विद्यालय मोबाइल र धुम्रपान निषेधित क्षेत्र बनाउने प्रतिबद्धता

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 77 Views   ||

दाङ, मंसिर २५ । जिल्ला शिक्षा कार्यालय दाङको पहलमा लालमटिया स्रोतकेन्द्र अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुले विद्यालय क्षेत्रलाई धुम्रपान, मध्यपान, हिंसाजन्य क्रियाकलाप र कक्षाकोठामा मोबाइल फोन निषेध गर्ने प्रतिबद्धता जनाएका छन् ।

कक्षाकोठामा मोबाइलको प्रयोग, शिक्षकहरुले मद्यपान, चुरोट सुर्तीजस्ता पदार्थको सेवनले गर्नेजस्ता क्रियाकलापले विद्यार्थीहरुको पढाइमा गम्भीर असर पारेको निष्कर्ष निकाल्दै लालमटिया स्रोतकेन्द्र अन्तर्गतका विद्यालयहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला शिक्षा कार्यालयको पहलमा शुक्रबार देउखुरीको लालमटिया र सिसहनियामा भएको स्रोतकेन्द्रस्तरीय प्र.अ. बैठकले विद्यालयलाई धुम्रपान, मद्यपानरहित बनाउने, कक्षाकोठामा शिक्षक तथा विद्यार्थीलाई मोबाइल लैजान प्रतिबन्ध लगाउने र विद्यालयलाई शारिरीक÷मानसिक यातनारहित क्षेत्र बनाउने प्रतिबद्धता जनाएको लालमटिया स्रोतकेन्द्रका स्रोतव्यक्ति रामप्रसाद जैशीले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह, शिक्षा कार्यालयका उपसचिव दण्डपाणी घिमिरे, प्याब्सन दाङका उपाध्यक्ष यादव गिरी, लालमटिया स्रोतकेन्द्रका स्रोतव्यक्ति रामप्रसाद जैशी, रामपुर स्रोतकेन्द्रका स्रोतव्यक्ति विप्लव अधिकारी र जिल्ला शिक्षा योजना निर्माण सल्लाहकार समिति सदस्य जागेश्वर शर्मा घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

जिल्ला शिक्षा कार्यालयले विद्यार्थीको भोगाइमा शिक्षकहरु शीर्षकमा चारवटा विद्यालयमा गरेको नमूना अध्ययनको क्रममा विद्यार्थीले राम्रा गुणका साथै शिक्षकका थुप्रै अवगुणका बारेमा बोलेका थिए । त्यही लघु सर्वेक्षणका आधारमा विद्यालयलाई विद्यार्थीमैत्री बनाउने अभियानसहित शिक्षा कार्यालयले गतिविधि तीव्र बनाएको छ ।

अध्ययन प्रतिवेदनअनुसार पठनपाठनमा सबैभन्दा बाधक मोबाइल, मदिरा, शारिरीक तथा मानसिक यातना, सूर्तीजन्य पदार्थहरुको सेवन देखिएकाले तिनलाई तुरुन्तै समुदायस्तरबाटै प्रतिबन्ध लगाउन पहल गरिएको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताउनुभयो । छिट्टै अन्य स्रोतकेन्द्रहरुमा पनि यस्तै अभियान बढाइने शिक्षा अधिकारी शाहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *