आसन्न महाधिवेशन र चुनौती

  
  प्रकाशित मितिः आइतवार, पुस २२, २०६९       | 102 Views   ||

Aastha_kc-[आस्था केसी]

विगत दश बर्षको महान जनयुद्ध र दोस्रो जनआन्दोलनपछि छ बर्षे शान्ति प्रकृयाबाट अघि बढिरहेको एकीकृत नेकपा माओवादीको महाधिवेशन अब नजिकिदै आइरहेको छ । करिब २३ बर्षको लामो अन्तरालपछि माघ २० गतेदेखि मकवानपुरको हेटौंडामा शुरु हुने भनिएको महाधिवेशनको तयारीको कामलाई तीव्रता दिइएको भएपनि कतै यो औपचारितामा मात्र सीमित हुने त होइन भन्ने आशंका कार्यकर्ता र जनतामाझ उत्पन्न भएको छ । संविधानसभाको अवसानपछि देशमा देखापरेको राजनैतिक संकट, दलहरु, सरकार र राष्ट्रपतिका बीचको बढ्दो बेमेल, आगामी बैशाखमा गरिने भनिएको नयाँ निर्वाचनजस्ता कुराले तोकिएको मितिमा महाधिवेशन हुन सक्दैन कि भन्ने कार्यकर्ता स्तरको आँकलन अस्वाभाविक पनि छैन । मुलुकमा उत्पन्न राजनीतिक संकटका बीच हुन थालेको महाधिवेशनले पार्टीको आगामी कार्यदिशा तय गर्छ र कार्यक्रम कस्तो ल्याउँछ भन्ने जिज्ञासा पनि कार्यकर्तापंक्तिमा उत्पन्न हुनु स्वभाविकै छ ।

उसो त एकीकृत माओवादीले महाधिवेशनको लागि सांगठनिक तयारीलाई तीव्र बनाउँदै गाउँ तथा नगरका सम्मेलनहरु गरिसकेको छ भने जिल्ला सम्मेलनको तयारीमा जुटेको छ । त्यस्तै जनवर्गीय संगठनहरुका सम्मेलन र अधिवेशनहरु पनि चलिरहेका छन् । यो प्रक्रिया देशैभरि जारी रहेको छ । परिवर्तनका मुख्य एजेण्डाहरुलाई बोकेर दश बर्षको उथलपुुथलकारी क्रान्तिको नेतृत्व गरेर ऐतिहासिक विरासत बोकेको सबैभन्दा ठूलो पार्टीको हैसियतले मात्रै होइन लाखौं जनता, हजारौं कार्यकर्ता र शुभचिन्तकहरुको आशा र भरोसाको पार्टी हुनुको नाताले महाधिवेशनबारे सबैको चासो बढ्नु पनि स्वभाविकै छ । र यसका बारेमा विभिन्न चर्चा परिचर्चा, विविधखाले अन्दाज र अनुमान हुनु पनि कुनै अनौठो कुरा भएन । दश वर्षको जनयुद्धको अवधिमा देश र जनताका खातिर आफ्नो ज्यानको आहुति दिएका १५ हजार शहीदका परिवारजन, सयौं बेपत्ताका आफन्तजन र सयौंको संख्यामा रहेका अपाङ्ग अनि घाइतेहरुलाई चित्त बुझाउने ढंगले पार्टी अगाडि बढ्न नसकिरहेको यथार्थ एकातिर छ भने अर्कोतिर क्रान्तिको मुख्य कार्यभारलाई बीचमै छाडेर पार्टी दक्षिणपन्थी बन्छ कि भन्ने चिन्ता छ । संशोधनवादको चक्करमा पार्टी फसिसक्यो भन्दै पार्टीभित्रका केही सहयात्रीहरुले पार्टीबाट अलग्एिको स्थिति भएपनि अहिलेसम्म फुटको औचित्य पुष्टि गर्न नसक्दा धेरै कार्यकर्तापंक्ति पुनः मुख्य पार्टीमै फर्किरहेको अवस्था छ । यो अवस्थामा परिवर्तन र न्यायप्रेमी जनता र कार्यकर्ताहरुले एकीकृत माओवादीको आसन्न महाधिवेशनलाई आशावादी नजरले हेरिरहेका छन् ।

ऐतिहासिक विरासत बोकेको संविधानसभाको अनपेक्षित अवसानसँगै देश विभिन्नखाले संक्रमणहरुबाट ग्रस्त बन्दै गइरहेको छ । देशमा जनताले चाहेको संविधान बन्ने अवसर गुम्दै गइरहेको छ । राजनैतिक वृत्तमा देखिएको अविश्वास र आशंकाले गर्दा देश नै दुर्घटनातिर मोडिरहेको हो कि भन्ने अड्कलबाजी हुन थालेका छन् । ठूला भनिएका सबैजसो राजनैतिक दलहरुमा आन्तरिक सघंर्ष, गुटबन्दी, गलत चिन्तन र प्रवृत्तिका कारण देशको स्थिति झन्पछि झन् असहज बन्दै गइरहेको छ । देशको सर्वाेच्च संस्था राष्ट्रपति र देशको कार्यकारी संस्था सरकारबीचको संघर्ष पनि पेचिलो बन्दै गइरहेको छ । वैदेशिक हस्तक्षेप खास गरी भारतबाट हुने ठाडो हस्तक्षेपले नेपालको राजनीति र दलका नेताहरुलाई आफ्नो प्रभावमा पारिराखेको छ । देशको राजनीति एउटा मोडमा पुग्ने बेला कुटनीतिक मर्यादासमेत बिर्सेर भारतीयहरु नेपाल आउने र नेताहरु पनि उतैतिरको प्रभावमा परि भेटघाट र छलफललाई महत्व दिन पुग्दछन् । देशको राजनीतिक तरलताको फाइदा उठाउन देशीविदेशी प्रतिकृयावादीहरु कम्मर कसेर लागिरहेको यस्तो संवेदनशील घडिमा देशकै सबैभन्दा ठूलो र सरकारको बागडोर सम्हालिरहेको पार्टीको आसन्न महाधिवेशन निकै चुनौती र सम्भावनाहरु बोकेर उभिएको छ ।

खासगरी शान्तिप्रकृयामा प्रवेश गरेपछि माओवादी बिग्रिएको, कार्यदिशामा अल्मलिएको र पार्टी पूरै संशोधनवादी कित्तामा फसेको आरोप पार्टीमाथि लाग्दै आएका छन् । जनमुक्ति सेनाको समायोजन पनि आत्मसमर्पणवादी शैलीले गराएको भन्ने आरोप पनि नेतृत्वमाथि लागेको छ । अहिले सेना समायोजन प्रकृया पनि सन्तोषजनक ढंगले अघि नबढी पद मिलानको विवाद अझै पनि कायमै रहेको छ । बहिगर्मित जनसेनाहरुले अनमिनद्वारा लगाइएको अयोग्यको बिल्ला खारेज गर्न र आफ्नो जीवन निर्वाहका लागि आवश्यक राहतको माग गरी पार्टी नेतृत्व र सरकार विरुद्ध आन्दोलन चलाइरहेका छन् । हजारौंको संख्यामा रहेका पूर्णकालीन कार्यकर्ताहरु कन्तविजोगको अवस्थामा छन् । हिजोका इमान्दार कार्यकर्ताहरुको तुलनामा सबै हिसाबले टाँठाबाठा र नेतृत्वको वरिपरि गर्न सक्ने खुबी भएका व्यक्तिहरुले मात्र स्थान पाएको देखिन्छ । पार्टी सातौं विस्तारित बैठकमा गुट, उपगुटको अन्त्य गर्ने भनेर मञ्चमा नेताहरुले भाषण गरेपनि हलमा गुटकै कारण निश्चित मापदण्ड नपुगेका व्यक्तिहरु प्रवेश गर्दा कुर्सी फालाफालको स्थितिसम्म नेतृत्वपंक्तिले व्यहोर्नुप¥यो । यस्ता विविधखाले समस्याहरुका बाबजुद के पार्टीले सही र वैज्ञानिक कार्यदिशा तय गर्न सक्ला ? के पार्टीले १५ हजार शहीदको सम्मान हुने गरी र शहीद, बेपत्ता परिवार, घाइते तथा हजारौं कार्यकर्ता र लाखौं जनताको पूर्ण विश्वास जित्ने गरी यो महाधिवेशन सम्पन्न गर्न सक्ला ? यो प्रश्न चुनौतीकै रुपमा रहेको छ ।

अहिले देशैभरिका करिब तीन लाखभन्दा बढी पार्टी सदस्यले सदस्यता नवीकरण गरेका छन् । अब जिल्ला र राज्य तहबाट महाधिवेशन प्रतिनिधि चुन्ने काम मात्र बाँकी रहेको छ र त्यसको पनि तयारी भइरहेको छ । सांगठनिक तयारी यहाँसम्म पुग्दा पनि राजनैतिक वैचारिक तयारी भने धेरै हुन सकिरहेको छैन । पार्टी अध्यक्ष प्रचण्डले पार्टीको आगामी कार्यदिशासहितको राजनैतिक प्रतिवेदन अझै तयार गरि नसकेको अवस्थामा महाधिवेशन पर सर्छ कि भन्ने आशंका पनि कार्यकर्ता पंक्तिमा मेटिएको छैन । अध्यक्षको प्रतिवेदनको आधारमा नेतृत्वपंक्तिले छलफल गर्ने, फरक मत राख्ने र पार्टीको आधिकारिक विचार सहितको कार्यदिशाको प्रतिवेदन आयोजक कमिटीबाट पारित हुने काम अझै बाँकी नै छ । राजनैतिक रुपमा हाम्रो पार्टीको कार्यदिशा के हुने ? प्रधान अन्तरविरोेध र सहायक अन्तरविरोधको विषयवस्तु के ? प्रधान शत्रु र सहायक शत्रु को हुन् ? कार्यनैतिक र रणनैतिक लक्ष्य के हुने ? सर्वहारावर्गको अधिनायकत्वलाई आजको सवालमा पार्टीको धारणा के हो ? अहिले यी यस्तै यावत प्रश्नहरुको घेरामा पार्टी महाधिवेशन र पार्टी नेतृत्वपंक्ति रहेको छ ।

त्याग, तपस्या र बलिदानका अनेकन कृतिमानहरुको ऐतिहासिक बिरासतबाट आएपनि त्यस्तो इतिहासलाई किनारा लगाउँदै चाकडी, चाप्लुसी र पहँुचको आधारमा नेतृत्व चयन हुने गरेको आरोप कम्युनिष्ट पार्टी त्यसमा पनि एकीकृत माओवादीमाथि लाग्ने गरेको छ । यो आरोपमा कतै–कतै सत्यता पनि देखिन्छ । सबै वर्ग, क्षेत्र, जाति र लिङ्गलाई समानुपातिक तरिकाले नेतृत्व प्रदान गर्ने सवालमा कतै पार्टी चुक्ने त होइन भन्ने आशंका गर्न नमिल्ने ठाउँ पनि छैन । १५ हजार शहीदको बलिदानको जगमा स्थापित हज्जारौं कार्यकर्ता र लाखौं जनताको आस्थाको केन्द्रविन्दु, सर्वहारावर्गको अग्रदस्ता र नयाँ नेपाल निर्माणको पहलकर्ता एमाओवादीको आउँदो महाधिवेशनले नेपाली क्रान्तिको आगामी रणनीति र कार्यनीति तय गर्नेछ र पार्टीभित्रका गलत र गैरसर्वहारा प्रवृत्ति तथा चिन्तनहरुलाई किनारा लगाउनेछ भन्ने अपेक्षा जनता र कार्यकर्तापंक्तिले लिएका छन् । र, यो महाधिवेशनले सबैखाले निरासालाई नामेट पारि पार्टीलाई नयाँ जोश, जाँगर, आत्मविश्वास पैदा गराएर पुनः ताजा गराउनु आजको आवश्यक हुन आउँछ । परिस्थितिको यो विशिष्ट जिम्मेवारीलाई गम्भीरतापूर्वक मनन् नगरी हचुवाको भरमा प्रस्तुत हुने, गुटबन्दीको खेति गरिरहने र स –साना अन्तरविरोधहरुभित्रै अल्मलिने अनि स–साना उपलब्धिहरुलाई नै सबथोक ठानी त्यतै अल्मलिने प्रवृतिले अपुरो क्रान्तिको बाँकी कार्यभार पूरा हुन सक्दैन । नेपाली समाजको एउटा उखान छ, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं आसन्न महाधिवेशन फास्सा न फुस्सा नहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *