विद्यार्थी भुँईमा, कार्यालय झोलामा

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०६९       | 97 Views   ||

जनक नेपाली

दाङ, मंसिर २३ । विद्यालयतिर हिड्नै लाग्दा शिक्षिका नन्दी ओली सधैंजसो आफ्नो झोला निरीक्षण गर्न भुल्दिनन् । समयमा विद्यालय पुग्ने चिन्ता त छँदैछ, झोलामा चक, डस्टर, हाजिरी पुस्तिका छ कि छैन भनेर उनलाई झोला हेर्नैपर्छ ।

बिजौरीको भित्री संक्राममा रहेको मालिका प्राविकी शिक्षिका ओलीलाई कार्यालयमै हुनुपर्ने सामान सधैं आफ्नै झोलामा बोक्नुपर्ने बाध्यता छ । चार कक्षासम्म सञ्चालन गरिएको विद्यालयको तीनवटा मात्रै कोठा भएको भवन भएकाले कार्यालयका सामान झोलामै बोक्नुपरेको हो ।

बिजौरी– २ भित्री संक्राममा ०६७ सालमा स्थापना गरिएको उक्त प्राथमिक विद्यालय भवन अभावका कारण शिक्षकहरुले झोलालाई कार्यालय बनाएर दैनिक कार्य सञ्चालन गर्दै आएका छन् । शिशु कक्षादेखि चार कक्षासम्म पढाइ हुँ आएको उक्त विद्यालयको कार्यालय कोठा नै छैन । कार्यालय नभएकाले चक, डस्टर, हाजिरीपुस्तिका र अन्य कार्यालयका फाइलहरु झोलामै बोक्ने गरेको शिक्षिका नन्दी ओलीले बताउनुभयो । ‘बिहान विद्यालय आउँदा लिएर आउने, जाँदा लिएर जाने गर्छौं, शिक्षिका ओलीले भन्नुभयो– ‘कहिलेकाँही केही सामान बिर्सियो भने त कार्यालयको कामै ठप्प हुन्छ ।’ उहाँका अनुसार भवनका साथै डेस्क बेञ्चहरु नहुँदा बालकक्षाका २२  जना विद्यार्थीहरु भुँईमै बसेर अध्ययन गर्छन् ।

दुई वर्षअघि स्थापित विद्यालयमा अहिले करिब ६० जना विद्यार्थी अध्ययन गर्छन् । तर, कक्षाकोठामा फर्निचर नहुँदा विद्यार्थीहरु भुँईमा बस्नुपर्ने बाध्यता रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य कमल पौडेलले बताउनुभयो । कक्षाकोठामा विद्यार्थीलाई अध्यापन गराउनका लगि आवश्यक पर्ने कालोपाटीसमेत नभएको पौडेलको भनाइ छ ।

विद्यालयमा शिक्षा कार्यालयबाट कुनै दरबन्दी नभएकाले निजी स्रोतबाट चारजना शिक्षकहरु राखिएको पौडेलले जानकारी दिनुभयो । ‘अहिलेसम्म शिक्षा कार्यालयले दरबन्दी दिएको छैन, निजी स्रोतबाट शिक्षक राखेपनि १९ महिनासम्म तलब नखाएर उहाँहरुले पढाउनुभएको छ ।’ विद्यालय भवन र फर्निचरमात्रै होइन, शौचालय र अहिलेको भवनका झ्याल ढोका पनि नभएको पौडेलले बताउनुभयो । १० धूर जग्गा खरिद गरि  गाउँलेहरुकै सक्रियता विद्यालय खोलेको भन्दै उहाँले विद्यालय कसरी टिकाउने भन्ने समस्या आइपरेको बताउनुभयो । गाउँका सबै मिलेर २४ हजारको बाँस किनी घर बनाएको सम्झदै पौडेलले त्यो पनि टिकाऊ नभएको बताउनुभयो ।

सोनापुर सिमेन्ट, सामुदायिक वन महासंघ, स्थानीय बासिन्दाको जनश्रमदानबाट करिब ६० हजारको लागतमा विद्यालय स्थापना गरिको उहाँले बताउनुभयो । विद्यालय भवन भत्किएपछि विद्यार्थीहरुले खुल्ला चौरमा पढ्दै आएको विद्यालय व्यवस्थापन समितिका अर्का सदस्य कर्णबहादुर खड्काले बताउनुभयो ।

विद्यालयमा भm्याल ढोका नहुँदा त्यहाँ रहेका एक–दुइवटा कालोपट्टी पनि सबै हराएको भन्दै उहाँले विद्यालयमा रहेका शिक्षिकाहरुले विद्यार्थीलाई  खोलाबाट पानी बोकेर खुवाउने गरेको खड्काले बताउनुभयो । उसो त विद्यालयमा रहेका शिक्षिकाहरुले पालैपाले घण्टीसमेत लगाउने गरेको शिक्षिका नन्दी वलीले बताउनुभयो ।

भित्री संक्राममा विद्यालय नभएपछि साना बालबालिका पढ्नका लागि घन्टौं हिड्नुपर्ने बाध्यता रहेको भन्दै त्यस्ता समस्या टार्नका लागि गाउँका सबै मिलेर विद्यालय खोलेको खड्काले बताउनुभयो । यसका साथै विद्यालयमा त्यस आसपासका सालडाँडा, गन्नाउने खोला, पैयाटाकुरा, चाचिलालगायतका विभिन्न ठाउँबाट विद्यालयमा आउने गरेको उहाँको दावी छ ।

विद्यालयमा दैनिक विद्यार्थी थपिने संख्या बढ्दै रहेका कारण स्तरोन्नति गरिदिन उनीहरुले माग गरेका छन् । साथै विद्यालय व्यवस्थापन समितिले सञ्चालन अनुमतिका साथै शिक्षक दरबन्दी, दिनसमेत माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *