सन्तोष दहित
दाङ, मंसिर २३ । केही वर्ष अगाडि थारु गाँउमा बिहे हुने बेला होस् या दुलही ‘पठलहरी’ लाई पठाउन आएको बेला होस् या कुनै नयाँ कामको थालनी किन नहोस् त्यसैको अवसर पारेर नाचिने छोक्रा नाच थारु समुदायमा हिजो आज लोप हुँदै गएको छ ।
पहिले–पहिले थारु गाउँमा कसैको घर दुलही ‘पठलहरी’ पठाउन आउने खबर गाउँमा हल्लामात्र हुनसाथ साँझपख पठलरी आउने घरमा गाउँका सबै युवायुवतीहरु पठलरी नआउँदै छोक्रा नाच शुरु गरिन्थ्यो भन्नुहुन्छ थारु युवा परिषद दाङका अध्यक्ष विरेन्द्र चौधरी । उहाँ भन्नुहुन्छ– ‘पठलरीहरुलाई स्वागत गर्ने र आ–आफ्नो गाउँको छोक्रा नाच देखाउने त्यतिबेला प्रतिस्पर्धा हुन्थ्यो । छोक्रा नाचमा दुइवटा समूह हुन्छ । एकातिर महिला र अर्कातिर पुरुष । यो छोक्रा नाचमा खासगरि महिला र पुरुषको बीचमा प्रतिस्पर्धा हुन्छ ।’
ठ्याक्कै पहाडीहरुको दोहरी नाचजस्तै थारु समुदायमा नाचिने छोक्रा नाच पनि उही हो भन्नुहुन्छ चौधरी । यो छोक्रा नाचमा मायाप्रीतिको गीत पनि हुन्छन्, विकास पनि । खासगरि छोक्रा नाचमा मायाप्रीतिका शब्दहरुको गीत गाउने चलन रहेको चौधरीको भनाइ छ । तर हिजोआज भने यो छोक्रा नाच नाच्ने र गाउने सुस्त–सुस्त लोप हुँदै गएको चौधरी दुखेसो पोख्नुहुन्छ । आजका युवाहरु आधुनिक नाचतिर चासो दिएपछि यो छोक्रा नाच लोप हुन लागेको चौधरीको भनाइ छ ।
त्यसैगरि पछिल्लो समयमा साउण्ड सिस्टम, डेकबाट ढुचुक–ढुचुक गीतमा युवाहरुले रुचि लिन थालेपछि थारु समुदायमा नाचिने छोक्रा नाच लोप हुन लागेको बताउनुहुन्छ नारायणपुर भारवौराका मानविर चौधरी । यति मिठासपन र रसिलो शब्दमा प्रतिस्पर्धात्मक रुपमा युवायुवती बीचमा गाउने गीतसँगै नाचिने छोक्रा नाच लोप भइरहँदा कता–कता थारु जातिको संस्कृति त हराउने होइन भन्ने चिन्ता लागेको छ, चौधरीले भन्नुभयो– ‘अहिले जताततै बिहेको लगन छ, त्यही बिहेमा छोक्रा नाच रातभरि नाचिन्छ तर हिजोआजका युवाहरु मौलिक संस्कृतिभन्दा पश्चिमी गीतमा आकर्षित हुँदै डेगमा नाच्ने गर्नाले थारु गाउँमा छोक्रा नाच कमै मात्रामा देखिन्छ ।’
समयको परिवर्तनसँगै केही कुरामा परिवर्तन गर्नु राम्रो त हो तर आफ्नो परम्परागतदेखि नाच्दै गाउँदै आएको छोक्रा नाचलाई चटक्कै नाच्न छाडिदिने हो भने थारु जातिको पहिचान पनि हराउन सक्छ, उहाँले भन्नुभयो– ‘छोक्रा नाचलाई बचाइराख्नुपर्छ, अहिले सबैले जातीय पहिचानको कुरा गरिरहेका छन् त्यसको आधारमा कुरा गर्ने हो भने पनि थारु जातिको पहिचान झल्काउनको लागि पनि छोक्रा नाचको ठूलो भूमिका छ । यस्तो संस्कृति बेलैमा संरक्षण गर्न नसके भोलि लोप हुनसक्छ ।’
छोक्रा नाच नाच्ने बेला सबै थारु भाषाको गीत गाउने चलन छ । यस्तै आफ्नै भेषमा नाचिने भएकोले पनि आफ्नो पहिचानको लागि उक्त नाचलाई संरक्षण गर्नुपर्ने उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ– ‘थारु समुदायमा धेरै किसिमका नाचहरु छन् तर सबैभन्दा लोकप्रिय नाच छोक्रा नै हो, त्यसैले पनि यो नाचलाई निरन्तरता दिन सके भावी पुस्ताले आफ्नो कला संस्कृतिबारे जानकारी पाउने थिए ।’