घोराही–भालुवाङ चक्रपथ निर्माण कार्य अलपत्र

  
  प्रकाशित मितिः आइतवार, पुस २२, २०६९       | 103 Views   ||

sadak-[अजयदीप शर्मा]
दाङ । घोराहीको भैसाही चोकदेखि रामपुर–हाँसिपुर हुँदै लालमटियाको चैतेसम्म जोडिएको वीपी मार्गको निर्माण कार्य अलपत्रमा परेको छ । चार बर्ष लगाएर हाँसिपुरको मुलाबारीदेखि लालमटियाको चैतेसम्म करिब ३८ किमि मोटर बाटोको ट्याक खुलेपनि बजेट नहुँदा बाटोको नाला खोल्नेदेखि कल्भर्ट र तारजाली लगाउने काम अलपत्रमा परेको हो ।

घोराही र भालुवाङलाई चक्रपथको रुपमा जोड्ने उक्त सडकखण्ड निर्माणका लागि केन्द्रदेखि स्थानीय तहसम्म कसैले चासो नदेखाएको भन्दै यहाँका बासिन्दाले गुनासो पोखेका छन् । मुलाबारीदेखि चैतेसम्मको मोटरबाटो भालुवाङनजिक प्यूठान जाने सडकसँग जोडिन पुगेको छ भने घोराहीको भैसाहीदेखि हाँसिपुरको मुलाबारीसम्मको बाटो २० बर्ष अघि नै निर्माण भइसकेको यहाँका बासिन्दा बताउँछन् ।

‘बाटो खुलेको यत्रो बर्ष भइसक्यो अहिलेसम्म यसको स्तरोन्नति हुन सकेको छैन्, हामी बाह्रैमास यही साँघुरो, खाल्डाखुल्डीको हिलाम्मे बाटोमा यात्रा गर्नु परिरहेको छ ।’ सडकको दुर्दशाबारे बताउनुहुन्छ हाँसिपुर–९ का रामबहादुर केसी । बर्षाको समयमा सिमलतारादेखि अगाडिको बाटोमा गाडी चल्दैन, हिउँदको समय पनि मुश्किलले एउटासम्म गाडी चलेको केसी बताउनुहुन्छ । कच्ची बाटो, खोल्साहरुमा कल्भर्ट र भित्तातिर तारजाली नलगाएको साँघुरो बाटोमा हिड्दा गाडीवालाले भन्दा यात्रुहरुले बढी सास्ती खेपिरहेको देखिन्छ । ‘बसमा चढेर सिमलतारादेखि अघि सुखाखोलासम्म पुग्दा आज त गइन्छ कि जस्तो लाग्छ ।’ हाँसिपुरकी जीवा कार्की भन्नुहुन्छ । २० बर्षअघि बाटोको ट्रयाक खोलिएपनि गाडी चल्ने गरी बाटो नबनाइएपछि स्थानीयले आफ्नै श्रमको लगानी गरेर उक्त बाटो विस्तार गरी ०६२ देखि गाडी सञ्चालनमा ल्याएका थिए । अहिलेसम्म ग्रावेल हुन नसकेको उक्त सडकको बीच भागमा सीम जागेर बाटो हिलाम्मे हुने र मोड पनि साँघुरा भएका कारण दुर्घटनाको खतरा पनि त्यत्तिकै रहेको देखिन्छ । रामपुरको वडा नं. ९ मा पर्ने सुखाखोलामा दुइवटै गाविसले मर्मतका लागि बजेट नछुट्याउँदा बाटो अलपत्र परेको बताउनुहुन्छ हाँसिपुरकै गिरबहादुर खत्री । सिमलतारादेखि दुइ किमि अघि पर्ने सुखाखोलाको बाटो हाँसिपुरका जनताका लागि बढी आवश्यक भएपनि उक्त क्षेत्र रामपुरको वडामा पर्ने भएकाले हाँसिपुरले पनि बजेट नछुट्याउने गरेकाले सो बाटोकोे मर्मत कार्य अलपत्रमा परेको खत्रीको भनाइ छ ।

सुखाखोलाको भन्दा झन् बिग्रेको अवस्था छ मुलाबारीदेखि चैतेसम्मको सडकखण्डमा । मुलाबारीदेखि १६ किमिअघि बिर्खेसम्म केही समयअघि गाडी चलेको भएपनि अहिले बाटो भत्किएर बन्द भएको हाँसिपुर–८ स्वामीघाटका डम्बर खत्री बताउनुहुन्छ । ह्युमपाइप, कल्भर्ट र नाला नबन्दा बर्षामा बगेको पानीले बाटो नै चिरा पारेर भत्काएपछि गाडी चल्न छोडेको उहाँ बताउनुहुन्छ । ‘बाटोको ट्रयाक त खोलियो तर ग्रावेलदेखि नाला, कल्भर्ट र तारजालीको व्यवस्था नगरिदा बाटो सबै बिगे्रको छ ।’ खत्रीले भन्नुभयो । बाटो खोल्न जिविसले बजेट दिएपनि मर्मत र स्तरवृद्धिका लागि कतैबाट बजेट नआएको खत्रीको भनाइ छ । ट्रयाक खोल्दा पटक–पटकमा गरी जिविसले ७० लाखको बजेट दियो तर ग्रावेल र मर्मतका लागि बजेट नछुट्याएको हाँसिपुर–८ रानीबासका गिरीराज बाँठा बताउनुहुन्छ । त्यहाँका उपभोक्ता समितिका अध्यक्षसमेत रहेका बाँठाले माथिल्लो भागबाट घोराहीदेखि चैते हुँदै भालुवाङसम्म जोडिने उक्त सडक निर्माण कार्यका लागि केन्द्रबाटै बजेटको व्यवस्था गरिनुपर्ने माग गर्नुभयो । केन्द्र र स्थानीय तहमा पटक–पटक गरी समस्या लिएर डेलिकेशन गएको भएपनि सरकार र राजनीतिक दलहरुले चासो नदिएको हाँसिपुरकै अर्का बासिन्दा डम्बर खत्रीको भनाइ छ ।

एकपटक भनेपछि फेरि सक्रियता देखाएर घचघच्याउने काम जनताबाट पनि नहँदा यहाँको विकास पछाडि परेको बताउनुहुन्छ अर्का स्थानीय मिनबहादुर खत्री । मुलाबारी–चैते सडकखण्डको बाटो निर्माण कार्य पूरा भएपछि आफ्नो गाउँको जीवन नै फेरिने आशा व्यक्त गर्नुहुन्छ हाँसिपुर–३ जबरकोटकी हुमा ताम्राकार । ‘गाडी चल्ने बाटो बनेपछि गाउँमा उत्पादित वस्तु बिक्रीका लागि सजिलैसँग बजारसम्म पु¥याउन सकियो भने आर्थिक निर्भरताका लागि सहज हुने थियो’ ताम्राकारले भन्नुभयो । ताम्राकारजस्तै एकीकृत माओवादीका त्यस क्षेत्रका नेता लुमबहादुर कार्की ‘बद्री’को भनाइ पनि त्इस्तै रहेको छ । उहाँ भन्नुहुन्छ– ‘यताबाट खुल्ने सडकले पहाडि गाविसका जनताको जीवनस्तर उकास्नेछु ।’ चैतेसम्म बाटो निकाल्नलाई मैले पनि धेरै मेहनत गरेको छु, अब बाटोको स्तरवृद्धिका लागि यो बर्षमा जिविसबाट बजेट पारित गर्नेमा मेरो पहल रहनेछु बद्रीले भन्नुभयो ।

जिल्लाको मध्यभागबाट राजमार्गमा जोड्ने वीपी मार्ग खुले दुर्गम पहाडी गाविस हाँसिपुर, काभ्रे र लोहारपानीका जनताको मात्र होइन आर्थिक विकासका दृष्टिले दाङकै नयाँ मुहार फेरिने देखिन्छ । रामपुरको सिमलतारासम्म ग्रावेल भइसकेको भैसाहीदेखि चैतेसम्मको सडकखण्डमा हाल सिस्ने खोलामा पक्की पुल बन्दैछ भने रामपुरसम्म पीच हुने योजनामा रहेको छ । जिल्लामा बढ्दो सवारी चापको भार थेग्नलाई पनि चक्रपथका रुपमा भैसाही–चैते सडकखण्डको निर्माण कार्यलाई पूर्णता दिइ सडक सुचारु गर्न आवश्यक छ । यसका लागि जिल्लाबाट हुने बजेट विनियोजनको पहिलो प्राथमिकतामा यो मार्गको स्तरोन्नतिलाई राख्नुपर्ने आवश्यकता देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *