भैंसीपालनबाट आम्दानी बढाउँदै डुरुवाका किसान

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 97 Views   ||

दाङ (डुरुवा), मंसिर २५ । डुरुवा–३ लुवाडवराका सात घर खड्का परिवारले भैंसीपालन गरेर आर्थिक उपार्जन गर्दै आएका छन् । विगत पाँच बर्षदेखि दुध बेच्दै आइरहेका खड्का परिवारको राम्रो आम्दानीको स्रोत बनेको छ भैंसीपालन व्यवसाय ।

एकै ठाउँमा लस्करै घर भएका खड्का परिवारले पहिला घरकै आवश्यकताले भैंसी पाल्दै आएपनि केही वर्ष यतादेखि आर्थिकका लागि व्यवसायिक ढंगले पाल्दै आइरहेका छन् । दुध बिक्रीबाट महिनाको चार÷पाँच हजार आम्दानी हुने र त्यही आम्दानीबाट केटाकेटीको स्कूल शुल्कसहित घर खर्च चलाउने गरेको निमबहादुर खड्का बताउनुहुन्छ । निमबहादुरको मात्र होइन नरबहादुर, दामोदर र प्रवीण खड्काको घर खर्चसमेत दुध बिक्रीबाट हुने आम्दानीबाट चलिरहेको छ । पहिला एउटा मात्र भैंसी रहने घरमा दुध बिक्री गर्न थालेपछि प्रत्येकले घरमा दुइवटा भन्दा बढी भैंसी पाल्न थालेको निमबहादुरले बताउनु भयो ।

‘हाम्रो गाउँमा सबैभन्दा बढी दुध बेच्ने किसानमा प्रवीण पर्छन्, निमबहादुरले भन्नुभयो । प्रवीणले दुइवटा भैसीबाट गरी दैनिक ७/८ लिटर दुध बिक्री गर्दै आइरहेको खड्काको भनाई छ । नजिकै कोठरी बजारमा संकलन गरी बिक्रीका लागि घोराही पु¥याइने दुध किसानहरुले लिटरको ३३ रुपैयाँमा बिक्री गर्दै आइरहेका छन् । लुहाडबरामात्र होइन डुरुवाका हरेक वडाका किसानहरुले भैंसी पालेर दुध बिक्री गर्दै आइरहेका छन् । डुरुवाबाट मात्रै दैनिक डेढ सय लिटर दुध घोराही जाने गरेको त्यहाँका किसानहरु बताउँछन् ।

डुरुवाका धेरैजसो किसानहरुले बर्षभरि नै भैंसी पालेर दुध बिक्री गर्ने भएकाले उनीहरुले चिस्यानको आवश्यकता महशुस गर्न थालेका छन् । गाउँभरिबाट जम्मा हुने दुधका लागि एउटा चिस्यान कोठरीमा हुने हो भने किसानहरुलाई दुध जम्मा गरेर राख्न सजिलो हुने किसान निमबहादुर खड्का बताउनु हुन्छ ।

दुध जम्मा गरेर राख्नका लागि चिस्यानमात्र होइन एउटा पशु सेवाकेन्द्रको आवश्यकता पनि डुरुवामा परेको छ । डुरुवामा अहिलेसम्म एउटा पशु सेवाकेन्द्र स्थापना हुन सकेको छैन । ‘यहाँका धेरैजसो किसानहरुले पशु पाल्छन् तर यहाँ गाईभैसीको उपचारका लागि एउटासम्म पशु सेवाकेन्द्र स्थापना भएको छैन’ भैसीपालन गर्दै आउनुभएका किसान निमबहादुर खड्काले भन्नुभयो । किसानहरुको आवश्यकतालाई हेरेर एउटा पशु सेवाकेन्द्र कोठरीमा स्थापना हुनुपर्ने उहाँको भनाई छ ।

कोठरी डुरुवाका धेरैजसो वडाहरुको प्रमुख सेन्टर ठाउँ मानिने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *