खुलापत्र

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 136 Views   ||

-[यज्ञबहादुर डाँगी]

प्रिय कमरेड
उज्यालो भविष्यसम्मको लाल सलाम

आराम चाहन्छु
समाल्न नसकिने होइन बिमार
आराम छु
चिन्तनको पंखामुनि
चिन्ताको पसिना सुकाइरहेछु ।

असजिलोसँग सास लिइरहेको समयले
एउटा नयाँ किताब दिएको छ देशलाई
जसको बाहिर लेखिएको छ–
त्यसरी हिड जसरी हिड्छ नयाँ लडाइँ
त्यसरी चल जसरी चल्छ नयाँ आँधी
भित्र कति छन् नयाँ पानाहरु
पानीबिना नै टिकिया निलिरहेको छु
आराम त आरामै छु
बुझ्न कवितालाई नै खटाएको छु ।

तपाइले
सबभन्दा गहिरो तालको तालमा
सबभन्दा उँचाइको उँचाइमा
धरहराजत्तिकै मोटो कलमले
देशकै क्षेत्रफलभरिको कागजमा
सकेसम्म मन हुकाएर
सकेसम्म दिल फुकाएर
अनुकल्पना गरेको प्रचण्डपथलाई
पढ्न पनि सकिरहेको छैन
च्यात्न पनि सकिरहेको छैन
मट्टितेल छम्केर सलाई कोर्न पनि सकिरहेको छैन
केवल पानी छम्केर करेसामा राखेको छु
धमिराले ठुन्न पनि सकेको छैन
हुरीले लग्न पनि सकेको छैन
झरीले गल्न पनि सकेको छैन
जसरी आलुको खेतीमा पर्छ
अझै परेको छैन पाला
विडम्बना ! साहु भएर टुक्रुक्क बसेको छ कोठामा
ऋणीको आँखाले हेर्न पनि सकिरहेको छैन
ऋण खाए नखाएको पनि पत्तो छैन
के गरी धपाऊँ कसरी
यो देशमा
नैतिकताको लौरो छैन
तर पनि सचेत छु म
नआउनुपर्ने यो झमेलालाई
नवजात शिशु मानेर नै
कर्तव्यको झोलुङ्गोमा हुर्काइरहेको छु

सबैभन्दा राम्रोसँग हुर्केका वरपीपल खोजेर
संकीर्णताको रोग नलागोस् भनेर
दीर्घायूको कामना पनि गरेको छु

सँगसँगै लडियो
अब एक्ला–एक्लै लडेर हेरौं के हुँदोरहेछ
राजनैतिक आन्दोलनले प्रभावित
एउटा कविता लेख्ने सुरमा छु
बाँकी इतिहासको मोडमा ।

२८ असोज, ०६९ दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *