थारु जातिको पेन्ड्या पर्व : एक चर्चा

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 156 Views   ||

गत वर्ष नाचगान गरी पेन्ड्या पर्व मनाउँदै घोराही–३, ओखराका थारु समुदाय । तस्वीर : प्रकाश चौधरी

-[सन्तोष दहित]

नेपालका भूमिपुत्र थारु जातिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा  छुट्टै पहिचान रहिआएको छ । आफ्नो उच्च भेषभूषा, रहनसहन, भाषा, संस्कृति एवं जीवनशैली अत्यन्त रोचक र फरक रहेको छ । थारु जातिका मानिसहरुको स्वभाव सरल, इमान्दार एवं मेहनतीको रुपमा पनि चिनिने गर्दछ । प्रकृतिसँग अत्यन्त नजिक सम्बन्ध रहेको छ । त्यसैले थारु जाति नेपाली संस्कृतिको सबैभन्दा धनी जातिको रुपमा  मानिन्छन् । त्यसैले होला प्रत्येक महिनामा कुनै न कुनै पर्व थारु जातिले मनाउँदै आएका छन् । थारु जातिका दशैं, तिहारपछि ‘पेण्ड्या पर्व’लाई निकै महत्वका साथ उल्लासमय वातावरणमा धुमधामका साथ मनाउँदै आएको पाइन्छ ।

‘पेन्ड्या’ थारु जातिको एक महत्वपूर्ण पर्व हो । यो पर्व खासगरी मंसिर, पुस महिनामा मनाउने गरिन्छ । यो पर्व यही दिन मनाउनुपर्छ भन्ने छैन । थारु जातिले ‘पेन्ड्या’ पर्व मनाउनुको मुख्य कारण खेतबाट धान खल्यानमा भित्र्याएर सबै धान दाइँ मारिसकेपछि गाउँलेहरु मिलेर सुंगुर, खसी काटी खुसीयालीको रुपमा मनाइन्छ । यसरी मनाइने पर्वलाई थारु भाषामा ‘पेन्ड्या’ भनिन्छ । हिजो आज थारु गाउँमा थारु जातिले ‘पेण्ड्या’ मनाइरहेका छन् । ‘पेन्ड्या’ मनाउने बेला आफ्ना सबै इष्टमित्र, नातेदारलाई बोलाएर उल्लासमय वातावरणमा यो पर्व मनाउने गरिन्छ ।

थारु समुदायले गाउँभरिका सबै जना एक ठाउँमा जम्मा भएर छोक्रा, हुर्डुङ्ग्या नाच नाचेर रातभरि रमाइलो गरी यो पर्व मनाउने गर्छन् । बर्षभरि खान लाउनको लागि धान सुरक्षित ठाउँमा अर्थात् घरमा भित्र्याइसकेपछि यो ‘पेन्ड्या’ पर्व खुशीयालीका रुपमा मनाउने गरेको पाइन्छ । थारु जातिले धान भित्र्याउने बेला जति दुःख, कष्ट भएपनि यही पर्व मनाएर बिर्सिने गरेको पाइन्छ । त्यसैगरी बर्ष दिनसम्म आफ्नो इष्ट, मित्रहरुसँग भेटघाट गर्ने अवसर पनि मिलाएका हुन्छन् ।

यही पर्व मनाइरहेका बेला २०५९ मंसिरमा तत्कालिन शाहीसेनाको एक टोलीले लक्ष्मीपुरको बेलुवा बञ्जाडीमा पेन्ड्या मनाइरहेका आठ जना युवाहरुको सामूहिक हत्या गरेको थियो । बर्षभरि खान लाउन त्यही धानले थारु जातिले आफ्नो गुजारा गर्दै आएका छन् । त्यही खुशीयालीमा वेलुवा बञ्जाडीका थारु जातिमा उल्लासमय वातावरणमा ‘पेन्ड्या’ पर्व मनाइरहेका बेला एक्कासी गाउँमा शाहीसेना पसेर माओवादी भन्दै घरबाट निर्दोष थारु युवाहरुलाई लाइन लगाएर गोली हानी हत्या गरिएको थियो ।

त्यसपछि थारु जातिले यो ‘पेन्ड्या’ पर्व सुस्त–सुस्त मनाउन छाडिरहेका छन् । किनकि जुन वेलुवा बञ्जाडीको घटनापछि थारु जातिले फेरि ‘पेन्ड्या’ मनाउने बेला शाही सेना आएर गोली हानी हत्या गर्ने हो कि भन्ने डर, त्रास र चिन्ता छँदैछ । त्यसैले त्यो डर, त्रासमा डुब्नुभन्दा यो ‘पेन्ड्या’ पर्व नमनाउने उचित थारु जाति ठान्दछन् ।

यसरी गर्दा संस्कृतिका धनी थारु जातिको संस्कृति हराउँदै गएको पाइन्छ । जुन कुरालाई थारु जातिको पहिचान हराउँदै गएको हामीले महशुस गरेका छौं । कुनै पनि जातिले आफ्नो संस्कृति स्वतन्त्र रुपमा मनाउन पाउनुपर्छ । यति अधिकार हुँदाहँदै पनि थारु जातिका हरेक पर्वलाई राज्यले वेवास्ता गर्दै आएको छ । यस विषयमा राज्यले सोच्नुपर्छ ।

थारु जाति पनि यही देशका जनता हुन् । यिनीहरुले पनि स्वतन्त्ररुपमा आफ्नो पर्व मनाउन पाउनुपर्छ भन्ने वातावरण राज्यले मिलाइदिनुपर्छ । तब मात्र थारु जातिले नयाँ नेपालको परिकल्पना गर्नेछन् । देशमा लोकतन्त्र, गणतन्त्र स्थापना भइसकेको अवस्थामा थारु जातिले स्वतन्त्ररुपमा आफ्नो संस्कृति निर्धक्क तरिकाले मनाउनु नपाउनु भनेको थारु जातिका मात्र नभएर सिङ्गो मानव जातिका लागि दुःखद कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *