शिक्षा, राजनीति र युवा

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 288 Views   ||

-[निलम आरसी]

नेपालमा सर्वसाधारणले शिक्षाको अवसर धेरै पछि पाए । यसले गर्दा औपचारिक शिक्षाको विकास २००७ सालपछि भएको पाइन्छ । नेपालमा १ सय ४ बर्षे राणाकालीन व्यवस्था र त्यसभन्दाअघि राजपरिवार, राणा र कुलीन वर्गका सन्तानबाहेक अरु शिक्षा पाउने अवसरबाट वञ्चित भए । सर्वसाधारणलाई शिक्षाबाट वञ्चित गराएर राणा र राजाहरुले लामो समय आफ्नो शासन सत्ता टिकाए । राणा शासनको अन्त्यपछि बल्ल सर्वसाधारणले शिक्षा हाँसिल गर्ने अवसर पाए । तर, शिक्षा राजसंस्थाको वरिपरी घुमेको थियो । अर्थात् राणा शासन अन्त्य भएपछि पनि सर्वसाधारणले शिक्षा लिने अवसर त पाए तर त्यो शिक्षा देशलाई समृद्धि र विकास गर्नेभन्दा राजाको संरक्षण र सेवामा मात्र सीमित रहन गयो । राजा ‘भगवान’ हुन्, उनको ‘विरोध’ गर्नुहुन्न भन्ने नेपालको शिक्षा नीति नै थियो । राजा सबैका ‘साझा’ भन्ने भ्रम सबैमा थियो । आज पनि केही सामन्ती सोच भएका व्यक्तिहरुमा त्यो भ्रम छ । राजा ‘सामन्तवादका नाइके’ हुन् भन्ने कुरा दलका नेताहरुलाई त थाहा थियो तर सर्वसाधारणसम्ममा यस्तो चेतना विकास भइसकेको थिएन । तत्कालीन समयमा शिक्षा क्षेत्रमा पनि राजाको गुणगान गाउनेबाहेक अरु के नै शिक्षा थियो र । त्यतिबेलाको शिक्षाले राजाको सेवक बनाउथ्यो । प्राथमिक र माध्यमिक तहमा राजाको पूरै सेवामा समर्पित शिक्षा थियो भने माथिल्लो तहमा अव्यवहारिक, अवैज्ञानिक र सामन्ती शिक्षा प्रणाली थियो ।

नेपालको संविधान नै ‘अपरिवर्तनीय’ हो भनेपछि तत्कालीन समयमा राजाको विरोध गर्ने कुरै आएन । त्यसैअनुसार बुझ्न सकिन्छ शिक्षा कस्तो थियो भन्ने कुरा । तर, माओवादी जनयुद्ध थालनीअघि भीमदत्त पन्तले पश्चिममा थालेको विद्रोह, झापा विद्रोहलगायत तत्कालीन एमाले महासचिव मदन भण्डारीले राजाको खुलेरै विरोध गरेपछि युवा विद्यार्थी र नेपाली जनतामा जिज्ञासा जाग्यो । ठूल्ठूला आमसभाहरुमा राजालाई श्रीपेच खोलेर मैदानमा आउ भनेपछि जनतामा राजाको बारेमा चर्चा परिचर्चा हुन थालेको थियो । नेता मदन भण्डारीको हत्यापछि राजाले नै जनताको शासन व्यवस्था आउन रोकेका छन् भन्ने कुरा सर्वसाधारण बीचमा लिने नेता र पार्टीहरुको खाँचो थियो । एमालेले त्यो भूमिका पूरा गर्न सकेन । बरु एमाले राजाको सेवक बन्दै गयो । माधवकुमारले त राजालाई दाम चढाएर ढोगे । काँग्रेसले त राजाको बारेमा तत्कालीन समयमा विरोध गर्ने कुरै थिएन । अहिलेको एकीकृत नेकपा माओवादी तत्कालिन एकता केन्द्र मसालको वैधानिक मोर्चा ‘संयुक्त जनमोर्चा’लगायतका दलले विरोध गरेपनि सबै क्षेत्रमा राजाको पहँच हुँदा त्यो निष्प्रभावी हुन्थ्यो । राजाको विरोध गरे पनि बन्दुकले दमन गरिन्थ्यो । बन्दुकको त्रास देखाएर शासन चलेको थियो ।

ग्रामीण वर्गसंघर्ष सञ्चालन भएपनि प्रभाव कम थियो । यिनै कुराहरुले युवा विद्यार्थी र जनतालाई यो शिक्षा प्रदान ग¥यो कि राजाको सेवा गर्दैछौं, यिनी नै हाम्रो शासन व्यवस्थाको ‘शत्र’ रहेछन् । त्यसपछि राजतन्त्र र राजतन्त्र वरिपरि बसेर जनतालाई शोषण गर्ने प्रतिक्रियावादीप्रति युवा विद्यार्थी र उत्पीडित वर्गमा घृणा पैदा भयो । तर, विद्यार्थीहरु चेतनास्तरको हिसाबले धेरै माथि थिए । माथिल्लो तहका विद्यार्थीमा हरेक परिवर्तनको लागि थालिएका आन्दोलनमा समावेश र सहभागी हुनुपर्छ भन्ने जागरण पैदा भएको थियो । त्यसैले हरेक परिवर्तनकारी आन्दोलनमा युवा विद्यार्थीको बलिदान भएको छ ।

विगतलाई हेर्दा यो निष्कर्षमा पुगिन्छ कि नेपालका परिवर्तनकामी आन्दोलनमा युवाहरुको भूमिका महत्वपूर्ण हुने गरेको छ । युवाको सहभागिताबिना कुनै पनि आन्दोलन सफल पनि भएका छैनन् । युवामध्ये पनि विद्यार्थीहरुको भूमिका नेपालको सन्दर्भमा हरेक आन्दोलनमा अझ बढी देखिन्छ । नेपाल सदियौंदेखि बिशेष गरी सामन्तवाद, भारतीय विस्तारवादबाट बढी उत्पीडित भएकाले आम जनतामा राजनैतिक चेतनाको विकास हुनुभन्दा पहिले युवामा भएको पाइन्छ । किनकि युवाहरु कम रुढीवादी हुनुका साथै शिक्षित भएकाले छिटो परिवर्तन आउनु स्वभाविक पनि हो । त्यसैले नेपालमा भएको २००७ सालको परिवर्तन, २०४६ सालको परिवर्तन, २०६२/०६३ को आन्दोलन र दश बर्षे जनयुद्धको प्रभाव पनि आम सर्वसाधारणमा भन्दा पहिले युवामा बढी पर्दा उनीहरु आन्दोलनमा उल्लेख्य सहभागी भए । यही युवाहरुको ठूलो हिस्सामा जागरण आएपछि जनयुद्धले छोटै अवधिमा तीव्र विकास गरेको हो । धनीहरु धनी हुने, गरिबहरु झन् गरिब हुने व्यवस्थाको बारेमा युवा विद्यार्थी र उत्पीडित गाउँबस्तीमा माओवादीले यो शिक्षा दियो कि ‘बन्दुकबाट सत्ता चलाउने विरुद्ध बन्दुक बोक्न जरुरी छ । अत्याचारी सत्ता भत्काउँदै जनताको सत्ता ल्याउनुपर्छ, अधिकार र सत्ता अब मागेर हैन खोसेर लिनुपर्छ ।’ हो जनयुद्ध थालनी भएपछि त्यसको अग्रपंक्तिमा युवा विद्यार्थीहरु र उत्पीडित गाउँबस्तीहरु नै सहभागी भएका थिए ।

शिक्षित युवाहरु कुनै न कुनैरुपमा राजनीतिसँग जोडिएका हुन्छन् । राजनीतिसँग युवा विद्यार्थी जोडिएका छन् भन्दा कतिपयले अस्वीकार गर्छन् । तर, वास्तविक कुरा यो हो कि विद्यार्थी घर, परिवार र त्यही समाजको सदस्य भएकाले राजनीतिबाट छुट्याउन मिल्दैन । सबैभन्दा बढी चेतना विद्यार्थीमा हुने भएकाले राजनीतिसँगै शैक्षिक क्षेत्रमा परिवर्तनका लागि विद्यार्थीहरु नै आन्दोलनमा होमिनुपर्ने हुन्छ । शिक्षा र राजनीतिलाई अलग गरेर हेर्न सकिदैन । राजनीति र शिक्षालाई अलग–अलग ढंगले बुझियो भने गलत हुन्छ । राजनीतिक परिवर्तनबिना शैक्षिक परिवर्तन असम्भव छ ।

शैक्षिक परिवर्तनका लागि पनि विद्यार्थीको सम्बन्ध राजनीतिसँग गाँसिएको हुन्छ । यसलाई एकअर्काबाट अलग गर्न मिल्दैन । राजनीतिसँग शिक्षा जोडिएसँगै शिक्षासँग सिङ्गो मुलुकको युवाशक्ति जोडिएको छ । त्यस्तै युवाशक्ति शिक्षासँग जोडिएकाले हरेक परिवर्तनको निम्ति थालिएको अभियानमा युवाको सहभागिता रहन्छ । देशको लागि थालिएका हरेक अभियानमा युवा सहभागी भएका छन् किनकि युवामा परिस्थितिसँग मुकाबिला गर्ने, भिड्ने र लड्ने तागत हुन्छ । त्यसैले युवाहरु आन्दोलनमा समावेश भएर ऊर्जा प्रदान गर्नुका साथै ठूल–ठूला तानाशाहहरुलाई तह लगाएको इतिहास हामीसँग छ ।

यहाँ प्रसङ्ग अलि अगाडिको जोडौं, शिक्षा सबैको लागि भनेपछि धनीले पढ्ने शिक्षा र गरिबले पढ्ने शिक्षामा विभेद आयो । शिक्षामा विभेद भयो है, व्यवहारिक र बैज्ञानिक शिक्षा हुनुपर्छ भन्ने कुरा सबैसामु जनयुद्धकै बीचमा अखिल क्रान्तिकारीले सावर्जनिक ग¥यो । आज पनि यो मुद्दा प्रभावकारी हुन सकेको छैन । यसमा सबै विद्यार्थी एकताबद्ध भएर अगाडि बढ्न जरुरी छ । अनिमात्र सबैका लागि सर्वसुलभ र बैज्ञानिक शिक्षा हुन सक्छ । अर्को कुरा हरेक आन्दोलनमा युवाहरुको सहभागिता अनिवार्यजस्तै भएको त छ तर आन्दोलनहरु सफल भएपछि ठूलाबडाहरु कुर्सीमा जाने अनि युवालाई बिर्सने गरिन्छ । अब भने नेपाली युवाहरु सचेत र सजग हुन जरुरी छ । युवालाई प्रयोग गर्ने तर हरेक अवसरबाट वञ्चित गर्ने परिपार्टीका विरुद्ध सबै युवा र विद्यार्थीहरु एक भएमा मात्र शिक्षा, राजनीति र युवाका समस्याहरु समाधान हुन सक्छन् र सरोकारवालाहरुका समस्याबारे सोच्न बाध्य होलान् कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *