बुढेसकाल लाग्यो, नागरिकता छैन

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 89 Views   ||

-[जनक नेपाली]

दाङ, मंसिर २५ । थाहा पाउने उमेरदेखि अर्कोको घरमा काम गरेर ज्यान पाल्दै आएकी शान्ति वादीलाई ६८ बर्षको उमेरसम्ममा आफू नेपाली नागरिक भएको प्रमाण नहुँदा निकै मन दुख्ने गरेको छ  । उमेरले डाँडा काट्न लाग्दासमेत नेपाली नागरीक हुँ भन्ने प्रमाण देखाउने कुनै आधार नहुँदा गाविसबाट पाउने वृद्धभत्ताबाट समेत वञ्चित हुनुपरेको शान्तिको भनाइ छ ।

सौडियार– ३ मा बस्दै आएकी शान्ति वादी हातमुख जोड्नका लागि दैनिक ज्यालादारी काम गर्दै आइरहनुभएको छ । नागरिकता भए गाविसबाट पाउने भत्ताबाट घर खर्च चलाउन अलि सजिलो हुने उहाँको भनाइ छ । आफू सानो छँदा बाआमाले जन्मदर्ता बनाइदिएपनि उनीहरु मरेपछि जन्मदर्ता हराउँदा अहिलेसम्म नागरिकता बनाउन नपाएको दुखेसो शान्तिको छ । आफ्नो मात्र नभई बादी बस्तीमा बस्दै आएका धेरैजसोको नागरिकता नभएको शान्ति वादी बताउनुहुन्छ । बबइ नदीको किनारमा रहेका १४ घरपरिवार बादी समुदायमध्ये धेरैको नागरिकता नभएको शान्ति वादीले बताउनुभयो ।

आफूले नागरिकता बनाउन खोज्दा फोटो खिच्ने पैसा, जिल्ला प्रशासनसम्म लग्ने र साँझ बस्ने खर्च नहुँदा उतिबेला नागरिकता बनाउन अप्ठ्यारो परेको शान्तिका श्रीमान् गोपाल वादीले बताउनुभयो । पहिला प्यूठान घर बताउने शान्ति आफू पाँच बर्षको हुँदा आमाबा मरेकाले निकै दुःख खेप्नु परेको पीडा पोख्नुहुन्छ । शान्तिका श्रीमान गोपाल वादी दिनभर बबइमा जाल खेलेर मारेको माछा बेचेर घर खर्च टार्दै  आउनुभएको छ ।

बादी बस्तीमा विकास योजना छनौट

दलित महिला एकता केन्द्र दाङको आयोजनामा बादी महिला सचेत समूह र सामुदायिक विकास योजना निर्माण कार्य सौडियारले गत मंगलबार लखवारको बादी बस्तीमा विकास योजना छनोट गरेको छ । बस्तीमा सामुदायिक भवन निर्माण, सीप विकास कार्यक्रम, एकीकृत बंगुरपालन, जन्मदर्ता र नागरिकता प्रमाणपत्र वितरण लगायतमा योजना छनौट गरिएको हो ।

योजना छनोट भेलाले देवकला नेपालीको अध्यक्षतामा ९ सदस्य बादी महिला सचेत समूह पनि गठन गरेको छ । समूहको उपाध्यक्षमा बिष्णु नेपाली, सचिवमा सिता नेपाली र कोषाध्यक्षमा सुनिता नेपाली रहनु भएको छ ।

त्यसैगरी घोराही– ८ बादी बस्तीमा रहेको दुर्गाभवानी टोलमा पनि बबिता नेपालीको अध्यक्षतामा ११ सदस्यीय बादी महिला सचेत समूह गठन गरिएको छ । समूहको उपाध्यक्षमा सरस्वती नेपाली, सचिवमा रञ्जिता नेपाली, सह–सचिवमा सीमा नेपाली र कोषाध्यक्षमा तिला नेपाली रहनुभएको छ ।

त्यस्तै, भेलाले सिर्जनशील टोलमा सन्ध्या नेपालीको अध्यक्षतामा ११ सदस्यीय बादी महिला सचेत समूह गठन गरेको छ । समूहको उपाध्यक्षमा तारा नेपाली, सचिवमा पुनम नेपाली, सह–सचिवमा उमा नेपाली र कोषाध्यक्षमा सरिता नेपाली रहनुभएको छ । एकता केन्द्रकी सामाजिक परिचालिका कल्पना नेपालीले वादी बस्तीमा विभिन्न सामुदायिक विकास योजना छनौट गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *