बहुमुल्य ग्राउन एप्पलले मूल्य पाएन

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 151 Views   ||

-[गोविन्द खड्का] (थवाङबाट फर्केपछि)
दाङ, मंसिर २५ । प्रयोग गर्ने विधि नजान्दा लाखौं मूल्य पर्ने ग्राउन एप्पल कृषक आफैले खानुपरेको छ । रोल्पाको थवाङमा रहेको अजम्बरी जनकम्युनमा आबद्ध कृषकहरुले उत्पादन गरेको ग्राउन एप्पल प्रयोग गर्न नजान्दा आफैले खानुपरेको हो ।

‘फल्न त राम्रै फल्यो । तर कसरी राख्ने, के बनाउने भन्ने थाहा नहुँदा आफैले खायौं, कम्यून सदस्य सुमन्ती रोकाले भन्नुभयो– ‘केही थाहा नहुँदा बिक्री पनि गर्न सकिएन ।’ उचित तरीकाले राख्न नसक्दा चाँडै सड्ने भएकाले लामो समयसम्म पनि राख्न नसकिएको र बजार व्यवस्थापन पनि गर्न नसकिएको उहाँको भनाई थियो ।

पहिलोपटक लगाएकाले उत्पादित ग्राउन एप्पललाई विक्री वितरणको व्यवस्थापन गर्न नसकिएको जनकम्युनका इन्चार्ज प्रवेश रोका ‘छिरिङ’ले बताउनुभयो । पहिलोपटकको उत्पादन विक्री गर्न नसकिएपनि अबको केही महिनाभित्रै दोस्रो लटको फल निकालिने भएकाले त्यसलाई व्यवस्थापन गर्न तयारी गरिरहेको रोकाले बताउनुभयो । रोकाका अनुसार एउटा फललाई दुई सय रुपैयाँसम्म मूल्य पर्ने ग्राउन एप्पलको ब्याड माघमा राखिन्छ भने जेठमा बोट सारेर पुसमा फल निकालिन्छ । ग्राउन एप्पलको फल आलुजस्तो, तरुलजस्तो हाँगा भएको र नभएको गरी तीन प्रकारको हुने रोकाले बताउनुभयो ।

ग्राउन एप्पलको खेती पेरु, भेनेजुयला, इक्वेडरलगायतका देशबाट भएको भन्दै रोकाले नेपालमा नुवाकोटको ककनीमा केही वर्षअघिदेखि खेती गरिएको बताउनुभयो । आफूहरुले दुइवर्षअघि जर्मनबाट ग्राउन एप्पलको टुसा ल्याएर खेती शुरु गरेको उहाँले जानकारी दिनुभयो । एउटा टुसाको डेढ सय रुपैयाँ पर्ने र अजम्बरी जनकम्युनले शुरुमा ४५ हजारको बीऊ ल्याएर खेती गरेको रोकाले जानकारी दिनुभयो ।

ग्राउन एप्पलबाट पाउडर, जुस, वाइनजस्ता महंगा सामग्रीहरु बनाउन सकिन्छ भन्ने सुनेपनि आफूहरुले अहिलेसम्म बनाउन नसकेको रोकाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो वर्ष उत्पादित केही फल ल्याव परिक्षणमा लग्दैछौं । के–के बन्छ ? त्यसपछि मात्र यसको उपयोग हुने आशा गरेका छौं ।’ फलका साथै ग्राउन एप्पलको पात चियाको रुपमा प्रयोग हुने र डाँठसमेत प्रयोगमा आउने जानकारी पाएको रोकाको भनाई छ ।

गत वर्ष एउटा बोटबाट पाँच केजीसम्म एप्पल निकालिएको कम्यून सदस्य कुमार रोकाले बताउनुभयो । ग्राउन एप्पलको खेतीमा गाइभैंसीको गोबरमात्रै प्रयोग गरिएको उहाँको भनाई थियो । ग्राउन एप्पल खेती गरिएको बारीमा जेठमा निकाल्न सकिने गरी बेमौसमी आलु लगाएर दुइ बाली भित्र्याउन खोजिएको पनि रोकाले बताउनुभयो । प्रत्येक वर्ष लगाइने र ग्राउन एप्पलको डाँठ, पात, फल सबै काम लाग्ने भएकाले व्यवसायिक खेती गर्न उचित हुने कम्युन इन्चार्ज प्रवेश रोकाको भनाई छ ।

बजार व्यवस्थापन र सदुपयोग गर्न सके थवाङमा ग्राउन एप्पलको उत्पादनबाट राम्रो आम्दानी गर्न सकिने यहाँका स्थानीय बासिन्दा बताउँछन् ।  उसो त बहुमुल्य वस्तुको बजार व्यवस्थापनदेखि प्रशोधनका लागि एक्लै केही गर्न नसकिने भन्दै यहाँका बासिन्दाले सरकारी तहबाटै ग्राउन एप्पल खेतीका लागि पहल गर्नुपर्ने माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *