अन्तिम भोजको निम्तो

  
  प्रकाशित मितिः आइतवार, पुस २२, २०६९       | 87 Views   ||

JeetB Shahजीतबहादुर शाह

उनीहरुको
सहमतिमा
हाम्रो देश अब
ढल्ने भएको रहेछ
उनीहरुहरुकै
सहमतिमा
हाम्रो विधि पनि अब
गल्ने भएको रहेछ ।

देश ढलेको र
विधि गलेको
शुभमुहुर्तमा
उनीहरुले
अन्तिम भोजको
आयोजना गर्ने भएका रहेछन्
अन्तिम भोजको निम्तो
हामीलाई पनि दिने भएका रहेछन् ।

थाहा थिएन मलाई
देश ढलेपछि
उनीहरुको जीत हुँदो रहेछ
र, भित्रभित्रै अलिकति हित हुँदोरहेछ
विधि गलेपछि
उनीहरुलाई फाइदा हुँदोरहेछ
र, भित्रभित्रै अलिकति काइदा हुँदोरहेछ
र त त्यसैको लागि
उनीहरु कानेखुशी गर्दै थिए
र त त्यसैका लागि
उनीहरु आफूखुशी गर्दै थिए ।

अब हाम्रो देश रहदैन रे
देश नरहेपछि उनीहरुलाई
यहाँ पनि बस्नुपर्दैन रे
र त उनीहरु
सल्लाहकारहरुको छेउछाउमै
बसाइ सरि जाने भएका रहेछन्
उनीहरुको बैंक ब्यालेन्स र
आफन्तहरु पनि उतै रहेछन्
र त उनीहरु फेरि–फेरि
फर्केर पनि नआउने भएका रहेछन् ।

सहमति त नाटक पो रहेछ
नाटक गरेर सहमति कहाँ हुन्छ र ?
त्यसैले त अरु सहमति नभएपछि
देश ढाल्ने र विधि फाल्ने
सहमति भएको रहेछ
देश ढालेपछि र विधि फालेपछि
उनीहरुले गरेको व्यभिचारको पनि
हिसाब किताब नहुने भएको रहेछ
र त उनीहरुले
यो सहमति सर्वसम्मत
किसिमले गर्ने भएका रहेछन् ।

देश ढालेको र विधि फालेको
शुभमुहूर्तमा
उनीहरुले
अन्तिम भोजको आयोजना गर्ने भएका रहेछन्
अन्तिम भोजको निम्तो
हामीलाई पनि दिने भएका रहेछन् ।
–२०६९ कार्तिक २२

Leave a Reply

Your email address will not be published. Required fields are marked *