ओझेलमा पर्यटकीय क्षेत्र छिल्लीकोट

  
  प्रकाशित मितिः आइतवार, पुस २२, २०६९       | 248 Views   ||

saran gm-[शरण जीएम]

दाङ जति सुन्दर छ त्यति त्यसको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व पनि उत्तिकै छ । क्षेत्रफलका हिसाबले दाङ उपत्यका एसिया महादेशकै ठूलो उपत्यका हो । यस उपत्यकाभित्र पाइने ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक धरोहरहरुले यस भेगलाई निकै मनमोहक र सुन्दर बनाएको छ ।

ती ऐतिहासिक, पर्यटकीय क्षेत्रमध्ये दाङको बिजौरी गाविस वडा नं. ९ मा पर्ने छिल्लीकोट पनि एक ऐतिहासिक, राजनीतिक र सांस्कृतिक महत्व बोकेको स्थान हो । छिल्लीकोट दाङको राजनैतिक इतिहाससँग सम्बन्धित स्थल हो । यसको इतिहासको अध्ययन गर्दा १४ औँ शताब्दीमा भए गरेका महत्वपूर्ण राजनैतिक तथा सामाजिक घटनासम्म पुग्न सकिन्छ । छिल्लीकोट समुन्द्र सतहदेखि १ हजार ३ सय १० मिटरको उँचाइमा अवस्थित छ । लगभग १५औं शताब्दीतिर दाङका थारु राजा दंगीशरण चौधरीलाई जुम्ला चल्लवंशीय राजाले आफ्नो कब्जामा लिई उक्त वंशकै मेघनाथ शाहले दाङको राज्य सर्वप्रथम सञ्चालन गरेपछि उनी बस्ने कोटलाई छिल्ली प्रगन्ना भन्न थालियो । चल्लको अपभ्रंश छल्ल भयो त्यसबाट छिल्ली बन्यो भन्ने इतिहासमा पाइन्छ । यसबाट हामी के अनुमान लगाउन सक्छौं भने दाङ ऐतिहासिक तथा सांस्कृतिक अनुसन्धानका लागि उर्वरभूमि हो भन्ने निश्कर्षमा पुग्न सक्छौं । हाल त्यस क्षेत्रमा राजदरबारका इँटाका टुक्राहरु यत्रतत्र छरिएर रहेको पाइन्छ । राजभवनको आकार प्रकारमात्र देख्न सकिन्छ । त्यसको उत्तरतिर दुवैतिर भिरालो सानो चौर छ, जसलाई टुडिखेल भन्ने गरिन्थ्यो । त्यहाँ छिल्लीकोटे राजाका सेनाहरु परेड खेल्ने गर्दथे भन्ने गरिन्छ ।

नेपाल एकीकरणको क्रममा छिल्ली राज्य सानो थियो । त्यसक्रममा राजासँग लामो समयसम्म लड्ने क्षमता तथा रणकौशलको अभावले गर्दा उनले आत्मसमर्पण गरेको कुरा जानकारहरुले बताउने गर्दछन् । उनीसँग खासै हातहतियार नभएकोले नै युद्धमा हारेको मान्न सकिन्छ । उनीसँग भरुवा बन्दुक, ३ वटा फलामको तोप र कवच मात्र थिए भन्ने भनाइ छ ।

छिल्लीकोटमा २०६७ चैत्र २८ गते छिल्लीकोट महोत्सवका अवसरमा जीर्ण अवस्थामा रहेको तोप प्रदर्शन गरिएको थियो जसले किंवदन्तीजस्तो इतिहासलाई वास्तविकतामा पुष्टि गरेको छ । जसरी छिल्लीको राजनैतिक रुपमा महत्वपूर्ण स्थान छ त्यति नै सांकृतिक र धार्मिकरुपमा पनि महत्वपूर्ण मानिन्छ । छिल्लीकोटमा प्राचीन समयमा निर्माण गरिएका कालिका र मालिका दुई देवी मन्दिर छन् । प्रत्येक वर्षको बडादशैं र चैतेदशैंमा भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ । समुन्द्री सतहदेखि १ हजार ३ सय १० मिटर उँचाइमा रहेको हुनाले त्यस क्षेत्रको हावापानी पनि चिसो छ । मौसमअनुसार फल्ने फलहरु काफल, तिजु, ऐसेलु, चुथ्रा आदि पाइने भएकोले पनि त्यस क्षेत्रमा मानिसहरु जाने गर्दछन् । यस क्षेत्रमा मालागिरी (सुगन्ध कोकिला) को घना जंगल पाइन्छ । यस क्षेत्रबाट उत्तरमा धौलागीरी हिमश्रृखला र दक्षिणमा दाङ तथा अन्य भागहरुको अवलोकन गर्न सकिने भएकाले यस क्षेत्र पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । हरेक वर्ष आन्तरिक पर्यटकहरुले त्यस क्षेत्रको अवलोकन गर्ने गर्दछन् । समुन्द्री सतहदेखि उच्च स्थानमा भएकाले त्यस क्षेत्रमा वmेवलकार सञ्चालन र प्याराग्लाइडिङ स्पोटको रुपमा समेत विकास गर्न सकिने सम्भाव्यता रहेको छ । जसबाट त्यस क्षेत्रका जनताहरुको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने निश्चित देखिन्छ ।

ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको छिल्लीकोटमा राज्यको आवश्यक पहल, नीति र साधनस्रोतको अभावका कारण अपेक्षित विकास भएको छैन । आवश्यक मात्रामा प्रचार प्रसारको अभावका कारणले पनि यसको विकास हुन नसकेको भुल्के सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नन्दराम रोकाले बताउनुभयो । यसमा सबै एकताबद्ध भएर लागेमा छिल्लीकोटलाई विश्वभर चिनाउन सकिने उहाँ बताउनुहुन्छ । पछिल्लो समयमा स्थानीय बासिन्दाको विशेष सक्रियतामा मोटरबाटो निर्माण गरेतापनि वर्षातका कारण बाटो जीर्ण बन्दै गएको छ । त्यसैले छिल्लीकोट क्षेत्रको विकास र प्रचारप्रसारका लागि सबै दाङबासी अग्रसर हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *