चौरजहारीको पहिलो साँझ

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 119 Views   ||

-[टीकाराम उदासी]

भेटघाटका क्रममा मेरा धेरै पाठक साथी वा साथी पाठकहरुले भन्नुहुन्छ– जाजरकोटका अनुभवहरु सकिए कि क्या हो ? अचेल धेरै पढ्न पाइएको छैन नि ।

म भन्छु– हैन, लेखिरहेकै छु नि त ? पढ्नु छैन अनि …… ? म ढाँट्छु आफैलाई बारम्बार । यथार्थमा मैले धेरै लेखेकै छैन वा लेख्न पाएकै छैन । बेफुर्सदी त बहाना हो मान्छेको किनकि दिनभर यताउताको दौडधूपले समय नमिले पनि रातको समय त छँदैछ नि तर हामी सधैं भन्छौं– समय पटक्कै छैन । केही गर्ने मानिसले त रातमा २ घण्टा कम सुतेर पनि केही गर्नसक्छ– मैले धेरै विद्यार्थीहरुलाई अर्ति दिइरहन्छु कलेजमा अनि आफू स्वयम् भने बारम्बार बेफुर्सदीको बहानामा समयसँग पराजित भइरहेको हुन्छु ।

शुरुमा लाग्थ्यो– समय मिलाउनैपर्छ लेख्नलाई तर आजभोलि लाग्न थालेको छ– लेख्नलाई समय मिलाउने होइन कि समय सदुपयोग गर्ने हो बरु लेख्नलाई । अध्ययन संस्कृतिका कुरा त हामी गरिरहन्छौं बेलाबखत तर लेखन संस्कृति पनि हाम्रो समस्या हो नि । अब यसका बारेमा पनि चिन्तन र बहस गर्नुपर्छ हामीले यथाक्रम ।

जागीरका सिलसिलामा पाँच/छ वर्ष बसियो जाजरकोटमा । जाजरकोटबाट फर्किएकै साँझ मैले घरमा बसेर ती दिनहरुबारे निरन्तर लेख्ने योजना बनाएको थिएँ, ती अनुभव र स्मृतिका बारेमा केही अभिलेख तयार गर्ने प्रण गरेको थिएँ तर बाँच्नुको विवशतालाई अंगालो मारेर मैले धेरै समय व्यर्थमा व्यतीत गरेको अनुभव हुँदैछ यतिबेला । ती अनुभव र अनुभूतिहरु कतिपय विस्मृतिको सुरुङभित्र गायब भइसकेको अनुभव हुँदैछ अनि कतिपय सम्झनाका जुलुसहरु पलायन हुने क्रममा उभिन पुगेको आभास हुँदैछ । केही त लेखेको छु तर निकै कम मात्र । भरसक म तिनलाई अबका दिनमा लेख्ने जमर्को गर्नेछु– ती अनुभवका धुमिल विम्ब, स्मृतिका भिराला यात्रा अनि जिन्दगीका कठीन उकालीहरु, सबै–सबै । मलाई जाजरकोटको ह्याङओभरले सायद कहिल्यै छाड्दैन, अहिलेसम्मको अनुभव हो यो किनकि धेरै अनुभवहरु छन् त्यस भूगोलभित्रका– जसले आगामी यात्रामा बारम्बार स्पर्श गरिरहनेछन् ।

कुनै पूर्वयोजना र उद्देश्यबिना नै मैले जाजरकोट यात्रा आरम्भ गरें । चैत्रको आरम्भ अर्थात् १ गते म नेपालगञ्ज गएँ दाङबाट । एकदिन म त्यतै बसें किनकि मसँग प्लेनको टिकट थिएन । अर्को दिन पनि सरकारी प्लेनको उडान भएन । खासमा नेपालगञ्ज–चौरजहारीको हवाइ यात्रामा टिकट करीब एक हप्ता पहिले नै बुकिङ हुन्थ्यो त्यतिबेला । त्यसैले दोस्रो दिन पनि मेरो यात्रा भएन तर दिउँसो नेपालगञ्जका लेखक नरेन्द्रजंग पिटरसँग फोन सम्पर्क भयो । उहाँसँग केही दिनअघि मात्र घोराही माउण्ट एभरेष्टमा भएको नयाँ युगबोध दैनिकको पच्चीस वर्ष पुगेको अवसर अर्थात् रजत महोत्सवमा भेटघाट भएको थियो । उहाँले भन्नुभयो– उदासीजी, म सहयोग गर्छु, भोलि उडान हुन्छ, म त्यसमा प्रयास गर्नेछु ।

साँझ म उहाँसँगै घुमें नेपालगञ्ज, दिउँसो गर्मीका कारण साँझमा परिभ्रमण गर्नु त्यहाँको वातावरणीय सीमा । खासमा उहाँहरुले भर्खरै खोल्नुभएको दशरथ पुस्तकालयमा गयौं अनि अन्यत्र पनि । सबै ठाउँ त मैले बिर्सिएँ यो बीचमा । अर्को दिन उहाँले टावरका साथीमार्फत् मेरो प्लेनको टिकट मिलाइदिनुभयो चौरजहारीसम्म । म उडें, जीवनमा पहिलोपल्ट प्लेनमा– नेपालगञ्जदेखि रुकुमको चौरजहारीसम्म । १८–२० मिनेटमै चौरजहारी पुगियो, नेपालगञ्जको गर्मी अझै हटेको थिएन शरीरमा । त्यसो त चौरजहारीमा पनि गर्मी नै थियो तर साँझ साढे ४ बजे पुगेका कारण घाम त्यति थिएन । मान्छेहरु सबै हिंडे, खासगरी जाजरकोटीहरु पनि आ–आफ्ना बाटो लागे, त्यसमा लालबहादुर महतारा र नगेन्द्र शाह पनि थिए । म अहिले पनि उहाँहरुलाई सम्झिरहेको छु तर त्यतिबेला त हाम्रो परिचय नै थिएन नि । पछि त धेरै नै संगत भयो जाजरकोट बसाइँका क्रममा दुवैसँग ।

सबै बाटो लागे पनि हामी दुई नयाँ यात्री अलमलमै थियौं । जहाज तुरुन्तै नेपालगञ्ज फर्कियो । लोडरले हाम्रा सामान हामीकहाँ पनि पु¥यायो तर हामी मानिस खोजिरहेका थियौं, सामान होटेलसम्म पु¥याउने । दाङमै मित्र चूर्ण पुनले भन्नुभएको सम्झिएँ– चौरजहारी पुगेपछि एउटा लाटो छ, त्यसले भारी जाजरकोट पनि लैजान्छ, उसलाई पक्रनुहोला, नत्र अरु भरियाले महंगो लिन्छन् वा ठग्न सक्छन् ।

त्यतिबेला अर्का एक यात्री पनि अल्मलिएको अनुभव गरें मैले । उनी रहेछन्– सुर्खेत आइ.एन.एफ.का कर्मचारी तोयनाथ योगी, जाजरकोटमा तालिम दिन गइरहेका तर पहिलोपल्ट मात्रै जाजरकोट हिडेको । उनीसँग परिचय भयो हतारमा अनि त्यतै बस्ने सल्लाह पनि भयो । लाटोलाई भनेको त उसले के–के बोल्यो बुझिएन बरु पत्रपत्रिकाका केही बिटाहरु बोकेर बाटो तताइहाल्यो । अर्को दिन जाजरकोट बोहरा गाउँको उकालोमा हामी असिनपसिन भएर हिडिरहेको बेला खलंगाबाट फेरि चौरजहारी झर्दै थियो ऊ त । हामीलाई चिनेर हाँस्दै थियो, हामीले भने व्यग्ङ्य गरेजस्तो अनुभव ग¥यौं ।

पछि एउटा चौरजहारी घारीगाँउको वादी थरको केटा भेटियो । उसले निकै सहयोग ग¥यो हामीलाई । त्यस साँझ उसले हामीसँगै खाना खायो । उसले सामान होटेलसम्म पु¥याइदियो, अर्को दिन जाजरकोटसम्म पु¥याउने मानिस बनाइदियो अनि लामो समय हामीसँग गफ गरेर चौरजहारीलाई अझै नजिक पनि बनाइदियो । चौरजहारीको पुरानो र परिचित होटेल रहेछ– बाग्लुङ गेष्ट हाउस । हामी त्यसैमा बस्यौं तोयनाथ र म । उहाँ निकै रमाइला र भद्र मानिस– म पनि रमाइलै स्वभावको । उहाँ दाङमा पनि केही समय बस्नुभएको रहेछ– त्यसले हाम्रो सम्बन्धलाई झनै नजिक र बलियो बनायो ।

यात्रा त प्लेनको थियो तर हामी दुबै थाकेका थियौं । सायद प्लेनको प्रतीक्षाको कारणले पनि हामी थकित हुनुपरेको थियो । उहाँले भन्नुभयो– सर एकैछिन बस्ने हो कि, चिसो पनि छ । उहाँको आशय चौरजहारीको माछासँग थोरै पिउने थियो । साँझतिर सिरसिरे हावाले चिसो पनि बनाएको थियो चौरजहारीलाई– हामी सबैलाई । लिनुस् न हजूरले, माछासम्म त म पनि साथ दिऊँला तर अरुचाहिँ चल्दैन है– मैले भनेपछि उहाँ पनि त्यस साँझ माछामै सीमित हुनुभयो ।

त्यस दिन हामीले साँझको खाना समयमै खायौं । होटेलमा भीड खासै थिएन । नजिकै उत्तर दक्षिण भएर अविरल बगिरहेको भेरी नदीका कारण चौरजहारीमा जाडो बढिरहेको थियो क्रमशः । चिसो मौसम अनुभव भयो मलाई त्यस साँझ चौरजहारीमा । हामीले झ्यालबाहिर हे¥यौं– जाजरकोट सदरमुकामको खलंगा डाँडा । त्यस साँझ खलंगा बजार चौरजहारीबाटै गएको बिजुली बालेर झिलिमिली उज्यालो थियो अनि धेरै खलंगाबासी सम्भवतः त्यस साँझ पनि चौरजहारीबाट गएको चामलको भात पकाउँदै थिए, भात खाँदै थिए वा भात खाएर प्रसंग बेप्रसंगका गफहरु चुटिरहेका थिए ।

त्यसपछि चौरजहारीमा धेरै साँझहरु व्यतित गरियो यात्राक्रममा तर पहिलो साँझ अनौठो अनुभूतिसहित मलाई सधैं–सधैं स्मरण भइरहन्छ । पहिलो अनुभव जे पनि अलि बढी नै स्मरणीय हुने भएर पो हो कि ? म अझै दुविधामा रहेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *