शिद्धथरी सामुदायिक वनमा पुराना आकृति फेला परे

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 93 Views   ||

जनक नेपाली
दाङ, मंसिर २५ । बिजौरीको भित्री संक्राममा पर्ने शिद्धथरी सामुदायिक वनमा विभिन्न पुरना आकृतिहरु फेला परेका छन् । सामुदायिक वनको बीचमा पुराना बन्दुक, तोप, घण्ट, खेतबारी, कुलाकुलेसालगायतका विभिन्न आकृति फेला परेको स्थानीय बासिन्दाले बताएका छन् ।

परापूर्वकालमा भगवान शिद्धबाबा कौडा तथा पासा खेल्न त्यस ठाउँमा आउने गरेको धार्मिक विश्वास रहेको छ । त्यसै क्रममा भगवान शिद्धले त्यहाँ बस्नका लागि खेतबारी, कुलाकुलेसा, आत्मरक्षाका लागि बन्दुक, तोप,  पूजा गर्नका लागि घण्ट ल्याएको स्थानीयले देखेपछि शिद्धले त्यही छाडेर गएको र ती वस्तु विलीन भएको किवंदन्ती आफूले सुनेको स्थानीय कमलप्रसाद पौडेलले बताउनुभयो । आकृति फेला परेको वनको स्थानीय बासिन्दाले शिद्धबाबाको नामबाट शिद्धथरी सामुदायिक वनको नामाकरण गरेका हुन् ।
अनौठा आकृति फेला परेपछि स्थानीय बासिन्दाले पूजाअर्चना गर्ने गरेको पौडेलले जनाउनुभयो । ठूलो ढुङ्गामा फेला परेका ती आकृतिमा बेला बेलामा दैवीशक्ति उत्पन्न हुने पौडेलको दावी छ । साथै त्यस स्थानमा पटक–पटक सातमुखे नाग पनि देखा पर्ने गरेको उहाँले बताउनुभयो ।

अहिले आफूहरुले त्यस स्थानमा पूजाआजा गर्ने व्यवस्था मिलाएको स्थानीय कर्णबहादुर खड्काले जानकारी दिनुभयो । स्थानीयले दशैं, तिहार, माघेसंक्रान्ति, चैते दशैं, विवाह, पूजाजस्ता कार्य गर्दा सबैभन्दा पहिले शिद्धको पूजा आराधना गर्ने गरेको खड्काले जानकारी दिनुभयो । ती आकृति फेला परेपछि अहिले दैनिक हेर्न आउनेको संख्यामा पनि वृद्धि हुन थालेको खड्काको भनाई छ ।

एक सय आठ घरधूरी रहेको भित्री संक्रामका बासिन्दाले त्यस क्षेत्रसम्म पुग्नका लागि करिब एक लाखको लागतमा करिब डेढ किमि कच्ची मोटरबाटोसमेत निर्माण गरेको खड्काले बताउनुभयो । उहाँका अनुसार १२ दिनको जनश्रमदानमा उक्त बाटो निर्माण गरिएको र अझै डेढ किमिजति मोटरबाटो बनाउन बाँकी रहेको छ । बजेटको अभावमा मोटरबाटो बनाउने काम अधुरो रहेको भन्दै कसैले आर्थिक सहयोग नगरेको उहाँ को भनाई छ ।

आकृति फेला परेको लामो समय भएपनि प्रचारप्रसारको अभावमा बाहिर आउन  नसकेको खड्काले बताउनुभयो । प्रचार प्रसार नभएपनि विभिन्न क्षेत्रका नागरिक त्यस क्षेत्रको अवलोकन गर्न आउने गरेका छन् । बिजौरीको पर्यटकीय क्षेत्र छिल्लीकोट, शिद्धथरीको अवलोकन गर्नेका लागि अहिले विदेशी पर्यटकहरु पनि आउन शुरु गरेको उहाँले बताउनुभयो ।

त्यस क्षेत्रमा आउने पर्यटकलाई स्थानीय बासिन्दाले भव्य स्वागतका साथ गाइड गरी विभिन्न ठाउँमा घुमाउने व्यवस्थासमेत गरेको खड्काले बताउनुभयोे । आफूहरुले संक्राममा आन्तरिक तथा बाह्य  पर्यटनलाई बढवा दिने उद्देश्यले पर्यटकहरुको स्वागत सत्कारका लागि घर–घरबाट पर्यटकहरुको स्वागत गर्ने गरेको खड्काले जानकारी दिनुभयो । आफूहरु अहिले त्यस क्षेत्रमा भएका पर्यटन व्यवसायलाई बढावा दिने तयारीअनुरुप पुराना मठमन्दिर, गुम्बा, गुफा, कोललगायतका वस्तुहरु संरक्षणमा जुटेको खड्काले बताउनुभयो । पुराना वस्तुहरुको संरक्षण गरी विदेशी तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न आफुहरु लागिपरेको उहाँको भनाई छ । शिद्धथरी सामुदायिक वन समूह र स्थानीय बासिन्दाको लगानीमा शिद्धबाबाको मन्दिर निर्माण गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *