यो वर्षको प्रगतिशील साहित्य पुरस्कार जैशीलाई

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 118 Views   ||

दाङ, मंसिर २५ । यस वर्षको प्रगतिशील साहित्य पुरस्कार साहित्यकार रामप्रसाद जैशीलाई प्रदान गरिने भएको छ । प्रगतिशील लेखक संघ, नेपाल दाङ शाखाले स्थापना गरेको उक्त पुरस्कार संघका पूर्वअध्यक्ष तथा सल्लाहकार जैशीलाई प्रदान गर्न लागिएको हो ।

त्यस्तै, संघमा स्थापित अनन्त–टीका प्रतिभा पुरस्कार साहित्यकार निमबहादुर थापालाई, गोविन्द चिस सर्जक पुरस्कार गीतकार नारायण योगीलाई र गोविन्द ज्ञवाली साहित्य पुरस्कार देविका जीएमलाई प्रदान गरिने भएको छ । संघका अध्यक्ष केशव थापा र सचिव डिल्ली मल्लले शनिबार एक विज्ञप्ती जारी प्रतिभा छनौट समितिको निर्णयअनुसार स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान गरिने जानकारी गराउनुभएको हो । यसअघि संघको बैठकले अध्यक्ष केशव थापाको संयोजकत्वमा सल्लाहकारद्वय शरद देवकोटा र टीकाराम उदासीलाई प्रतिभा छनौटका लागि जिम्मा दिएको थियो ।

त्यस्तै, स्थापना दिवसकै अवसरमा प्रगतिवादी साहित्यिक आन्दोलनमा क्रियाशील साहित्यकार प्रलेस दाङका सल्लाहकार गिरीराज शर्मालाई सम्मान गरिने भएको छ । संघको २० औं स्थापना दिवस तथा नेत्रलाल स्मृति दिवसका अवसरमा आगामी पुस ३ गते ११ बजे घोराहीमा बृहत साहित्यिक कार्यक्रम गरिने विज्ञप्तीमा जनाइएको छ ।

साथै सोही दिन उमाविस्तरीय कविता प्रतियोगिता गरिने उल्लेख गर्दै प्रतियोगितामा सहभागी भइदिनका लागि उमाविमा अध्ययनरत विद्यार्थीहरुलाई आह्वान गरिएको छ । प्रतियोगिताका लागि कविता संकलन कार्य जारी रहेको बताउँदै विज्ञप्तीमा मंसिर मसान्तसम्ममा कविता बुझाइसक्न पनि आग्रह गरिएको छ । कविता बुझाउनका लागि घोराहीमा संघका उपाध्यक्ष शरद अधिकारी, सचिव डिल्ली मल्ल, नारायणपुर क्षेत्रमा अध्यक्ष केशव थापा, तुलसीपुर क्षेत्रमा सदस्य संगीत बस्याल र देउखुरी क्षेत्रमा छविलाल कोपिला र शिवराज पन्थीसँग सम्पर्क गर्न सकिने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *