सोह्र वर्षपछि

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 81 Views   ||

-[अभय श्रेष्ठ]

सोह्र्र वर्षपछि
मेरा आँखामा फर्किएको छ त्यो ज्वाला
जसको रापले कुनै दिन
डढेको थियो कालो संविधानको पुस्तक ।

सोह्र्र वर्षपछि फेरि
युद्धबन्दी छ दिमागको किल्ला
काटिएका छन् हातका औँलाहरु
गायब छ केशमा शिरको सौन्दर्य ।

बिउँझिएर उठेका छन्
मृत संविधानका अक्षरहरु
र, टाँसिदैछन् नयाँ संविधानका अक्षरमाथि
जसरी अखबारको पेस्टरले
पुरानै नक्सामा टाँस्छ नयाँ तस्बिर ।

सुन्दर मुलायम बगैँचामा
सुँगुरहरुले गरिदिएका छन् सर्वत्र फोहोर
तमसुकमा तहविलदारले जाली अंक थपेजस्तै
शमशेर गणका मौसमी प्रेतहरुले
लेखिदिएका छन् त्यसमाथि– प्रजातन्त्र ।

भर्खरै प्रेमको नतिजामा
असफल युवतीजस्तै थकित समयको यो मोडमा
सोह्र्र वर्षपछि,
बारम्बार म आफैँसँग सोधिरहेछु–
लुटाहा र सामन्तमा
कसले बढी चुसिरहेछ देशलाई ?
सुँगुर र शासकमा
को बढी फोहोरी छ देशमा ?
सरकार र हत्यारामा
कसले बढी घाउ दिइरहेछ देशलाई ?

सोह्र्र वर्षपछि, म सोच्दैछु,
प्रेमका नाममा बेइमानी नगरेसम्म
दुष्ट प्रेमिकालाई त्यागेर
सहृदय वेश्यासँग
सम्बन्ध गाँस्न म स्वतन्त्र छु
स्वतन्त्र छु, मेरो ब्रह्मसँगै स्वतन्त्र विचरण गर्न
र, राज्यको अनुहारमा फर्किएको
जंगली आँखाविरुद्ध आँखा लडाउन ।

सोह्र्र वर्षपछि
कमरेड शासकका आँखाबाट
एकाएक गायब छ निद्रा
ठुटे लोकतन्त्रवादीका आँखामा
हाँस्दैछ कौटिल्य ।

कमरेड शासकलाई थाहा छ
ठुटे क्रान्तिकारी
र, प्रतिक्रियावादीलाई पनि थाहा छ
गणतन्त्रको जग, डाँठ र जटामा
छ मेरै रगत
यो ईटा, यो छड, यो कंक्रिट
गरिब वृद्धको धर्सा परेको निधारजस्ता
बुट्टेदार यी आधुनिक झ्यालढोका
बनेका हुन् मेरै हाडमासुले ।

सोह्र्र वर्षपछि
यो छुवाछुतमुक्त गणतन्त्रमा
म कसरी उही अछुत कामी भएँ
जसले चुलो छोएको निहुँमा
फेरि ज्यान गुमाउनुपर्छ ?
म कसरी उही चमारबहादुर सार्की भएँ
जसले फेरि सिनो उठाउनुपर्छ ?
म कसरी उही डुमबहादुर दमाई भएँ
जसले फेरि तपाईँको बाजा बजाउनुपर्छ ?
म कसरी उही गोरुमुखे गाइने भएँ
जसले फेरि तपाईँको कर्खा गाउनुपर्छ ?
म कसरी उही बादी भएँ
जसले फेरि
अपमानका सहस्र पाना पल्टाउनुपर्छ ?
म कसरी उही मुर्ख कमैया भएँ
जसले फेरि तपाईँको सेवामा
आफैँलाई गुमाउनुपर्छ ?

त्यो गाउँ, जहाँ हेर्दाहेर्दै खरानी पारियो मेरो घर
चौपायासरह मारिए मेरा बाबुआमा
खुलमखुला
बलात्कृत भई बहिनी
जसलाई जिउँदै जलाइयो रूखको ठुटाजस्तै
तिनको एउटै दोष,
परिवारको एउटा जवान
अर्थात् म मित्रे सार्की थिएँ विद्रोही ।

स्वाभिमान, आत्मसम्मान, मुक्ति र न्याय
जसका लागि लडेका थिएँ म
बनेपछि गणतन्त्रको महल
सोह्र्र वर्षपछि एकाएक
म कसरी लुटिनमात्र
लायक भएँ आफ्नै मित्रहरुबाट ?
म कसरी तपाइँको
थोक व्यापारको सामग्रीमात्र भएँ कमरेड ?

सोह्र्र वर्षपछि मेरा आँखामा
फर्किएको छ त्यो ज्वाला
जसको रापले कुनै दिन
डढेको थियो कालो संविधानको पुस्तक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *