राजमार्ग जोड्ने माथिल्लो सडकमा ध्यान देऊ

  
  प्रकाशित मितिः आइतवार, पुस २२, २०६९       | 103 Views   ||

घोराहीदेखि भालुवाङसम्म पुग्ने वैकल्पिक मार्गका रुपमा रहेको माथिल्लो सडक निर्माणको काम अहिले अलपत्र अवस्थामा छ । हाँसिपुरको मुलाबारीदेखि लालमटियाको चैतेसम्म करिब ३८ किलोमिटर बाटोको ट्रयाक खोल्ने काम गत बर्ष नै सम्पन्न भइसकेको छ । घोराहीको भैंसाहीचोकदेखि लक्ष्मीपुर, रामपुरबाट हाँसिपुर, काभ्रे, लोहारपानी हुँदै लालमटियाको चैते जहाँ भालुवाङ–प्युठान सडकखण्डमा जोडिन पुग्छ । वीपीमार्ग नामाकरण गरिएको उक्त सडकखण्ड निर्माण कार्य पूरा भई यातायात सञ्चालन हुन सकेमा घोराहीदेखि भालुवाङसम्मको क्षेत्र चक्रपथको रुपमा विकसित हुन जानेछ । भैंसाहीदेखि रामपुर हुँदै चैते–भालुवाङ जोडिने र घोराहीबाट लमही हँुदै भालुवाङ पुग्ने उक्त चक्रपथलाई व्यवस्थित गर्न सकेमा जिल्लाले बढ्दो सवारी चापको भारलाई थेक्ने छैन्, यहाँको पर्यटन, व्यवसायिक क्षेत्रको विस्तारका साथै समग्र दाङको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पु¥याउने छ ।

दाङको समग्र आर्थिक विकाससँग जोडिने रणनीतिक महत्व बोकेको माथिल्लो सडकखण्डको अहिलेको अवस्था भने पीडादायी छ । बाटो साँघुरो मात्र होइन हिउँदको समयमा पनि बर्षाको जस्तो हिलाम्मे भएर गाडी हिड्नसमेत अप्ठ्यारो हुने गरेको छ । आफूले उत्पादन गरेका वस्तुहरु बजारसम्म पु¥याएर आफ्नो आर्थिक जीवनस्तर थोरै भएपनि माथि उकास्ने सपना बुनेका पहाडी तीन गाविसका जनता बाटोको अवस्था देख्दा भने आफ्नो भाग्यलाई नै धिकार्न पुग्छन् । काठमाण्डौं पुग्ने राजमार्गसँग जोडिने बाटो खुल्दा भन्दा सधैं हिलाम्य हुने सडकलाई सामान्य ग्रावेल र साना खोलाहरुमा कल्भर्टको व्यवस्था गरि दिएमात्र पनि त्यहाँका जनता धेरै खुसी हुने अवस्था छ । सधैं कठीन र जोखिमपूर्ण बाटोको यात्राबाट सास्ती खेपिरहेका त्यहाँका जनता करिब २० बर्षअघि ट्र्याक खोलिएको बाटोको अहिलेसम्म स्तरवृद्धि हुन नसक्दा दुखित छन् । अहिले त्यहाँको सडक सामान्य मर्मत, सुधार पनि नपाएर भत्किदै र जीर्ण हुँदै गइरहेको छ । बाटोको स्तरोन्नतिका लागि घेरै बर्षअघि करोडौं रकम केन्द्रबाट आएको पनि त्यो नेताहरुले भ्रष्टाचार गरेर खाएको त्यहाँका जनता बताउँछन् । अहिले बाटो मर्मतका लागि जिविस वा सम्बन्धित गाविसले समेत रकम छुट्याएको देखिएको छैन ।

घोराहीदेखि रामपुरको सिमलतारासम्मको बाटो ग्रावेल छ । त्यो भन्दा पाँच किमिअघि हाँसिपुरको मुलाबारी पुग्ने बाटोको अवस्था भने निकै दयनीय छ । सिस्ने खोलामा एउटा पक्की पुल बन्दै गरेपनि राजमार्गसम्म जोडिन पुग्ने जिल्लाको एकमात्र वैकल्पिक सडक निर्माणका लागि केन्द्रीयस्तरबाट बजेट परेको देखिदैन । जिविसबाट पटक–पटक गरि करिब ७० लाखको बजेटबाट ४ बर्षमा मुलाबारीदेखि चैतेसम्म करिब ३८ किलोमिटर बाटोको ट्रयाक खोलिएपनि ठाउँ–ठाउँमा पुल, तार, जाली, ग्रावेल र कल्भर्ट निर्माणको काम बजेट अभावका कारण अलपत्र परिराखेको छ । अहिलेसम्म त्यो बाटो निर्माणका लागि केन्द्रबाट पाँच लाखको बजेट मात्र आएको त्यहाँका जनता बताउँछन् । त्यो सडकको स्तरोन्नतिका लागि स्थानीय निकायको ध्यान नपुग्दा स्थानीयबासीले आफूमाथि उपेक्षा गरिएको महशुस गरिरहेका छन् । पहाडी तीन गाविसका साथै लालमटियाका केही वडाका सर्वसाधारणसमेत प्रत्यक्ष लाभान्वित हुने उक्त सडकखण्ड निर्माणका लागि जिल्लादेखि केन्द्रसम्म गरी पटक–पटक डेलिगेसन गएपनि स्तरोन्नतिका लागि आजसम्म कसैले चासो नदेखाएको उनीहरुको गुनासो छ ।

विकासमा पछाडि परेको महसुस गरिरहेका पहाडी गाविसका जनताको जीवनस्तर माथि उठाउनका लागि पनि मुलाबारीदेखि चैतेसम्मको उक्त बाटोलाई पूर्णता दिन आवश्यक छ । त्यस्तै सिमलतारादेखि मुलाबारीसम्मको बाटो मर्मत, सुधार गरी त्यहाँका जनताको यातातात अनि बजारसम्मको पहँुचलाई सहज र सरल बनाउन आवश्यक छ । त्यसका लागि जिविसको ध्यान त्यतातिर जान आवश्यक छ । यसका साथै समग्र वीपी मार्गको स्तरोन्नतिका लागि केन्द्रबाट बजेटको माग गरी निर्माण कार्य पूरा गर्न पनि जिल्लाका सरोकारवाला निकायको सक्रिय पहल आवश्यक छ । त्यो सडकखण्ड सञ्चालनमा आउन सकेमा दाङकै गहनाका रुपमा बन्न जानेछ र त्यसले जिल्लाको पूर्वी भागका जनताको जीवनस्तर माथि उठाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *