केही भू–भागहरुमा पनि फोन सेवाको पहुँच पुग्ने बताइएको छ ।

उता रुकुम छिवाङ–५ थुमचौरमा रहेको नेपाल सेटेलाइट टेलिकम प्रालि हेलो नेपालको टावर बिग्रिएको महिनौं बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । सञ्चालनमा नआउँदा यस टावरबाट सेवा पाइरहेका सेवाग्राही मर्कामा परेका छन् । टावरमा गत जेठमा चट्याङले क्षति पु¥याएपछि फोन सेवा अवरुद्ध भएको हो । टावर मर्मतमा सम्बन्धित कम्पनीले ध्यान नदिदा सयौं सेवाग्राही मर्कामा परेका छन् ।

जिल्लाका ग्रामीणस्तरमा टावर निर्माण गरी सेवा बिस्तार गरेपछि हेलो फोनमा आकर्षित भएका सेवाग्राही अहिले भने निरास बनेको रुकुम खलंगाका बलदेव खड्काले बताउनुभयो । जिल्लामा वितरण गरिएको हेलो सिम कार्डको यकीन विवरण नभएपनि झण्डै १२ हजार बढी सिम वितरण भएको हुन सक्ने सिम वितरकहरुले बताएका छन् । जिल्लाको छिवाङ, स्यालाखदी, गोतामकोट, रन्मामैकोट, जाङ र दुली गाविसमा हेलो फोनको टावर निर्माण गरिएको छ । सेवाग्राहीले टावर मर्मत गरी अवरुद्ध सेवा सुचारुको लागि सम्बन्धित निकायसँग मागसमेत गरेका छन् ।  जिल्लामा स्काइ, नमस्ते तथा एनसेल सेवा पनि सञ्चालनमा रहेका छन् । एनसेलले जिल्ला सदरमुकाम मुसिकोट आसपासमा मात्र सेवा पुग्ने टावर निर्माण गरी सेवा दिइरहेको छ तर ग्रामीण बस्तीमा भने यसको पहुँच छैन । त्यस्तै, जिल्लामा सञ्चालित नमस्ते फोन सेवा पनि प्रभावकारी हुन सकिरहेको छैन । जिल्लाका विभिन्न ठाउँमा रहेका टावरहरुमा बेला–बेला समस्या देखिने गरेका कारण नेटवर्कमा समस्या देखिएको जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *