दाङ, मंसिर २५ । कार्यालयमा न कुनै पुरुष पदाधिकारी छ न पुरुषका लागि बचत लगानीको व्यवस्था । महिलाहरुलाई आर्थिक र सामाजिकरुपले सशक्तिकरण गराउने उद्देश्यले सञ्चालित महिला सामुदायिक सेवा केन्द्र अहिले १५ हजार महिलाहरुको आर्थिक उर्पाजनको सहयोगी बन्न पुगेको छ ।
गैरसरकारी संस्थाको रुपमा ०६१ सालमा घोराहीमा स्थापना गरिएको सेवा केन्द्रले अहिले ६५ करोडभन्दा माथिको लगानी गर्ने हैसियतमा पुगेको छ भने दाङ, सल्यान र प्यूठानमा आफ्ना शाखा बिस्तार गरिसकेको छ । शुरुमा एडीबी संस्थाको सहयोगमा सञ्चालन गरिएको नेपाल महिला रहेको नेपाल महिला सामुदायिक सेवा केन्द्र राष्ट्र बैकबाट स्वीकृत प्राप्त गरी लघुवित्त कार्यक्रमअन्तर्गत बचत र आर्थिक उपार्जन गर्ने काममा लगानीको काम गर्दै आइरहेको छ । त्यसका लागि नेपाल राष्ट्र बैंकले ऋण सहयोग कार्यक्रमबाट यस संस्थालाई ऋण प्रवाह गर्दै आइरहेको छ । स्थापनाकालदेखि संस्थापक अध्यक्षको रुपमा काम गर्दै आउनुभएकी विमला योगीले १५ हजार महिला आबद्ध रहेको आफ्नो संस्था अब छिट्टै विकास बैंकमा जाने योजनामा रहेको बताउनुभयो ।
महिलाहरुको नेतृत्व विकास गर्नेदेखि आयआर्जनका लागि उनीहरुले गर्ने व्यवसायमा सहुलियत दरमा ऋृण प्रदान गर्नेसम्मको काम संस्थाले गर्दै आएको अध्यक्ष योगीले बताउनुभयो । दाडको नारायणपुर, लमही, बिजौरी, हापुरे लगायतका ठाउँहरुमा सेवा केन्द्रको शाखा रहेको र अब यही १५ गतेदेखि भालुवाङ र कमिरेचौरमा पनि शाखा खुल्ने योगीले जानकारी दिनुभयो । जिल्लाका सबै शाखादेखि घोराही केन्द्रसम्मका ठाउँमा पदाधिकारीदेखि कर्मचारीसमेत महिलाहरु रहेको उहाँले बताउनुभयो । सामुदायिक महिला सेवाकेन्द्रमा सात जनाको पदाधिकारी टोली रहेको छ भने सबै शाखाहरुमा गरी ४७ जना महिला कर्मचारीहरु रहेको अध्यक्ष योगीले जानकारी दिनुभयो ।
सामुदायिक महिला सेवाकेन्द्रमा आबद्ध महिलाहरुले मासिक १० देखि ५० रुपैयाँसम्म बचत गर्दै आइरहेका छन् भने व्यवसाय सञ्चालनका लागि २० देखि ३० हजारसम्म कर्जा लिने गरेका छन् । कर्जा व्यक्तिलाई नभई समुदायलाई नै प्रदान गरिन्छ । कर्जा प्रवाहको नियमबारे बताउँदै अध्यक्ष विमला योगी भन्नुहुन्छ– ‘जिल्लाका २८ वटा गाविसका महिलाहरु यस सेवा केन्द्रमा आबद्ध हुनुहुन्छ, एक टोलमा ४० को संख्यामा महिला समुदाय रहेका छन् उनीहरुकै रोहवर र स्वीकृतिले मात्र व्यक्तिलाई कर्जा उपलब्ध गराइन्छ, त्यो कर्जा समुदायको जमानीमा हुने भएकाले व्यक्तिले कुन आयस्रोतमा लगानी गरेको छ भनि अनुगमन गर्ने काम पनि समुदायले नै गर्छ ।’ १२ प्रतिशत व्याजदरमा साना व्यवसाय विशेष गरी खुद्रा पसल, तरकारी खेती, कुखुरापालन, बाँसको चोया, अदुवा खेतीका साथै स्थानीय आवश्यकताअनुसारका ठाउँहरुमा सेवाकेन्द्रले महिलाहरुलाई कर्जा उपलब्ध गराउँदै आएको अध्यक्ष योगीले बताउनुभयो ।
अहिले सामुदायिक महिला सेवाकेन्द्रले सामुदायिक जिविकोपार्जन कार्यक्रमका साथै सद्भाव र असहाय नानीहरुका लागि शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । द्वन्द्वमा दुवै पक्षबाट पीडित भएका परिवारहरुबीच मिलाप कायम गर्ने उद्देश्यले सद्भाव कार्यक्रम सञ्चालन गरिएको र विपन्न एवम् असहाय अवस्थामा रहेका बालबालिकालाई १२ सम्मको शिक्षा आर्जन गराउने उद्देश्य शिक्षा कार्यक्रमको रहेको छ । अहिले जिल्लाका विभिन्न ठाउँका ६० जना विपन्न र असहाय बालबालिकाहरुको १२ कक्षासम्मको शिक्षा र स्वास्थ्यका लागि लाग्ने खर्च महिला सामुदायिक सेवा केन्द्रअन्तर्गत सञ्चालित शिक्षा कार्यक्रम परियोजनाले व्यहोर्दै आइरहेको छ । जिल्लामा यो कार्यक्रम २०६६ सालदेखि सञ्चालन भएको हो ।