देवता

  
  प्रकाशित मितिः आइतवार, पुस २२, २०६९       | 133 Views   ||

Birendra_Shahi_1-[वीरेन्द्र शाही]

बाहिर सभ्यताको जलप–
भित्रभित्र छ, अन्धविश्वासको अभेद्य किल्ला ।
देवताहरुको ।
देवता प्रजेन्टेवल छैन आज ।

समाज बोल्छ पुरातन शैलीमा । समय उल्टो बगेको हेर्न चाहन्छन् बुज्रुकहरु । अस्तित्वविहीन अस्तित्वमा छन् बस्तीहरुमा । सत्यको गालामा घाम नलाग्दै अस्ताउँछ सूर्य ।
देवता बचाउन कति कोशिश गर्छ मान्छे ।
साँझ–बिहान पूजा गर्छ । धुप बाल्छ । बत्ती बाल्छ । प्रसाद चढाउँछ । उसकै अगाडि बोका काट्छ, राँगा काट्छ, भेडा काट्छ, कुखुरा काट्छ ।
अर्काको प्राण चढाएर पनि देवता आत्महत्या गर्छ । कसैले नदेख्नेगरी । कसैले नभेट्नेगरी ।
यो कस्तो समाज पूजाआजामा बिक्ने ?

साउन लाग्यो– समाजै उल्टेर देवतालाई तीर्थ गराउन लिन्छन् । देवतालाई तीर्थ गराउन हिँडेका माझफालीहरु एकै चिहान भए ।
सायद माझफालीको देवता पनि मर्नुपर्छ त्यही घटनामा ।
अचेल माझफालीहरुले कुन देवता पुज्छन् खै ?
औंसी र पूर्णिमा त गाउँ उल्टन्छ देवता पुज्न ।

देवता आदेश हो । देवता योजना हो । अर्थात् देवता कैफियत हो ।
बिरामी हुँदा देवता, पढ्दा देवता, परीक्षा दिँदा देवता, बिहे गर्दा देवता, घर लगाउँदा देवता, नाम राख्दा देवता, घर छोडेर हिँड्दा देवता, पढ्न जाँदा देवता … केवल देवता ।
एउटा अन्धविश्वास । एउटा बन्धन ।
देवता ।

धनबहादुर प्रथम श्रेणीमा पास भयो एस.एल.सी. यसपालि ।
विज्ञान पढ्ने रुचि उसको ।
डोल्पामा एउटा झिल्को सल्काउने चाहना उसको ।
नेपालगञ्ज जान पूर्व उघारे धामीले देवताको दैलो ।
प्रतिबन्ध रुचिमा ।
धनबहादुर उठ्यो । आँखामा टाँसियो ।
समाज, धामी र देवताको मूर्ति ।
अनुहारमा महान् छटपटी थियो । सपनाले साथ नदिएपछि सायद अनुहार यस्तै हुँदो हो ।
चुपचाप देवतालाई भेटी चढायो उसले । चुपचाप देवताले उसलाई आलम दियो । उसले घाँटीमा बे¥यो र मरेको अनुहार लिएर घरतिर लाग्यो ।
गाउँमा कुकुर भुके । लाहनातिर स्याल कराए बेसरी ।
मान्छेको रक्षार्थ पुज्ने देवताले मान्छेलाई घरभित्र हुलेर मार्ने षड्यन्त्र रच्यो ।

देवताको कन्धनी बाँधेर साइत कुर्दाकुर्दा कतिले परीक्षा छुटाए । कतिले पढ्न छुटाए । कतिले पढाइ छुटाए ।
कसले दियो देवता उपहार डोल्पालाई ।
देवताले भरिएको छ ठाउँ । देवताको छ संसार ।
देवता धपाउ । धपाउनै नसकिने ।
देवता पूजाले तर्सिएको छु म ।
धुपी, सेताम्य हिमाल, भेटीको सरलता, लटरम्म फलेका स्याउले भन्दा बढी मन तान्छ देवताले ।
शालिकझैँ छु म चुपचाप ।

धामी नाच चलिरहेछ अगाडि विभिन्न रुपाकृतिमा । ऊ मनमा देवता, ऊ देवी, ऊ वाविरो देवता … दमाईले दमाहा नर्सिङ्गा बजाइरहेछन् । आइमाई देवता पुज्न टाटे पकाइरहेछन् । धामीहरु विभिन्न रुप देखाउँछन् । तेलमा हात हाल्ने, आलम, चामल फलफूल बाँड्ने ।
धामी कहिले स्याउ फाल्छन् त कहिले काँक्रा ।
कस्तो अन्धविश्वास । देवताले फाल्दा चोट लाग्दैन को ।
झण्डै एउटा मान्छे नरोएको स्याउले अनुहारमा लाग्दा ।

देवता पनि कस्तो विभेदकारी । आलम, स्याउ, काँक्रा र फूलको माला पनि ठूलाबडालाई मात्र दिने ।
गरिब, सोझोसाझा, सानामा देवताको आँखै नपर्ने ।
गरिब र बच्चाहरु देवताले केही नदिएकोमा चिन्ता गर्थे । देवताको विरुद्धमा आफूले केही गरेँ कि भनेर सम्झन्थे ।
मानसपटलमा गल्ती गरेको याद फिर्दैनथ्यो । उनीहरु टोलाउँदै घर फर्कन्थे ।
के थाहा ती बबुराहरुलाई यी देवता ठूलाबडाको हो भनेर । ठूलाबडाले बनाएको हो भनेर ।
अबोधमा ती आत्माहरु पनि देवता खुशी पार्न जान्थे र किनारा बसेर हेर्थे देवताको तमासा । देवता बनाउनेहरुको सम्मानित ठाउँ हुन्थ्यो । बस्नलाई र देवतालाई सेवा गर्नलाई ।
गरिबहरु त्यो ठाउँ बस्न कहिले पाएनन् ।

म पटकपटक ठोकिन्छु देवतासँग । (र देवताले गरेको व्यवहारसँग ।) गाउँमा, स्कुलमा, मन्दिरमा … ।
कसरी चोर्छन् सुन्दर सपनाहरु मान्छेका देवताले ।
देवतालाई काखी च्यापेर मान्छे ठाउँ–ठाउँमा र घरघरमा मान्छेहरु देवताको सङ्ग्रहालय बनाइरहेछन् ।
देवता टिप्न हात छैन मसँग । देवता देख्ने आँखा छैन मसँग । देवता माग्ने मन छैन मसँग ।
देवताको कलमे काटेर किन रोप्छन् ? निश्चल सुन्दर, प्रकृतिका सन्तानहरु ठाउँ–ठाउँमा देवताहरु । किन कोरल्छ ? डोल्पा यति धेरै देवताहरु ।
मुसलले धान कुटेर मान्छे ती देवतालाई चढाउँछन् र घरमा आएर राप्लोसँगै खान्छन् चिनाको भात ।
किन चढ्दैन देवतालाई चिनाको चामल ?

धार्मिक प्रतिज्ञा भङ्ग गरेर मान्छेहरुले ।
त्रिपुरा सुन्दरी दर्शन गराए राकेश सुदलाई ।
अनिष्टमा ढल्यो लिङ्गो त्रिपुराकोटमा । छलका देवता बोले अनिष्ट मचिन्छ डोल्पामा अझै ।
पुकारे मान्छेहरु देवतालाई ।
हे भगवान ! यो कस्तो सङ्कटको घडी हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *